भरतपुर । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा चितवनमा एमाओवादी कार्यकर्ता पक्राउ भएकोमा विरोध गरेका छन् । भट्टराई वृहद शान्ति सम्झौताविपरीत आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै हिम्मत भए आफूलाई पक्रेर देखाउन चेतावनी दिएका छन् ।
आइतबार उनले आफ्नो फेसबुक भित्तामा स्टाटस लेख्दै जनयुद्धकालीन मुद्दामा गोरखा फुजेलका पर्शुराम पौडेललाई सरकारले गिरप्तार गरी शान्ति सम्झौताको उल्लंघन गरेको आरोप लगाएका छन् । शान्ति सम्झौताले जनयुद्धकालीन मुद्दाका किनारा सत्यनिरूपण तथा मेलमिललाप आयोगले समाधान गर्ने उल्लेख हुँदाहुँदै शान्ति र मेलमिलापको विरोधीको यस्तो हर्कत गर्नु निन्दनीय भएको स्टाटसमा उल्लेख छ ।
‘कसैले दुर्नियतपूर्ण ढंगले भोक हड्ताल ग¥यो भन्दैमा आयोग गठन गर्नुको साटो मुद्दा चलाउन थाल्ने हो भने द्वन्द्वकालमा दुवै पक्षबाट मारिएका र बेपत्ता पारिएका १७ हजार परिवारले भोक हड्ताल गरे भने के गर्ने ?’, भट्टराईले प्रश्न गरेका छन्, ‘त्यसपछि के शान्ति प्रक्रिया बाँकी रहन्छ ?, आयोगमार्फत शान्ति र मेलमिलाप कायम गर्ने कि प्राचीन कालको आँखाको बदला आँखा र दाँतको बदला दाँतको जंगली सिद्धान्त अपनाउने ?’
भट्टराईले आफ्नो स्टाटसमा तत्काल सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन गर्न माग गर्दै तत्कालीन संयुक्त क्रान्तिकारी जनपरिषद् अर्थात् माओवादीले सञ्चालन गरेको समानान्तर सरकारको प्रमुखको हैसियतले आफूलाई गिरफ्तार गरी मुद्दा चलाउन चुनौती दिएका छन् ।
Discussion about this post