काठमाडौँ । प्रत्येक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाइँदै आएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यो वर्ष पनि ‘घर शान्ति नै विश्व शान्तिको आधारः दमनको प्रतिवाद गरी महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ आज सम्पन्न भएको छ ।
यही अभियानका क्रममा महिला आयोगमा महिला हिंसासँग सम्बन्धित २२ ओटा मुद्दा दर्ता भएको आयोगले जनाएको छ । आयोगका अनुसार १९ मुद्दा घरेलु हिंसासम्बन्धी मुद्दा रहेका र बाँकी तीनवटा महिला हिंसासम्बन्धी रहेका छन् ।
आयोगकी सदस्य मोहना अन्सारीका अनुसार समाजले नारीलाई हेर्र्नेे दृष्टिकोणमा परिवर्तन ल्याए मात्र महिलामाथि हुने हिंसामा कमी आउन सक्ने बताउनुभयो । आयोगमा दर्ता भएका मुद्दामध्ये घरेलु हिंसाका मुद्दाको प्रकृति हेरेर आयोगले नै मिलापत्र गराइदिने गरेको छ भने अन्य जटिल मुद्दालाई आयोगले सम्बन्धित निकायमा पठाउने गरेको आयोगकी कानुन अधिकृत कल्पना खतिवडाले जानकारी दिनुभयो ।
महिला हिंसाविरुद्धको अभियानले मात्र महिला हिंसा अन्त्य नहुने भएकाले महिला हिंसासम्बन्धी काम गर्ने सम्बन्धित निकायलगायत सरकारी स्तरबाट पनि महिला हिंसाविरुद्धका कार्यक्रम सञ्चालन हुनुपर्ने आयोगले जानकारी दिएको छ । रासस
Discussion about this post