नेपाली चलचित्रका सफल निर्देशकमध्येका एक हस्ती ४९ वर्षीय शिव रेग्मीको बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको छ । दुई दशक बढी चलचित्र क्षेत्रमा योगदान गरेका रेग्मीको निधनले समग्र चलचित्रकर्मी, रंगकर्मी तथा दर्शकहरु स्तब्ध भएका छन् । दस महिनाभन्दा लामो समयदेखि मृर्गौलाको उपचार गराइरहेका वरिष्ठ चलचित्र निर्देशक रेग्मीको निधनले देश–विदेशमा रहेका लाखौँ नेपालीलाई मर्माहत बनाएको छ । चलचित्र उद्योगलाई उनको निधनले अपूरणीय क्षति भएको छ । उनको पार्थिव शरीरमा चलचित्रकर्मी, शुभेच्छुक तथा आफन्तले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको शवलाई सोमबार दिउँसो गृहजिल्ला चितवन ल्याई देवघाटमा अन्त्येष्टि गरिएको छ ।
गत फागुनदेखि दुवै मृर्गौलाले काम गर्न छाडेपछि रेग्मी सिकिस्त अवस्थामा उपचार गरिरहेका थिए । उपचारमा संलग्न चिकित्सकहरुले मृर्गौला प्रत्यारोपण गर्न सुझाएपछि उनका भाइले एउटा मृर्गौला दिने निधो गरेका थिए । तर, निमोनियाका कारण मृर्गौला प्रत्यारोपण गर्न नमिलेपछि रेग्मीको स्वास्थ्य स्थिति जटिल बन्दै गैरहेको थियो । चलचित्र निर्देशनमा शिव रेग्मी औँलामा गन्न सकिने नाममध्येका एक मानिन्छन् । रेग्मीले निर्देशन गरेका अधिकांश चलचित्रहरु अत्यधिक सफल छन् । उनले ‘आफन्त’ चलचित्रबाट निर्देशन सुरू गरेका थिए । त्यसपछि आफ्नो मान्छे, ए मेरो हजुर, मुग्लान, सुखदुःख, हामी तीन भाइ, उपहार, पाहुना, साथी म तिम्रो, कहाँ भेटिएलाजस्ता सफल चलचित्र निर्देशन गरेका थिए । उनले पछिल्लो समय निर्देशन गरेको चलचित्र ‘मनले मनलाई छुन्छ’ र ‘पराई’ प्रदर्शनको तयारीमा छ । पछिल्लो समय रेग्मीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएपछि उनलाई कृत्रिम श्वासप्रश्वासमा राखिएको थियो । पछिल्लो समय उपचारका लागि समस्या भएपछि रेग्मीका परिवारले सहयोगको आह्वान् गरेका थिए । विभिन्न संघसंस्था, चलचित्र क्षेत्र तथा देशविदेशमा रहेका शुभेच्छुक र सहयोगी नेपालीहरुले उनको उपचारका लागि सहयोग जुटाएका थिए ।
डेढ दर्जनभन्दा बढी चलचित्र निर्देशन गरेका रेग्मी मृगौला रोगबाट पीडित भएपछि उपचारका लागि चितवनमा चलचित्र पत्रकार संघ, चितवन र इन्द्रदेव चलचित्र मन्दिरले रेग्मीकी श्रीमती ज्ञानुलाई सहयोग रकम हस्तान्तरण गरेका
थिए । रेग्मीको सहयोगार्थ नारायणी कला मन्दिरले रेग्मीले नै निर्देशन गरेको चलचित्र ‘सो सिम्पल’ को च्यारिटी शो प्रदर्शन गरेको थियो । सबैको सहयोग र सद्भाव मिल्दा पनि नियतिले रेग्मीलाई बचाउन भने सकेन । लाखौँ शुभेच्छुकले उनको स्वास्थ्यलाभको कामना गरे पनि रेग्मी रहेनन् । चलचित्र निर्देशनलगायत उत्कृष्ट गीत तथा कथा लेखनमा दख्खल राख्ने रेग्मीको भौतिक अस्तित्व नरहे पनि भावनात्मक अस्तित्व सधैँ रहनेछ । अलबिदा शिव, तिमी मरेर सधैँ बाँचिरहने छौ !
Discussion about this post