-डा. धनपति कोइराला
यस धर्तीमा रहेनन्, अब नेल्सन मन्डेला (माडिवा) । अब मात्र बाँकी रहने छन्, उनी हाम्रा स्मृतिमा । अन्ततः गत बिहीबार ९५ वर्षमा यो मत्र्यलोकीय यात्रा पूरा गरे उनले । उनी थिए, करोडौँ मानिसका प्रिय । उनीप्रति हृदयतः श्रद्धासुमन अर्पित ग¥यो, सारा मानव सागरले । अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रसंघका महासचिव बान कि मुनलगायत विश्वका ९० देशका राष्ट्रप्रमुखहरु, करिब १० पूर्वप्रमुखहरु जोहानसबर्गको ९० हजारभन्दा पनि ज्यादा मान्छे अटाउने फुटबल मैदानमा भए भेला र दिए अन्तिम श्रद्धाञ्जली । नेपाल सरकारको प्रतिनिधित्व गर्दै सहभागी भए, परराष्ट्र तथा गृहमन्त्री माधवप्रसाद घिमिरे । यसबाट नै स्पष्ट हुन्छ, थिए उनी शताब्दीकै सर्वश्रेष्ठ व्यक्तित्व । उनको यो महाप्रयाणमा उद्वेलित बनेको छ आज विश्व । दिएका छन् मानवभित्रका पनि मानवको संज्ञा उनलाई भारतका प्रधानमन्त्री मनमोहन सिंहदेखि बेलायतका प्रधानमन्त्री डेभिड क्यामरूनसम्मले । उनको आदर्शलाई सबैले पछ्याउनु पर्ने धारणा राखेका छन् उनीहरुले ।
आप्mनो देश दक्षिण अफ्रिकालाई त्रूmर शासन तथा रङ्गभेद नीतिबाट मुक्त गराउनका लागि सत्ताइस वर्षसम्मको लामो कठोर जेलजीवन बिताए उनले । जेलमा छँदा शान्त, सौम्य एवम् गम्भीर विचारकका रुपमा देखा परे उनी । जेलबाट रिहा भएपछि पनि कहिल्यै उत्तेजित भएनन् । सुख र दुःख दुवै क्षणमा सदा शान्त चित्त रहने माडिवाले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि आफूलाई सत्ताइस वर्षसम्म जेलजीवन जिउन बाध्य तुल्याउने गोराहरुलाई कहिल्यै प्रतिशोधको नजरले हेर्न र त्यस्तै व्यवहार गर्न त के मनमा पनि त्यस्तो गरेनन् कल्पना, बरू तिनै अल्पसंख्यक गोराका प्रतिनिधि एडी क्लार्कलाई नै तुल्याए उपराष्ट्रपति । उनी प्रायः भन्ने गर्थे, ‘फर्गिभ बट नट फर्गेट’ अर्थात्, क्षमा देऊ तर नबिर्स । आँखाको बदला आँखाको भन्ने हृदयशून्य विधिशास्त्रीय विचारबाट मानवीय मूल्य र संवेदनाको उचाइमा पुगेका मन्डेलाले बैगुनीलाई पनि गुन लगाएर सही मार्गमा आउन प्रेरित गरे । एडी क्लार्कसहित आफूलाई दिइएको नोबेल शान्ति पुरस्कार लिएर सहिष्णुताको आदर्श प्रस्तुत गरे उनले ।
चाहेको भए पूर्व ती त्रूmर गोरा शासकहरुलाई छिनभरमा समाप्त गरिदिन सक्थे, तर त्यसो गरेनन् उनले बरू दया, माया, स्नेह र भाइचाराको हात फैलाए, मुटुलाई ज्यादै फैलाए तर कहिल्यै खुम्च्याएनन् र सबैलाई अटाउने संविधान बनाए पनि । देशका कतिपय अतिवादीहरुको सुझावलाई ग्रहण गरेनन् उनले । राष्ट्रलाई टुक्र्याउन मद्दत गर्ने खालका जातीय राज्यको मागलाई पनि स्वीकार गरेनन् उनले, बरू सबै धर्म, वर्ग, लिंग, जाति आपसमा मिलेर बस्न सकिने किसिमको संघीय संरचना तयार पारे । सबैका भावनाको कदर गर्दै बनाइएको संघीय व्यवस्था सबैका लागि ग्राह्य पनि भयो । एक कार्यकाल मात्र राष्ट्रपति बने उनी । अर्को कार्यकालप्रति कुनै रूचि देखाएनन्, बरू दोस्रो पुस्तालाई सत्ता र शक्ति हस्तान्तरण गरी आफू सम्मानित जीवनयापन गरी उदाहरण प्रस्तुत गरे उनले ।
ईसापूर्वका जार शासकका काला कर्तुत स्वीकारेनन्, शुकरातले । स्वीकार गरे प्राण बक्सिसमा दिने भनिँदा पनि, बरू बीष रोजे तर असत्य रोजेनन् । करिब बीसौँ शताब्दीको ६० को दशकतिर मन्डेलाले पनि रंगभेद गर्नु पाप हो, यसो गर्नु अन्याय हो भन्ने कुरा अशिक्षा, गरिबी र अन्यायमा पिल्सिएका आमअफ्रिकी काला नागरिकहरुको मन र मुटुमा पु¥याउने अभियान चलाउँदा देशद्रोहको अभियोग लगाई अल्पसंख्यक गोरा शासकहरुले चरम यातनासहित सत्ताइस वर्षसम्म जेल हालेका थिए उनलाई । शुकरातले झैँ उनले पनि झूठतन्त्रसामु कहिल्यै आत्मसमर्पण गरेनन्, बरू चट्टानझैँ अविचलित रही जेलका अँधेरा चिसा छिँडीहरुमा निर्मम प्रहरहरु बिताए, तर उनीहरुसामु टेकेनन् घुँडा । अन्ततः गोराहरु हारे र मन्डेलाले जिते । उनले जितेर पनि आफू र आप्mना सहकर्मी कालाहरुमाथि निर्मम दमन र यातना दिने शासकहरुमाथि कुनै राखेनन् प्रतिशोध, बरू क्षमालाई सर्वोत्तम उपहारका रुपमा लिँदै दिए क्षमादान । लगाए उनीहरुलाई हार्दिकतापूर्वक लगाए गला । आत्मसात् गरे अनि पूर्णतः शान्ति र मानवअधिकार गरे बहाली । फलतः १९९३ साल डिसेम्बर १० तारिखका दिन उनलाई नोबेल शान्ति पुरस्कार गरियो प्रदान । संयोग भनौँ या के भनौँ, यसको ठीक २० वसन्तपछि डिसेम्बर १० तारिखमा नै जोहानसबर्गमा समाधिस्थ बन्न पुगेका छन् उनी । मानवअधिकार र शान्तिका लागि उनले गरेका कार्यहरु इतिहासको पानामा सदा स्वर्णाक्षरले लेखिएको पाइने छ ।
नेल्सन मण्डेलाको स्वर्गारोहणसँगै विश्वराजनीतिको एउटा अध्याय इतिश्रीको बिन्दुमा पुगेको छ । उनले अहिंसाको शक्ति हिंसाको शक्तिभन्दा कयौँ गुना बलवान् हुन्छ भन्ने मान्यतालाई विश्वराजनीतिमा स्थापित गरी त्यसलाई नैतिक नेतृत्व दिने कार्य गरेका थिए । आज मार्टिन लुथर, महात्मा गान्धीले झैँ मन्डेलाले प्रजातन्त्र, शान्ति र मानवअधिकारका पक्षमा चालेका कदमहरु बन्न गएका छन्, अति नै महिमा मण्डित । आज विश्वले अभिभावकत्व गुमाएको अनुभूति गर्दैछ र यो यथार्थ हो पनि । आज रहेनन् उनी, तर उनको दर्शन छ हामीसामु । गोहीका आँसु चुहाउनुभन्दा उनका आदर्श र प्रयोगलाई आत्मसात् गरी यो राजनीतिक सङ्क्रमणबाट पार गर्न सके हुन सक्तछ, सही श्रद्धाञ्जली मन्डेलाप्रति । मन्डेलाको ‘क्षमा गर र मेलमिलाप गर’ भन्ने नीति निकै छ उपयोगी ।
नेपालको २०६२–६३ को आन्दोलनपछि राजतन्त्र समाप्त भएको र लोकतान्त्रिक गणतन्त्र स्थापना भई नसकेको सन्दर्भमा यस सङ्क्रमणलाई चिर्दै चाहे गिरिजाप्रसाद कोइराला चाहे प्रचण्ड, कसैले पनि मन्डेलाले झैँ फराकिलो छाती बनाई त्याग, समर्पण, धैर्य, सहनशीलता, सद्भाव, दूरदर्शिता देखाएर देश, जनता र मानवअधिकारका पक्षमा कार्य गर्न सकेको भए एकातिर देशले काया फेरिसकेको हुन्थ्यो भने अर्कातिर नेता नोबेल पुरस्कारका हकदार बन्नेथिए र बन्नेथिए विश्वनेता पनि । यस्तो नेता बन्न ठूलो मुटु र दिमाग दुवै चाहिन्थ्यो । सायद, उनीहरुमा यसकै चाहिँ अभाव थियो, हुन सकेन । इतिहासले कोइराला र प्रचण्डलाई दिएको थियो त्यो अवसर । तर विडम्बना, अल्पकालमै बिते गिरिजा । प्रचण्ड त थिए, तर उनले पनि गुमाए अमृतमय त्यो अवसर नै । उनीहरुमा फराकिलो मुटु र दूरदर्शी दिमाग नै रहेनछ सायद, व्यर्थै अपेक्षा राख्यौँ हामीले । यो उनीहरुमा नहुनुको दुर्भाग्य भोगिरहेछौँ हामी ।
नेपाल समृद्धिको सही दिशातर्फ लम्किसकेको हुनेथियो, देशलाई एउटा सुनिश्चित भविष्यसहितको गन्तव्य दिन सकेको भए आज । पुनः दोस्रो संविधानसभाको निर्वाचनमार्फत नै सही, आज यो देशले यही भूमिका सुशील कोइराला र झलनाथ खनाल, माधवकुमार नेपाल र प्रचण्डहरुबाट पनि खोजिरहेछ । उनीहरु यसमा कत्तिको खरो रुपमा उत्रिन सक्छन् होला या नहोला, मूल्याङ्कन गर्ने नै छ भोलिका दिनहरुले ।
खासगरी, वर्तमान राजनीतिक सन्दर्भमा तीन गुणहरु सिक्न सक्दछौँ, मन्डेलाबाट हामीले ।
एक ः
उनको धैर्य, सहनशीलता र क्षमा दिने गुण हाम्रा निम्ति छ, अनुकरणीय । सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरी बेपत्ता तथा अन्यायमा परेका मानिसहरुलाई राहत दिन सघाउ पुग्दछ यसबाट । फलतः पत्रकार डेकेन्द्र थापा, गोरखा फुजेलका अधिकारी हत्या प्रकरणजस्ता थुप्रै हत्याहरुको किनारा लगाउन उनको नीति मार्गदर्शक बन्न सक्छ ।
दुई ः
संविधान निर्माणमा उनले खेलेको रचनात्मक भूमिका पनि हाम्रा निम्ति छ, अनुकरणीय नै । त्यहाँ थियो सबै जाति, वर्ग, लिंग, धर्म, क्षेत्र र समुदायका भावना र मर्मलाई समान रुपमा मुखरित तुल्याएर संविधान निर्माण गरिएकोे । फलतः उनको प्रत्यक्ष संलग्नतामा बनेको संविधानलाई लिइन्छ आज, संसारकै उत्कृष्ट संविधानका रुपमा ।
तीन ः
संघीय संरचना– माग राखेका थिए, विभिन्न जातजातिहरुले जातीयताका आधारमा सङ्घीय राज्य बनाउनु पर्ने तर उनीहरुका मागप्रति गम्भीर बन्दै उनले यस्ता राज्यहरुको स्थापनाबाट देश टुक्रने भएकाले राष्ट्रिय अखण्डतामा आँच नआउने गरी शक्ति, सामथ्र्य र जनसंख्या आदि आधारहरुलाई मध्यनजर गरी निर्माण गरिदिए प्रान्तहरु । उनको यो विभाजनलाई स्वीकारे सबैले ।
फलतः रह्यो आज दक्षिण अफ्रिका अखण्ड नै । बन्यो यो सार्वभौम राष्ट्र । जातीय, क्षेत्रीय, लैङ्गीय, रङ्गगत आदि कुनै प्रकृतिको भेद विद्यमान छैन त्यहाँ । बढ्दैछ यो देश क्रमशः समृद्धिको गन्तव्यतर्फ । सफलताको सिँढीमा आरोहित हुन ठूला नेतामा मन्डेला झैँ त्याग, सुदृढ विचार, क्षमा, सद्भाव, समान दृष्टि, दूरदर्शिता, अल्प–वाक् आदि गुण विकसित गर्नुछ जरूरी । यसो हुन सकेमा यो नेपाल पनि पुग्नेथियो, सहजै एसियाली मापदण्डमा ।
Discussion about this post