भरतपुर । नेपाली क्रिकेट टिमप्रति सम्मान गर्दै सन् २०१४ मा बंगलादेशमा हुने विश्वकप टी–२० मा छनोट भएको खुसियालीमा नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पसले सहिद शिव पौडेल स्मृति अन्तर कलेज टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।
नेविसंघको प्रमुख वार्षिक कार्यक्रमको रूपमा नेपाल तरूण दलका तत्कालीन जिल्ला अध्यक्ष शिवप्रसाद पौडेलको २०६८ पौष २ गते जेलमा भएको रहस्यमय हत्याको स्मरण गर्दै पौष २ गतेबाटै शिव पौडेलकी धर्मपत्नी तथा तरूण दलका कोषाध्यक्ष बिनु पौडेलको प्रमुख आतिथ्यमा खेल उद्घाटन हुने कार्यक्रम संयोजक अनिल अधिकारीले विज्ञप्तिमार्फत् जनाएका छन् ।
नेपालका विभिन्न जिल्ला र चितवनका कलेज गरी १२ टिमको सहभागिता रहने प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का तथा प्रशिक्षक पुबुदु दसानायकेलाई आमन्त्रण गरिने इकाइ सभापति बचन कार्कीले जनाएका छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई ६८ हजार ९०२ र द्वितीय हुने टिमलाई ३५ हजार ९०२ सहित आकर्षक ट्रफी प्रदान गरिने जनाइएको छ ।
Discussion about this post