निर्वाचनको परिणामलाई लिएर काँग्रेस चितवनमा किचलो

अन‌ि यो पनि

विधुर ढकाल
नारायणगढ । संविधानसभाको निर्वाचनमा ठूलो दल बनेको नेपाली कांग्रेस चितवनमा भने केही क्षेत्रमा हारका कारणले विवाद आएको छ । चितवनका ५ क्षेत्रमध्ये तीन क्षेत्रमा हार बेहोरेको कांग्रेसका उम्मेद्वार तथा तिनका समर्थकहरुले नै आफ्नै पार्टीका नेताहरुको अन्तर्घातका कारण हार्नु परेको आरोप लगाई जिल्ला पार्टीलाई कारबाही गर्न माग गर्न थालेका छन् ।
चितवन निर्वाचन क्षेत्र ३ मा आफ्नै क्षेत्रीय तथा महासमिति सदस्यको असहयोगका कारण हार्नु परेको भन्दै सोमबार बसेको समीक्षा बैठकले अन्तर्घात गर्ने नेतालाई कारबाही गर्न जिल्ला पार्टीलाई सिफारिस गर्ने निर्णय गरेको कांग्रेसका एक जिल्ला नेताले चितवन पोष्टलाई जानकारी दिए ।
उनका अनुसार सोमबारको बैठकमा क्षेत्रीय सभापति प्रमोदकुमार श्रेष्ठ महासमिति सदस्य केशव कँडेल, दारेचोक गाविस सभापति मित्रलाल त्रिपाठी, भरतपुर १० का बुथ सभापति उत्तम जोशीको असहयोगका कारण हार बेहोरेको भन्दै उनीहरुमाथि कारबाही गर्न बैठकमा बोल्ने अधिकांश बुथ सभापतिहरुले माग गरेका थिए ।
सोही अनुरूप उनीहरुमाथि कारबाही गर्न सिफारिस गर्ने निर्णय भएको बुझिएको छ । यता उक्त क्षेत्रका कांग्रेसका उम्मेदवार भीमबहादुर श्रेष्ठले अरु साथीहरुको जस्तै उनीहरुको सहयोग पाएको भए आफूले जित्ने दावी गरे । ‘सबैले सहयोग गरेको भए हामीले जित्थ्याँै भन्ने साथीहरुले विचार राख्नुभयो’, उनले भने, ‘उहाँहरुको बारेमा चर्को विवाद भएको छ, सबै साथीको विचार सुनेर निर्णय गर्छौँ ।’
समय अभावका कारण कुनै निर्णय हुन नसकेको उनको भनाइ थियो । यता क्षेत्रीय सभापति प्रमोदकुमार श्रेष्ठले भने आफूलाई समीक्षा बैठकको बारेमा जानकारी नै नभएको दावी गरे । ‘म अहिले काठमाडौँमा छु, खै, मलाई त्यसबारेमा थाहा छैन’, चितवन पोष्टसँगको टेलिफोन कुराकानीमा उनले भने, ‘समीक्षा बैठक भए मलाई थाहा हुनुपर्ने हो, नभए उपसभापतिलाई पनि थाहा हुनुपर्ने हो ।’
समीक्षा बैठक क्षेत्रीय सचिव लक्ष्मण गुरूङको अध्यक्षतामा बसेको थियो । ‘अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले बैठकको अध्यक्षता गर्नुपर्ने हो’, श्रेष्ठले भने, ‘उनलाई पनि जानकारी छैन अरू समितिका साथीहरुलाई पनि थाहा छैन ।’
चितवन क्षेत्र ३ मामात्र होइन, चितवनमा कांग्रेसले हारेका तीनै वटा क्षेत्रमा  विवाद बल्झिएको छ । क्षेत्र १ मा कांग्रसेका उम्मेदवार राजेन्द्र बुर्लाकोटी र उनका समर्थकहरुले पूर्वसांसद सावित्री वोगटी, लीला उप्रेतीलगायतको असहयोगका कारण पार्टी हारेको आरोप लगाइरहेका छन् । यही विवादका कारण क्षेत्र १ मा समीक्षा बैठक बस्न सकेको छैन ।
क्षेत्र ५ मा गत मंसिर १५ गते भएको समीक्षा बैठकमा कांग्रेस कार्यकर्ताहरुबीच नै हात हालाहालको अवस्था आएको थियो । क्षेत्र ५ की उम्मेदवार सविता बराल तथा उनका समर्थकहरुले पूर्वसांसद तीर्थराज भुषाल, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य पृथ्वीमान गुरूङ, क्षेत्रीय सभापति मायाराम चौधरी, जिल्ला सदस्य टंक बास्तोलालगायतको असहयोगका कारण कांग्रेसले हारेको आरोप लगाएका छन् ।
उनीहरुले निर्वाचनमा विजयी राप्रपाका महामन्त्री विक्रम पाण्डेसँग पैसा लिएर असहयोग गरेको आरोपसमेत लगाएका छन् । यता केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य गुरूङले आफूहरुलाई आधारहीन आरोप लगाएको बताएका छन् । उनले गत मंसिर १६ गते एक विज्ञप्ति जारी गर्दै उल्टै उम्मेदवारसहित उनका केही समर्थकले विजयी पाण्डेसँग पार्टी नीति विपरीत सम्झौता गरेको र सम्झौताको पर्दाफास हुने डरले यस्तो आरोप लगाएको दावी गरेका छन् ।
जिल्ला सभापति टेकप्रसाद गुरूङले बाहिर आएजस्तो कांग्रेस चितवनमा त्यस्तो विवाद नभएको दावी गरे । निर्वाचनका परिणाम आफ्नो पक्षमा नआएपछि त्यस्तो आरोप आए पनि त्यस्तो ठूलो केही नभएको उनको दावी छ । ‘केही नेताहरुको अन्तर्घातका कारण हारियो भन्ने कुरा आएको छ’, सभापति गुरूङले भने, ‘हामीले क्षेत्रीय समितिलाई समीक्षासहित रिपोर्ट पेस गर्न निर्देशन दिएको छौँ, समितिको रिपोर्टअनुसार अगाडि बढ्छौँ ।’

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया