बसन्त पराजुली [divider]
भरतपुर । पाँच वर्षअघि भएको दुर्घटनाले भरतपुर–१२ की कमला सुवेदीलाई अहिले पनि तर्साइरहन्छ ।
नवलपरासीको थुम्सीनजिकै पूर्वपश्चिम राजमार्गमा हिलबर्डको विद्यार्थी बोकेको बस दुर्घटनामा सुवेदीले छोरी प्रविना र छोरा प्रवेग गुमाएकी थिइन् । उनी आफू पनि गम्भीर घाइते भएकी थिइन् । ‘अहिले पनि सानो–सानो घटनामा पनि म तर्सिरहन्छु’, हिलबर्ड स्कूलकी शिक्षिकासमेत रहेकी कमलाले गहभरी आँशु बनाउँदै भनिन्, ‘त्यो दिन म अहिले सम्झिन पनि सक्दिनँ ।’
२०६५ मसिर २६ गते अर्थात् आजैका दिन भरतपुर–१२ मा रहेको हिलबर्ड ई. बोर्डिङ स्कुलका शिक्षक तथा विद्यार्थीहरु पिकनिकबाट फर्कदै गर्दा सो दुर्घटना भएको थियो । दुर्घटनामा २३ जनाको मृत्यु भएको थियो भने कमलाजस्तै झण्डै दुई दर्जनभन्दा बढी घाइते भएका थिए । कमलाको मेरूदण्ड, दाहिने हात र खुट्टा भाँचिएको थियो ।
‘अहिले पनि मैले बेला–बेलामा उपचार गराई राख्नुपर्छ, तर अहिले डाक्टरले बोलाएको भन्दा चारपाँच महिना बढी भयो, पैसा नहँुदा जाँच्न जान पनि सकेको छैन’, यो भनिरहँदा कमला सुक्क–सुक्क गर्दै थिइन् । उनले अगाडि थपिन्, ‘ढाडको समस्या भएका कारण म गाडीबाट काठमाडाँै जान धेरै गाह्रो हुन्छ ।’ जहाजबाट काठमाडाँै जान आउन र उपचार गर्न खर्च धान्न निक्कै गाह्रो परेकाले अहिले काठमाडाँै नगएको हो ।’ उनले न्यूरो अस्पताल काठमाडाँैमा वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटासँगै नियमित उपचार गराइरहेकी छन् ।
‘सुरूमा तीन महिना भरतपुरमा उपचार गराएँ, पछि काठमाडाँैमा उपचार गराउन थाले’, उनले दुखेसो पोख्दै थपिन्, ‘सुरू–सुरूमा त उपचार खर्च पाइयो, तर पछिको खर्च पाउन सकिनँ ।’
आफ्नो उपचारका लागि नौ लाख रूपैयाँ खर्च भएको र त्यो रकममध्ये अधिकांश ऋणमा रहेको पनि उनले भनिन् ।
‘अहिले पनि हात झमझमाउँछ । ढाड सहनै नसक्ने गरी दुख्छ’, उनले आफ्नो पीडा सुनाउँदै चितवन पोष्टसँग भनिन्, ‘डाक्टरले हात र ढाडको अप्रेशन (शल्यकृया) गर्न भनेका छन् त्यो रकम पूरा गर्न हाम्रो परिवारको आर्थिक हैसियत छैन ।’ कमलाजस्तै भरतपुर १२ कै रविना थापा पनि अहिले शारीरिक रूपमै अशक्त छन् ।
‘मेरो खुट्टा र हात कमजोर छ’, उनले भनिन्, ‘हात खुट्टाले भर पाउँदैन । नियमित फिजियोथेरापी गर्नुपर्छ भनेका छन्, घरको आर्थिक अवस्थाले सकिएको छैन’, उनले भनिन् । दुर्घटनामा उनको मस्तिष्कमा पक्षघात भएको थियो । उनलाई तत्काल बचाउन नसकिने चिकित्सकहरुले बताए पनि उपचारपछि उनी बाँच्न सफल भएकी थिइन् । त्यसैको असरले रबिनालाई प्यारालाइसिस भएपछि नियमित उपचार गर्नुपर्ने बाध्यता रह्यो ।
‘५५ दिन न्यूरो अस्पताल र एक वर्ष साहारा अस्पतालमा उपचार गर्दा १४ लाख रूपैयाँ खर्च भयो’, उनले दुखेसो पोख्दै भनिन्, ‘अब अगाडिको उपचार गर्न सक्ने अवस्था छैन ।’
यो दुर्घटनामा घाइते भएकामध्ये ५ जनाको अवस्था त्यस्तै छ । उनीहरु स्कुल र यातायात व्यवसायी समिति दुबैबाट उपेक्षा भएको अनुभव पनि गर्दै छन् । त्यो बेला घाइतेको उपचारका लागि भनेर संस्थागत विद्यालय शिक्षक युनियन नेपाल चितवनले जिल्लाभरका निजी विद्यालयका शिक्षकहरुबाट रकम संकलन गरेको थियो । तर त्यो रकम केमा खर्च गरियो भन्ने कुरा आफूहरुलाई जानकारीमा समेत नआएको घाइतेहरुको भनाइ छ ।
संस्थागत विद्यालय शिक्षक युनियन नेपाल चितवनका सहअध्यक्ष प्रेम घिमिरे पनि सो सहयोग रकमका बारेमा विवाद भएको स्वीकार्छन् । ‘त्यो रकमका बारेमा हामीले पनि स्पष्ट बुझ्न सकेका छैनाँै । त्यो पारदर्शी हुनुपर्छ भन्ने हाम्रो पनि मान्यता हो’, उनले भने, ‘अहिले घाइतेहरुले उपचार खर्चमा र मृतकका परिवारलाई केके कुरामा सहयोग गर्न सकिन्छ त्यो गर्नुपर्छ ।’
हरेक वर्ष मंसिर २६ गते आउँछ मरेर गएकाहरुका नाममा औपचारिकता पु¥याउनका लागि पनि श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने गरिएको छ, तर सो दुर्घटनामा मरेर बाँचेकाहरुको पीडा धेरै कमले मात्रै सुनेका छन् । कमला भन्छिन्, ‘दुर्घटनामा परेर गम्भीर अवस्थामा पुगेका र अझै पनि घाइते अवस्थामा रहेकाहरुलाई सहयोग गर्नु पनि समाजको दायि¤व हो ।’
Discussion about this post