भरतपुर । चितवनको आध्यात्मिक क्षेत्र देवघाटमा रहेको बागिश्वरी आध्यात्मिक परिषद्को हाताभित्र रु २० करोड लागतमा सुविधायुक्त प्राकृतिक चिकित्सा अस्पताल तथा अध्यापन अनुसन्धान केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु भएको छ ।
सो अस्पतालका लागि सुरुमा महायज्ञ लगाएर रकमको जोहो गर्ने निर्णय भएको परिषद्का सदस्य नवराज ढकालले बताउनुभयो । आगामी फागुन २३ मा हुने महायज्ञका लागि ५१ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । चैतबाट औपचारिक रूपमा ओपीडी सेवा सञ्चालन गर्ने विज्ञ डा हेमराज कोइरालाले बताउनुभयो ।
विज्ञहरूले मेडिकल चिकित्सा र योग तथा आयुर्वेद चिकित्सालाई मिलाएर अगाडि बढ्न सके स्वास्थ्य प्रणालीमा नयाँ आयाम थपिने बताएका छन् । उनीहरूले कुनै पनि चिकित्सा प्रणाली एक्लैले स्वास्थ्यमा प्रगति हासिल गर्न नसक्ने भन्दै यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
काठमाडौँको वीर अस्पतालका मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले पछिल्लो समयमा मानिसको जीवनशैलीमा आएको परिवर्तनले स्वास्थ्य क्षेत्रमा नयाँ चुनौती थपिँदै गएको भन्दै सबै चिकित्सा पद्धतिको फ्युजन आवश्यक भएको बताउनुभयो ।
उहाँले योग विज्ञान, आयुर्वेद चिकित्सा विज्ञान र आधुनिक मेडिकल विज्ञानलाई एक ठाउँमा राखेर उपचार पद्धति अपनाउन सके स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हुने बताउनुभयो । डा रेग्मीले विश्वकै वैज्ञानिकहरूले समेत मानिसको जीवनशैलीका कारण नसर्ने रोगको बढोत्तरी भएकाले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
आयुर्वेद चिकित्सा र योग विज्ञानले मानिसलाई स्वस्थ हुन सिकाउने र मेडिकल विज्ञानले उपचार गर्ने भएकाले सबै प्राकृतिक चिकित्सा विज्ञानको महत्व उत्तिकै रहेको बताएका थिए । आयुर्वेद चिकित्साशास्त्रका विज्ञ हेमराज कोइरालाले मानिसको जीवनशैली परिवर्तनकै लागि आयुर्वेद र योग विज्ञान आवश्यक रहेको बताउनुभयो ।
यो चिकित्सा प्रणालीअन्तर्गत हावा, पानी, माटो, घाम र आकाश गरी विभिन्न पञ्चतत्वको सम्मिश्रणबाट उपचार प्रक्रिया तथा विभिन्न थेरापी हुने भएकाले जीवन जिउने कला सिकाउन महत्वपूर्ण हुने परिषद्का सदस्य नवराज ढकालले बताउनुभयो । रासस
Discussion about this post