होमनाथ सापकोटा
काउले । चितवनको पहाडी गाविस काउलेकी रूपामाया चेपाङ यही मंसिर महिनाबाट १५ वर्षकी भइन् । उनको काखमा अहिले २ महिनाको छोरा छ । १३ वर्षमा विवाह गरेकी उनले दुई वर्ष बित्न नपाउँदै छोरा जन्माइन् । सानै उमेरमा विवाह गरेर छोरा जन्माउने रूपामाया बालविवाह गर्ने चेपाङ जातिकी प्रतिनिधि पात्र हुन् ।
चितवनको पहाडी गाविसमा बसोबास गर्ने झण्डै ५० प्रतिशत महिलाहरु उमेर नपुगी विवाह गरेका छन् । गरिवी, अशिक्षा र चेतनाको अभावका कारण चेपाङ किशोरीहरुले १५ वर्ष पनि नपुग्दै विवाह गरेका छन् ।
अशिक्षाका कारणले गर्दा चेपाङ जातिमा बालविवाह अझैसम्म पनि कायम रहेको छ । सरकारले बिहेबारी २० वर्ष पारी भन्ने अभियान गाउँ–गाउँमा सञ्चालन गरेको भएपनि चेपाङ जातिमा लागू हुन सकेको छैन । छोराछोरीप्रति अभिभावकहरुले दायि¤वबोध नगरेकै कारण आफूखुसी बिहे गर्ने प्रचलन बढिरहेको छ ।
सानै उमेरमा बच्चा जन्माउँदा आमा र बच्चालाई हुने खतराप्रति पनि चेपाङ महिलाहरु अनभिज्ञ रहेका छन् । दुई वर्षअघि स्थानीय बुद्धिबहादुर चेपाङसँग बिहे गरेकी रूपामायाले बच्चा जन्माए पनि कलिलो उमेरकै कारण उनले जिम्मेवारी बोध गर्न सकेकी छैनन् । सानै उमेरदेखि दैनिक गुजारा गर्न दिनभरी काम गर्नुपर्ने भएकाले रुपामायाले पनि पढन पाइनन् ।
चेपाङहरुको सन्तान धेरै हुने भएकाले अभिभावकले उमेर नपुग्दै छोरीको विवाह गर्दछन् । त्यसैको सिकार रुपामाया पनि भइन् । ‘बुबा आमाले विवाह गर्दिए’ उनले भनिन्, ‘हामीलाई उमेरको के थाहा दुई वर्षमै बाबु जन्मियो । उनलाई सानै उमेरमा विवाह गर्दा हुने खतराको बारेमा जानकारी नै छैन । सिद्धि गाविसका सुक्रबहादुर र सुजता चेपाङकोे भर्खरै विवाह भयो ।
उनीहरुमध्ये सुक्रबहादुर १७ वर्षका भए भने सुजता १५ वर्षकी भइन् । यो उनीहरुको विवाह गर्ने उमेर होइन । सहर बजारमा बस्ने उत्तिकै उमेरका किशोरकिशोरीहरु झोला बोकर विद्यालय गइरहँदा चेपाङ किशोरी भने काखमा बाबुनानी बोकेर उकाली ओराली गर्दै जीविकोपार्जनको लागि काम गरिरहेकी छन् । चेपाङ किशोरकिशोरीको सानै उमेरमा विवाह गर्ने भएकाले एउटै परिवारका ८ जनासम्म सन्तान हुने गरेका छन् ।
सिद्धि उपस्वास्थ्य चौकीमा कार्यरत अनमी तारा थापाले गर्भवती चेकजाँचको लागि आउने अधिकांश चेपाङ महिलाहरु उमेर नपुगी गर्भवती भएको बताइन् । उनले यसरी उमेरमै नपुगी गर्भवती भएका महिलाहरुलाई सानै उमेरमा बच्चा जन्माउँदा आमा र बच्चालाई हुने खतराबारे सचेत गरिएको बताइन् । सरकारले ग्रामीणस्तरमा स्वास्थ्य चेतना फैलाउन प्रत्येक गाविसमा महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरेको भएपनि चेपाङ महिलाहरु स्वयमसेविकाले दिएको सल्लाहाको ख्याल नगरेको बताइन् ।
उब्जनी कम हुने खोरिया जग्गामा मिहिनेत धेरै गर्नुपर्ने भएका कारण जनशक्ति बढाउनको लागि चेपाङ अभिभावकहरु छोराछोरीको विवाह सानै उमेरमा हुने गरेको विगत ७ वर्षदेखि चेपाङ उत्थानको लागि क्रियाशील चेपाङ अभियान्ता केपिकिरण शर्माले बताए । उनले चेपाङ किशोरीहरुलाई बालविवाहबाट रोक्न शिक्षाको आवश्यकता रहेको बताए । उनले अझै पनि ५० प्रतिशतभन्दा बढी चेपाङ किशोरीहरु बालविवाहको सिकार बन्नु परेको बताए । २०६८ सालको जनगणना अनुसार नेपालमा ६८ हजार ६ सय ९९ चेपाङ रहेको छन । चितवनमा भने ९ वटा गाविसमा झण्डै २१ हजार चेपाङहरु रहेका छन ।
[divider]फोटो क्याप्सन ः काखमा बाबु बोकेकी रुपामाया चेपाङ ।
Discussion about this post