दिपेन्द्र अधिकारी
नारायणगढ । गत असोज २० गते चितवनका केही सुनचाँदी पसलमा गरिएको अनुगमनपश्चात् सार्वजनिक गरिएको प्रतिवेदनप्रति चितवनका सुनचाँदी व्यवसायीले आपत्ति जनाएका छन् । सुनचाँदीको गुणस्तरीयता मापन गर्ने अत्याधुनिक मेशिनको अभावमा सरकारले प्राविधिक जाँच भनी गुणस्तरीयतामा कमी देखाइ व्यवसाय धराप पार्न खोजेको उनीहरुको आरोप छ ।
शुक्रबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष ज्ञानेन्द्रमान शाक्यले राज्यले सुनचाँदी व्यवसाय धरासायी बनाउन प्राविधिक परीक्षण गरिएको भन्दै झुटा प्रतिवेदन दिएको आरोप लगाए ।
सरकारले परीक्षण गरेको नमूना र आफूले निजी प्रयोगशालामा गरेको नमुनामा ३ प्रतिशतसम्म नापतौल तथा गुणस्तरमा फरक पाइएको दावी गर्दै शाक्यले पुस्तौँदेखि ईज्जतका साथ अघि बढाउँदै आएको यस पेशाप्रति नियोजित तरिकाले दाग लगाउने काम नगर्न आग्रह गरे ।
नापतौल विभागले केही दिनअघि प्रतिवेदन सार्वजनिक गर्दै चितवनका ६ वटा सुनचाँदी पसलमा तोकिएको भन्दा कम गुणस्तरको सुन कारोवार भएको सूचना सार्वजनिक गरेको थियो । उपभोक्ताको रोजाइअनुसार हस्तनिर्मित गरगहना बनाउँदा काँचो सुनको गुणस्तर कायम हुन नसक्ने तर्क गर्दै उपाध्यक्ष शाक्यले भने,‘सतप्रतिशत शुद्ध सुन राज्यले दिन सकेको छैन, व्यापारीले कसरी दिन सक्छन ।’
‘काँचो सुनलाई टुक्रा–टुक्रा पारी आकर्षक गरगहना बनाउँदा रसायनको प्रयोग हुन्छ, यसो हुँदा कहिँ न कहिँ सुनको गुणस्तरीयता स्वभाविक रुपमा कम हुन्छ, सुनचाँदी व्यवसायी यमबहादुर विकले भने । आफूले कम गुणस्तरको सुन व्यवसायीलाई दिने तर व्यवसायीबाट भने नहुने भन्दा बढी गुणस्तरीयता खोज्ने राज्यको अनुगमन प्रणाली हास्यास्पद रहेको व्यवसायीले टिप्पणी गरे ।
सरकारसँग नियमनसम्बन्धी निर्देशिका माग्दा उपलब्ध नगराउने, आवश्यक मात्रामा सुन उपलब्ध नगराउने, सुनको गुणस्तर नापजाँच गर्ने अत्याधुनिक प्रविधि र दक्ष प्राविधिक व्यवस्था नगर्ने तथा गुणस्तर मापन गर्दा तयारी गहनाको गर्ने र काँचो सुनको मापन खोज्ने राज्यको कमजोर क्रियाकलापले सुनचाँदी व्यवसायी चिन्तित रहेको महासंघका अर्का उपाध्यक्ष अर्जुन रसाइलीले बताए ।
त्यस्तै नेपाल सरकार, उपभोक्ता संरक्षण मञ्च र सुनचाँदी व्यवसायीसमेतको सहभागितामा गठित कार्यदलले हालसम्म पनि प्रतिवेदन नबुझाएको अवस्थामा मापदण्डविना नै अनुगमन गरिनु अव्यवहारिक क्रियाकलाप भएको सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष विपिन रामुदामुले बताए ।
चितवनमा दैनिक ३ किलो सुन माग हुने गरेकोमा हप्तामा २ किलो सुन मात्र पाएको व्यवसायीको गुनासो छ ।
Discussion about this post