दर्ता नगरी दशक चल्यो भरतपुरको ओम अस्पताल [divider]
भरतपुर । चितवनमा पनि दर्ताबिना एक दसकभन्दा बढी समयदेखि अस्पताल सञ्चालनमा आएको फेला परेको छ । चितवनको भरतपुरमा रहेको ओम अस्पताल दर्ताबिना नै सञ्चालनमा आएको पत्तो पाउन काठमाडौँदेखि नै सरकारी अनुगमन टोली आउनु प¥यो ।
स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाले दर्ता नभएका ओम अस्पतालासहित चितवनका छ अस्पताल बन्द गर्न चितवन जिल्ला प्रशासनलाई अनुरोध ग¥यो । सोमबार प्रशासन कार्यालयको टोली गएर त्यस्ता अस्पताल बन्द गरेको दुई घण्टा नबित्दै फेरि अस्पताल पहिलेकै अवस्थामा सञ्चालनमा आए ।
महाशाखाले डा.गुणराज लोहनीको नेतृत्वमा अनुगमनका लागि चितवनमा टोली पठाएको थियो । जसमा ओमसहित भारतपुरकै माता मनकामना आरोग्य केन्द्र, एडभान्स कम्युनिटी अस्पताल र खैरहनीको परोपकार अस्पताल दर्ताबिना नै सञ्चालन भएको खुल्न आयो ।
त्यस्तै, भरतपुरकै ओएसिस मेडिकल टिचिङ अस्पतालले पनि मापदण्ड पूरा नगरेको भेटियो । कलेजका सञ्चालक डा.मनोज चौधरीको प्रमाणपत्र पनि नक्कली भएको अनुगमन टोलीले आशंका ग¥यो । कात्तिक १० मा भएको सचिवस्तरीय बैठकले दर्ता नभएका सबै अस्पताल जिल्ला प्रशासन कार्यालय मार्फत बन्द गराउने निर्णय लियो । त्यस्तै, मापदण्ड पूरा नगरेकोले ओएसिस मेडिकल कलेज शिक्षण अस्पतालको सेवा पनि बन्द गर्न भन्यो ।
बैठकले मेडिकल कलेजका सञ्चालक चौधरीको शैक्षिक प्रमाणपत्र पनि छानबिन गर्न निर्देशन दियो । सो निर्णयको जानकारी गराउँदै मन्त्रालयले कात्तिक २४ मा काटेको पत्र एक हप्ता अगाडि चितवन आइपुग्यो । निर्णय कार्यान्वयन गराउन जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरु सुरक्षाकर्मीसहित सोमबार अस्पताल चाहार्न थाले ।
नेपाल सरकारको सचिव स्तरीय बैठकले दर्ता नभएकाले सञ्चालन बन्द गर्न स्पष्ट निर्देशन दिएको ओम अस्पतालका सञ्चालक ओमप्रकाश दवाडी भने आफूले स्वीकृति लिएको दावी गर्न पछि परेनन् । उनले विस २०५९ सालको पुसमा २५ बेडको अस्पताल सञ्चालनको अनुमति लिएको र थप ५५ बेडको अनुमति लिने तयारी रहेकोसमेत बताए ।
‘श्री ५ को सरकारबाट प्राइभेट अस्पताल एवं निजी स्वास्थ्य संस्थाको नीति एवं मापदण्ड तयार भई लागू हुने क्रममा रहेकाले त्यस अस्पतालमा अनुगमन गर्दा औंल्याइएका त्रुटिहरु सच्चाइ सञ्चालन गर्नु होला’ सञ्चालक दवाडीले सञ्चालन अनुमति पाएको भन्ने पत्रमा जम्मा यत्ति कुरा लेखिएको थियो । उनले यसैलाई सञ्चालन अनुमतिपत्र हो भनेर अथ्र्याए ।
बन्द गराउने टोलीमा रहेका जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत ईश्वरीप्रसाद पोखरेलले यो पत्रका आधारमा दर्ता भएको भन्न नमिल्ने हुँदा अरू कुनै प्रमाणपत्र छन् भने देखाउनु भने । तर दवाडीले यही नै अनुमतिपत्र हो भन्न छोडेनन् । त्यसपछि यसका आधारमा सञ्चालन गर्न नपाउने भन्दै अस्पताल बन्द गर्न भनियो ।
भर्ना भएका बिरामीबाहेक नयाँ भर्ना लिन नपाउने भन्दै अस्पताल बन्द गरेर टोली हिँड्यो, तर टोलीले बन्द गराउनुपर्ने अरू अस्पताल बन्द गर्न नभ्याउँदै ओम अस्पताल फेरि खुल्यो । चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माका अनुसार अस्पतालको सेवा बन्द नै गरिएको छ ।
‘भर्ना भएर उपचार गराइरहेका बिरामीहरुलाई मानवीयको आधारमा पनि तत्काल हटाउन हँदैन, भर्ना भएका बिरामीहरुलाई मात्र सेवा दिन भनिएको हो’ प्रमुख जिल्ला अधिकारी शर्माले भने, पूरा अस्पताल खोलेर भर्ना लिन भनिएको होइन ।’
ओएसिस मेडिकल कलेजका सञ्चालक पनि बन्द गराउन सहमत भएनन् । जनस्वास्थ्यका कर्मचारीहरुको छोराछोरीलाई निःशुल्क नपढाएको रिस फेर्न आफ्नो कलेज बन्द गराउन आएको आरोपसमेत लगाइयो, तर पनि प्रशासनले बन्द गराई छोड्यो ।
त्यस्तै टोलीले भरतपुर सामुदायिक अस्पताललाई आकस्मिक सेवा र फार्मेसीमा समय सकिएको औषधि भेटिएको तथा भेन्टिलेसन नभएको भन्दै तत्काल सुधारका लागि चेतावनी पत्र दिएको छ । चितवनमा एक सरकारी अस्पताल, दुई मेडिकल कलेज, एक क्यान्सर अस्पताल, एक आखा अस्पताल र २६ वटा निजी अस्पताल सञ्चालनमा रहेका छन् ।
[divider]फोटो क्याप्सन ः सञ्चालन भएको दशक नाघे पनि दर्ता नभएको भरतपुरको ओम अस्पताल ।
Discussion about this post