उदयनाथ रेग्मी
मंसिर ४ गते सम्पन्न भएको संविधानसभाको दोस्रो निर्वाचनमा निर्वाचित भएर आउनुभएका सबै दल, जाति, धर्म, भाषा, क्षेत्र र स्वतन्त्रबाट निर्वाचित प्रत्यक्ष र समानुपातिकतर्फका दुवै ६०१ जना नयाँ–नयाँ सभासद्हरुलाई ३ करोड नेपाली जनताको र यो पंक्तिकारकातर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मुरीमुरी बधाई ज्ञापन गर्न चाहन्छु ।
नयाँ–नयाँ उत्साह, उमंग र जोश–जाँगर बोकेर आउनुभएका, जनताको मन जित्न सफल हुनुभएका सामाजिक सेवा र विकासप्रेमी तपाईंहरुजस्ता व्यक्तित्वहरुबाट आज मुलुकले अत्यन्तै ठूला–ठूला आशा र अपेक्षाहरु गरेको छ । मुलुक चारैतर्फबाट जटिल परिस्थितिमा गुज्रिरहेको छ । ठूला–ठूला बाधा, अड्चनहरुसँग जुध्दै लोभ, लालच, कुटपिट, जालझेल, ईष्र्या, द्वेष, रिस, डाह इत्यादि सबै विकृतिहरुको अन्त्य गर्दै यो देशलाई सफल राष्ट्रको सूचीमा पु¥याउने जिम्मा ३ करोड नेपाली जनताले तपाईंहरुको काँधमा थुपारिदिएका छन् । तसर्थ दलीय, जातीय, धार्मिक, भाषिक र क्षेत्रीयताबाट माथि उठेर देश र जनताको मुक्तिको पक्षमा पैसा र पदको लोभलालच नगरी अहोरात्र खटिरहन पनि हामी चारैतर्फबाट खबरदार गरिरहने छौँ । पूर्वसभासद्हरुले झैँ सत्तालिप्साको भागबन्डामा नअल्झिन, सरकारको किनबेच हुन नदिन, आफू भेँडाबाख्राजसरी प्रस्तुत नहुन पनि खबरदारी गरिरहने छौँ ।
सर्वप्रथम, दुई–चार महिनाभित्र जनताको चाहना र देशको हावापानी, माटो सुहाउने संविधान निर्माण गरियोस् । संघीयता, जातीयता, धर्मनिरपेक्षता र प्रदेश विभाजनमा पहिलाको झैँ समय खर्च गर्दै असहमतीय खेल नखेलियोस् । देश जातीय संघीयतामा जान सक्दैन र चाहेको पनि छैन । प्रवेश विभाजन गर्दा तीन, पाँच वा सात प्रदेश र चीन–भारत दुवैलाई छुने गरी हिमाल, पहाड, तराई, महान् सहिद वीरंगना र वीर विभूतिबाट प्रदेश विभाजन गरिनुपर्छ । जनता सयौँ जातका नाउँमा सयौँ राज्य लिएर हालको लिबिया, सिरिया, इराक, अफगान, सोमालिया, कंगोजसरी सामाजिक सद्भाव खलबल्याउँदै गृहयुद्ध निम्त्याएर नेपाली जनता कुनै पनि हालतमा बस्न सक्दैनन् । हामी हाम्रो राष्ट्रियतामा, स्वाधीनतामा, सीमा, झन्डा, भाषा र भेषमा आँच आउन दिन सक्दैनौँ । यो निर्वाचनले पनि यही अभिमत जाहेर गरेको छ ।
साना–ठूला सबै भ्रष्टाचारहरुको सबैतिरबाट निर्मूल गर्दै देशमा हजारौँ उद्योग, कलकारखानाहरु खुलाउँदै देशका करोडौँ युवायुवतीहरुलाई रोजगारको अवसर दिलाउनुपर्छ । पहिलो प्राथमिकता किसानलाई दिई खाद्यान्न, फलफूल, तरकारी, सागपात, दूध, घिउ, माछामासु, अन्डामा देशलाई आत्मनिर्भर बनाइनुपर्दछ । त्यसपछि पर्यटन, जलस्रोत, उद्योग, सडक, शिक्षा, अस्पताल, बत्ती, पानी, कुलो, नहर, ढल, पुल र अन्य विकास निर्माणका कामहरु अघि बढाउँदै जानुपर्दछ । ठाउँ, समय, परिस्थिति, आवश्यकताको महसुस गरी राज्यका शासकहरुले विकासको फड्को मार्न जनताले होस्टे भन्दा हैँसे भन्न सक्नुपर्छ ।
हाल देशमा भैरहेका सम्पूर्ण हत्या, हिंसा, लुटपाट, चोरी, डकैती, आगजनी, तोडफोड, अपहरण, आक्रमण, चक्काजाम, नेपाल बन्द आदि विकृति÷विंसगतिहरु सदाका लागि देशबाट अन्त्य गर्न सक्नुपर्छ । अबका दिनहरुमा देशको १ इन्च माटो मिच्न दिनेछैनौँ, एउटा सीमा–स्तम्भ हटाउन दिनेछैनौँ, भारतीय बी. एस. एफ. हरुलाई दिनदहाडै नाङ्गै हतियार लिएर पस्न दिनेछैनौँ । ठूला–ठूला बाँध बाँधेर नेपाल जलमग्न गराउन दिनेछैनौँ, नेपाल र नेपालीहरुलाई विश्वका कुनै पनि शक्तिबाट हेपिन र मिचिन दिनेछैनौँ । सानादेखि ठूला सबै समस्याहरु देशभित्रै आपसमै मिलेर सहमतिका आधारमा निचोडमा पुग्नेछौँ । दिल्लीको मुख ताक्नेछैनौँ र विदेशी मूलका मानिसहरुलाई घर–घडेरी र नागरिकता बाँड्नेछैनौँ । अनि, सभासद्को शपथ खाँदा ६०१ जनाले नेपाली पोसाक लगाएर नेपाली भाषामै खानेछौँ भन्दै देशको एक मुठी माटो हातमा लिई छातीमाथि हात राखोर नेपाल आमालाई सम्झिँदै काम
गर्नुपर्ने छ ।
यसरी सत्तापक्ष र प्रतिपक्षले एकआपसमा सद्भाव र सहिष्णुता कायम गर्दै हर समस्याका समाधान निकालेर सहजै निष्कर्षमा पुग्न अनुरोध गर्दछु । यहाँहरुको शासनकालमा देश र जनता सबैमा शान्ति छाओस्, संविधान बनोस्, विकास निर्माणहरुको सुरूवात होऊन् र देश सफल राष्ट्रको सूचीमा पुगी सुशासन कायम होस् । हामी नेपाली जनताका तर्फबाट नयाँ सभासद्हरुलाई बधाई !
¨¨
Discussion about this post