भरतपुर । चितवनमा यो पटक फैलिएको डेंगु रोगबाट प्रभावित हुनेमा भरतपुर नगरपालिका क्षेत्रमा बस्नेहरु धेरै रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा रत्ननगर नगरपालिकामा जम्मा १० र भरतपुर नगरपालिकामा १३७ जना डेंगुका बिरामी फेला परे ।
महामारी प्रकोप, प्रतिकार्य तथा पूर्वतयारी योजनासम्बन्धी भरतपुरमा आयोजित तीनदिने गोष्ठीको अन्तिम दिन मंगलबार सो तथ्याङ्क आएको हो । दिउँसो सक्रिय हुने र सफा पानीमा फूल पार्ने एडिस जातको लामखुट्टले टोक्दा मान्छेलाई डेंगु हुन्छ । यो लामखुट्टले साँझ परेपछि टोक्दैन ।
डेंगु भएमा उच्च ज्वरो आउँछ । ज्वरो आएर उपचारका लागि साउनयता भरतपुरका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना भएका एक हजार ७१५ जनामा रक्त परीक्षण गर्दा ३१६ जनामा डेंगु भएको पत्ता लागेको थियो । यो संख्या साउनदेखि मंसिर १८ गतेसम्मको हो ।
‘डेंगु भएका ३१६ जना चितवनमा उपचारका लागि आएका बाहिरी जिल्लाका बिरामी पनि छन् । चितवनमै घर भएका २१२ जनामा डेंगु पाइएको छ’ जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले भने । जिल्लाका २१२ मध्ये १३७ भरतपुर नगरपालिकाभित्रकै हुन् ।
‘भरतपुर नै ठेगाना टिपाएका त्यति हुन् । डेंगु भएका एकजना १२ वर्षका किशोरले आफ्नो ठेगाना दाहाखानी टिपाएका थिए । उनको घर त्यहाँ भए पनि केही दिन भरतपुर बसेका बेलामा उनी बिरामी परेका रहेछन्’ निरीक्षक केसीले भने ।
तीन वर्षअघि चितवनमा डेंगुको महामारी फैलिएको थियो । ६७ सालमा ७३९ जना डेंगुका बिरामी भेटिएका थिए । डेंगुका कारण पाँचजनाको निधन भयो । ६८ सालमा ६८ जनामा डेंगु भएको थियो भने १ जनाको निधन भएको थियो । गत वर्ष जम्मा ५२ जनालाई डेंगु भएको थियो ।
यो वर्ष डेंगुका बिरामी बढेका छन् । गर्मीयाममा भन्दा चिसो सुरू हुन थालेपछि डेंगु बढेको छ । विगतमा गर्मीयाममा डेंगुका बिरामीहरु उपचारका लागि आउँथे । यो वर्ष साउनमाभन्दा कात्तिक मंसिरमा डेंगुका बिरामीको संख्या धेरै छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्राप्त जानकारीअनुसार यो वर्ष साउनमा डेंगुका जम्मा सातजना बिरामी थिए । भदौमा २० असोजमा ५२ जना बिरामी भए । कात्तिकमा १७० जनामा डेंगु फेला प¥यो । मंसिरको १८ गतेसम्म डेंगु हुने बिरामी ६७ पुगेका छन् ।
‘वर्षायाममा पानी जमेर डेंगु फैलने गरेकोमा यो वर्ष वर्षा सकिएपछि डेंगु देखियो । दसैँताका आएको पानीका कारण डेंगु फैलिएको हो या होइन यसै भन्न मिल्ने आधार भने छैन’ इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनीले भने ।
सानो–सानो भाँडामा पनि पानी जमेमा त्यस्तोमा एडिस लामखुट्टले फूल पार्ने गर्छ । त्यसैले खाल्टादेखि साना भाँडावर्तनमा पनि पानी जम्न नदिन अभियान चलाइएको थियो । यस्ता अभियान जुनसुकै बेलामा पनि चलाउन स्वास्थ्यकर्मीहरुले सर्वसाधरणलाई अपिल गरेका छन् ।
चेतना फैलाउने कामका लागि सञ्चारमाध्यमको सहयोग लिन महाशाखाको महामारी प्रकोप व्यवस्थापन इकाइका रेशम लामछिानेले आग्रह गरे । नगर क्षेत्रमा रहेका पुराना टायरमा जम्मा हुने पानीका कारण पनि डेंगु फैलाउने एडिस मच्छर हुर्कने गरेको छ ।
Discussion about this post