बछौली । चितवनको ग्रामीण भेगमा निःशुल्क एचआईभी परीक्षण शिविर गर्ने सरकारी योजनाअन्तर्गत मंगलबार बछौलीमा रक्त परीक्षण शिविर गरिएको छ ।
शिविरमा चितवनका स्थानीय विकास अधिकारी तिलक पौडेलले आफैँ रक्त परीक्षण गरी अभियानको सुरूवात् गर्नुभएको थियो । रक्त परीक्षण गर्नका लागि अभिप्रेरित गर्न चितवनका विभिन्न गाविसमा एचआईभी परीक्षण शिविर सुरु गरिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयको नेतृत्व तथा भरतपुर अस्पतालको प्राविधिक सहयोगमा गरिएको शिविरका लागि एएचएफ नेपालले आर्थिक सहयोग उपलब्ध गराएको छ । एचआईभीप्रति ग्रामीण भेगमा हुने नकारात्मक सोचको अन्त्य गर्न पनि एचआईभीको शिविर गाउँमा केन्द्रित गरिएको हो । शिविरको पहिलो दिनमा बछौलीका नागरिक उत्साहपूर्वक सहभागिता जनाएका थिए ।
एचआईभीसँगै शिविरमा स्त्री रोग, पाठेघरसम्बन्धी पनि स्वास्थ्य परीक्षण गरिएको छ । एचआईभी परीक्षण गर्न अप्ठ्यारो मान्ने भएकोले पनि गाउँमै शिविर गरेपछि सहभागिता बढेको एएचएफ नेपालका जिल्ला प्रमुख कृष्णहरि सापकोटाले बताउनुभयो ।
शिविरका लागि जिल्ला एड्स समन्वय समितिले संयोजन गरेको छ । विगत तीन वर्षदेखि ग्रामीण क्षेत्रमा शिविर संचालन गरिँदै आएको हो । जिल्लामा मात्रै परीक्षण गर्दा लक्षित वर्ग नसमेटिने हँुदा पनि ग्रामीण क्षेत्रमा पुगेर शिविर गरेको जिल्ला एड्स समन्वय समितिका कार्यक्रम संयोजक रामहरि न्यौपानेले बताउनुभयो ।
अभियानअन्तर्गत बुधबार र बिहीबार शक्तिखोरमा शिविर गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, चितवनको पहाडी गाविस दारेचोकमा पनि यसपटक शिविर संचालन हुने भएको छ । पश्चिम चितवनको मंगलपुर, मेघौली, माडीको गर्दी र अयोध्यापुरीमा पनि एचआईभी परीक्षणको शिविर तय गरिएको छ ।
Discussion about this post