एकल सिलवाल
३ मंसिर २०७० अर्थात् संविधानसभाको दोस्रो चुनावको अघिल्लो दिन । डेराबाट निस्किँदा मध्यान्ह १२ बज्दै थियो । भरतपुर–२, रामेश्वरटोलबाट सुस्ताउँदै हिँडेको ११ मिनेटमा मध्यक्षेत्र प्रहरी तालिम केन्द्र अगाडिको बाइपासमा पुगियो । सडक चकमन्न छ । अलिबेर उभिएर नियालेँ । केही मोटरसाइकल र निजी गाडीहरू फाटफुट ओहोरदोहोर गरिरहेका देखिए । उत्साह थपियो । खासमा म कुनै गाडी पाए हेटौँडा, केही उपाय नलागे चितवनकै कुनै पहाडी गाउँमा साँझ बास बस्न पुग्ने र भोलिपल्ट दिनभर संविधानसभाको चुनाव हेरेर घर फर्कने रहर मेट्न निस्किएको थिएँ ।
नेकपा–माओवादी नेतृत्वका १६ दलको आव्हानमा हिंसात्मक बन्दै गएको चुनाव बहिस्कार आन्दोलनको असर कडा देखियो । प्रहरी तालिमकेन्द्रबाट दुई सय मिटर जति पूर्वपट्टिको विशालचोकमा पुगेर उभिएँ । एउटा सेतो ट्रिपर पश्चिमबाट पूर्वतिरै ताकेर आइरहेको थियो । हात उठाएर रोक्ने इशारा गरें तर के कामले रोकिन्थ्यो र ! अलिकति पनि गति कम नगरिकन आफ्नो बाटो लाग्यो । आँखाले देखुञ्जेल पछाडिबाट हेरिरहेँ । निकै पर पुगेपछि त्यसको आवाजसमेत हावामा बिलायो । अरु १० मिनेट जति कुर्दा ट्रिपर वा ट्र्याक्टरसम्म पनि आएन । अनि लागें बाटो लुरुलुरु । मेरो पहिलो गन्तव्य भरतपुर केन्द्रीय बस टर्मिनल थियो ।
काठमाडौँबाट सुरक्षा स्कर्टिङमा छुटेका बसहरू त्यहाँ फेला पर्न सक्ने आसले त्यता डो¥याएको । लम्ंिँकदै गर्दा सडकका दायाँवायाँ देखिएका स्थानीयहरूले भनिरहेका थिए, ‘आज त काठमाडौँबाट एउटै बस आएको छैन, अव गाडी पूरै बन्द भएछ ।’ म मनमनै एउटा न एउटा उपाय त पक्कै लाग्ला भन्ने सोचिरहेको थिएँ । आफ्नो यात्राको सम्भावित स्वरुपबारे कल्पना गरँं, ‘पूर्व दिशातिर गुडिरहेका साइकल, मोटरसाइकल, ट्र््याक्टर, टाँगा, ट्रिपर, ट्रक, सुरक्षाकर्मीका गाडी र अरु निजी सवारीसमेत जहाँ जे देखे पनि हारगुहार माग्दै चढ्नेछु र एकाध किलोमिटरका दरले बाटो छोट्याउँदै अघि बढ्नेछु । केही नपाउँदा कतैकतै त पैदलै
दगुर्नुपर्ला । साँझसम्ममा जहाँको बस्तीमा पुगिन्छ त्यहीँ बास बस्छु ।’
मलाई संविधानसभाको दोस्रो चुनाव आफू बस्दै आएको जिल्लाभन्दा बेग्लै ठाउँमा पुगेर हेर्ने इच्छा पहिलेदेखि नै थियो । मेरो रुचि र रोजाइमा परेका ठाउँहरूमा रुपन्देहीको मर्चवार, मकवानपुरको हेटौँडा, रसुवाको धुन्चे र सर्लाहीको हरिवन क्षेत्र पर्दथे । चुनावको केही दिनअघि मात्र आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) काठमाडौँले मलाई हेटौँडा नगर क्षेत्रको चुनाव पर्यवेक्षण गर्ने जिम्मा दिएपछि रहर मेट्ने निहुँ पाएको
थिएँ । त्यो जिम्मेवारीको कारण मेरो हेटौँडा मिसन पूर्वनिर्धारित नै थियो भन्नुपर्छ । तर, यात्राको स्वरुप र साँझ पुगेर बास बस्ने गन्तव्यचाहिँ अनिश्चित नै रहन दिएर म निस्किएको थिएँ । हेटौँडा पुगिहालेँ भने जियोकको जिम्मेवारी पूरा गरौँला नत्र आफ्नै यात्राका खुल्दुलीहरूको जङ्घार तरौँला भन्ने अठोट नै मेरो साथी थियो ।
मलाई खुल्दुलीहरूसँग खेल्न औधी मन पर्छ । यस्तो लाग्छ कि हरेक यात्रा अनिश्चयबाट थालनी होओस् र यावत् खुल्दुलीहरू मेट्दै कल्पनातीत अनुभव र अनुभूतिहरूसँगै टुङ्गियोस् । सुनियोजित साथी र बनिबनाऊ कार्ययोजनामा भन्दा पाइलापाइलामा भेटिने नयाँनयाँ पात्रहरू र पलपलमा परिवर्तन भइरहने परिवेशहरूसँग बग्दा बेग्लै आनन्द आउँछ मलाई । त्यस दिनको यात्राले मेरो चहनाका यी सब परिस्थितिहरू जुराइदिनेवाला थियो । त्यो अवसर छोप्दै थिएँ म । केही निजी गाडी र मोटरसाइकलहरूलाई हात दिँदा निरर्थक सावित भएपछि आफ्नै गतिमा केन्द्रीय बस टर्मिनलको गन्तव्य ताक्दै अनेक परिकल्पनामा डुबिरहेको थिएँ । मालपोतचोक पुग्नै लागेका बेला एउटा कारले मलाई उछिन्यो र १५ पाइला जति अगाडि पुगेर सुस्तरी रोकियो । कारको पछाडि एउटा तुल टाँगिएको थियो, जसमा ‘प्रेस’ र ‘एभिन्यूज टेलिभिजन’ लेखिएको थियो । कोही परिचित साथीले मलाई चिनेरै पो रोके कि भन्ने लाग्यो । नभन्दै एभिन्यूज टेलिभिजनकर्मी साथी प्रकाश ज्ञवालीले कारको बायाँतर्फको अघिल्लो सिटबाट झ्यालबाहिर मुन्टो निकाल्दै मतिर नियाले र पछिल्लो सिटको ढोका खोलिदिए । म गाडीमा बसेँ । यात्राको थालनी कस्तो गाडीमा र कोसँग हुनेहोला भन्ने एकछिन अघिको एउटा खुल्दुली त्यसै मेटियो ।
मैले पार गर्नुपर्ने ८० किलोमिटरमध्ये करिब एक किलोमिटरमा सकिने क्षणिक यात्राको श्रीगणेश सोचेभन्दा सुखद् थियो । प्रकाशसँगै कार्यरत अर्का एभिन्यूजकर्मी कृष्णले गाडी हाँकिरहेका रहेछन् । दुवै साथीहरूले आत्मीयतापूर्वक सोधे, ‘दाइ कहाँसम्म ?’ मैले अन्तिम गन्तव्य हेटौँडा भए पनि नजिकैको केन्द्रीय बस टर्मिनलमा पुगेपछि उहाँहरूसँग छुट्टिने बताएँ । त्यति कुराकानी सकिँदा बसपार्क छिर्ने चोकमा पनि पुगियो । मलाई त्यहाँ छोडेर साथीहरू पश्चिमी चितवनतिर चुनावी खबर संकलन गर्न गए ।
म बाइपास र नारायणगढ बजारबाट पूर्व–पश्चिम राजमार्ग आएर जोडिने जिल्ला प्रशासन कार्यालय चोकमा उभिएँ । त्यहाँ उभिएको आधा मिनेटमै नारायणगढ बजारतिरबाट खचाखच यात्रुले भरिएको एउटा यात्रुबस आइपुग्यो । मसँगै उभिएका अरु तीन जना पनि थिए । हामीले ईशारा गरेपछि बस रोकियो । ढोकामा उभिएका कन्डक्टर चिच्याए, ‘ए बीरगञ्ज, बीरगञ्ज ।’ हेटौँडा हुँदै बीरगञ्जसम्म पुग्ने बस पाएपछि बाँकी यात्रा मैले सोचेभन्दा हजार गुणा सहज हुने भो । हेटौँडा पुगिएला या बीचैमा बसिएला भन्ने खुल्दुलीको फैसलासँगै दिमागमा खेलिरहेका रमाइला अनिश्चयका सहस्र सम्भावनाहरू एकमुष्ट विदा भए ।
म समेतका चार यात्रुलाई चढाएर निमेषभरमै बस बाटो लागिहाल्यो । त्यस दिन काठमाडौँबाट बीरगञ्जका लागि विना सुरक्षा स्कर्टिङ जोखिम मोलेर छुटेको एकमात्र बस पो रहेछ त्यो त । त्यसपछि चितवनबाट हेटौँडा पुग्ने कुनै पनि बस गएन । मलाई साथीहरूले कारमा लिफ्ट नदिएको भए त्यो बस छुट्ने रहेछ । अनि मानसिक रुपमा तयार भएझैं उत्सुकताका अनेक आवरणहरू उघार्दै अघि बढ्नुपर्ने रहेछ मलाई । भरतपुरकै मिलनचोक नजिकै बीरगञ्ज जान बस कुरिरहेका १५–२० जनाको पल्टनसँग बस्ने ठाउँ र भाडाको कुरा नमिलेर उनीहरूलाई नचढाई अघि बढेको बस वायुको वेगमा हुइँकियो । रत्ननगरमा पुगेर एउटा विरामीका लागि केही बेर पर्खिएको बस वीरेन्द्रनगर पुगेपछि भने थला परेझैं भएर थन्कियो । कुरा के भयो भने त्यहाँ पुगेपछि एक यात्रुलाई ओराल्न रोकिएको बेला बसकै एक यात्रुले आफूसँग चुनावका सरसामान भएकाले बसलाई सुरक्षा स्कर्टिङ चाहिने बताए । बस चालकले उनलाई जवाफ दिए, ‘यो गाडी मेरो आफ्नै हो, तपाईंको सामानभन्दा पहिले मेरो गाडी असुरक्षित छ । तैपनि मलाई डर छैन, तपाईं किन आत्तिनुहुन्छ ?’ बसका अरु यात्रुले पनि ‘काठमाडौँदेखि विना स्कर्टिङ नै आइरहेको गाडीलाई अब किन स्कर्टिङ चाहियो ? बरु छिटो गइहालौं’ भन्दै प्रतिवाद गरे । तर, ती भलाद्मी यात्रुले माननेन् । राजमार्गमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीहरूसँग स्कर्टिङका लागि उनैले कुराकानी गरे । निर्वाचनको सामान ल्याएको थाहा पाएपछि प्रहरीले खुरुक्क स्कर्टिङ गरिदेलान् भन्ने उनले ठानेका थिए होला । तर, भइदियो
उल्टो । त्यो थाहा पाएपछि सशस्त्र प्रहरीको त्यहाँ खटिएको गस्ती टोलीका इञ्चार्जले चालकलाई भने, ‘आज राजमार्गमा गाडी नचलेकाले स्कर्टिङको व्यवस्था छैन् । यो बस आफै जोखिम लिएर आएको रहेछ । एउटालाई स्कर्टिङ गर्ने कुरा पनि
भएन । अरु गाडी पनि थपिएर चार वटा पुगेपछि स्कर्टिङको व्यवस्था मिलाउँछौं । तपाईंहरूले कुनुपर्ने भो ।’ उनको भनाइले रन्किएका चालकले आफ्नो आक्रोश यात्रुहरूतिर पोखे, ‘गाडी यहीँ थन्कियो, ल जानुस् अब हिँडेर ।’ तनावग्रस्त देखिएका उनी ढोका खोलेर बाहिर निस्किए । अन्य यात्रुहरू निस्किएर चालकलाई सम्झाउन थाले, ‘स्कर्टिङ चाहिने मान्छेलाई यहीँ ओरालेर हामीलाई ठाउँमा पु¥याइदिनुस्, बस मालिक तपाईं आफैले जोखिम मोल्न तयार भएपछि पुलिसलाई के को चिन्ता ?’ स्कर्टिङ खोज्ने व्यक्तिप्रति पनि अरु यात्रु रुष्ट देखिए । एक जनाले भने, ‘ठाउँ र बेला विचार नगरी एक जना भीआइपी हुन खोज्दा सबैले दुःख पाइने भो ।’ चालक रिसाइरहेकै थिए ।
बसका कण्डक्टरले अन्य यात्रुहरूबाट आएको आग्रह भन्दै स्कर्टिङ चाहने यात्रुलाई बोलाएर भने, ‘तपाईंको भाडा फिर्ता दिन्छौँ, स्कर्टिङ पाएपछि आउनुस् न त ।’ ती यात्रु जङ्गिए, ‘मलाई भाडा फिर्ता दिने कुरा कहाँबाट
आयो ? म यहीँ ओर्लने गरी चढेको थिएँ र ? सबैको लागि सुरक्षा माग्दा मलाई नै उल्लु बनाउन खोज्ने ?’
त्यो सुनेपछि अरु यात्रुहरूको आवाज बदलियो । अर्का एक भद्र व्यक्ति बोले, ‘उहाँ गलत हुनुहुन्न । हाम्रै सुरक्षाको लागि भन्नुभएको हो । जान नपाउँदा सबैलाई पर्ने आपद् उस्तै हो । बादविवाद नगरौं बरु सहमति गरौं ।’ उनी मध्यस्थता गर्न अघि सरे । बस रोकिएको आधा घण्टा भइसकेको थियो । हाम्रो पछाडि एउटा गाडी पनि थपिन आइपुगेको थिएन र आउने सम्भावना पनि थिएन । सुरक्षाकर्मीहरूले पहिले नै भनिसकेका थिए– एउटा बसलाई स्कर्टिङ गर्न उनीहरू तयार थिएनन् । यात्रुहरू सबै एकमुख भएर सशस्त्र प्रहरीहरूसँग बिन्ती बिसाए, ‘गाडीको जोखिम गाडीवालाले लिनुभएको छ, आ–आफ्नो ज्यानको जोखिम हामी यात्रुहरू नै लिन्छौँ । गाडी पठाइदिनुस् ।’ गस्ती टोलीका इञ्चार्जले फरि भने, ‘बाटोमा जताततै बम राखिएका हुन सक्छन्, आज अरु गाडी पनि चलेको छैन् । तपाईंहरूलाई भन्न सजिलो छ तर केही भइहाल्यो भने दोष हामीले खेप्नुपर्छ । भोलि नै चुनाव परकाले स्कर्टिङ गर्ने गाडी र जनशक्ति पनि छैन । जोखिम मोलेर जानुस् भन्न तपाईंहरूलाई जति सजिलो हामीलाई छैन् ।’ गाडी चालकले पनि निकै शान्त भावमा आग्रह गरे, ‘म काठमाडाँैदेखि यहाँसम्म यात्रु लिएर सुरक्षित साथ आएँ । राजमार्गको एकान्त ठाउँमा पनि कतै कुनै बन्दकर्ता देखिएन । अब त मेरो आफ्नै गाउँघर हुँदै जाने हो । खतरा छैन, जान दिनुस् ।’ प्रहरी इञ्चार्जले चालकसँग आँखा जुधाउँदै मुन्टो हल्लाए । गाडी गुड्यो ।
हुन पनि हामीलाई कुनै खतराको सामना गर्नुपरेन । दिउँसो साढे तीन बजे म हेटौँडा बसपार्क उत्रिएँ । जियोकको सम्पर्क कार्यालयमा गएर पर्यवेक्षणका लागि जिल्ला निर्वाचन कार्यालयले जारी गरेको परिचयपत्र लिएँ र साँझसम्ममा हेटौँडा बजारक्षेत्रका पाँच वटा मतदानकेन्द्रहरूको अवलोकन पनि गरेँ । झमक्क साँझ पर्दा म त्यहाँको हुब्राचौरस्थित सभागृहमा रहेको मतदान केन्द्रमा पुगेको थिएँ । कुनै मतदान केन्द्र तयार भइसकेका थिए भने कतै बाँसका डन्डी गाड्ने, डोरी टाँङ्ने र संकेत चिन्हहरूले सजाउने काम भइरहेको
थियो । सहरमा पाहुना पर्खेर बसेका होटलहरूलाई म आफ्नो बासका लागि योग्य देख्दिन । किनभने त्यहाँ आफूलाई चार दिवारभित्रको बिछ्यौनामा एक रातको कैदी बनाएर निस्कँदा एक किसिमको अपराधबोध हुन्छ, नयाँ परिवारको सदस्य बनेर सद्भाव साटासाट गर्न नपाएकोमा । त्यसकारण सकेसम्म सादा जीवन बाँचिरहेका घरगृहस्थमा बास मागेर सुखदुःखका कुरा गर्दै समाज र सँस्कृतिको फरक मिठास बटुल्नमा रमाइलो लाग्छ मलाई । त्यस्ता सबै विकल्पहरूको बाटो बन्द भएपछि
मात्र एकराते कैदी बन्न वाध्य हुने गरेको छु ।
स्वभावैले चुनावको अघिल्लो दिन पनि हेटौँडा नगरक्षेत्रको कुनातिर गएर एउटा सानो छाप्रोमा अप्रत्याशित पाहुना बन्न पुग्ने रहरले मलाई रात परेपछि त्यो सहरबाट लखेट्यो । मैले कमाने भन्ने ठाउँलाई आफ्नो लागि उपयुक्त गन्तव्य ठानेँ । अनि भुलभुलैया जस्ता लाग्ने बाटैबाटोले जेलिएका जञ्जालहरू छिचोल्दै पूर्व–पश्चिम राजमार्गमा निस्किएँ । मंसिरको छोटो दिन । साढे पाँच नबज्दै अन्धकारले धर्ती धमिल्याउन थाल्छ । त्यसबेला मोबाइल सेटमा दौडिइरहेका घडीका सूईहरूले साँझको साढे ६ बजाइसकेका थिए । मेरो सन्ध्याकालीन यात्रा पनि मध्यान्हमा डेरा छाडेपछिको जस्तै अनिश्चितप्रायः र सुस्वादु उत्सुकताले भरिपूर्ण थियो । म कमाने जाने गौँडाको खोजीमा राजमार्गको छेवैछेउ पूर्वतिर लागेँ । असिनपसिन हुनेगरी २० मिनेट हिँडेपछि हेटौँडा नगरको आखिरी बजार पशुपतिनगर पुगेछु । राजमार्गको दायाँतर्फ केही चियापसल र आवास घरहरू तथा बायाँतर्फ हेटौँडा औद्योगिक क्षेत्रको प्रवेशद्वार, इलाका प्रहरी कार्यालय, मन्दिर र एउटा प्रतीक्षालय काटेर अझै अघि बढेपछि एउटा सानो घुम्ती पसलमा ठोकिन पुगेँ । घुम्तीमा बसिरहेकी आमै म पुग्नै लाग्दा आडैको ठूलो गेटको सानो प्वालबाट छिरेर एउटा विशाल परिसरभित्र पस्न लाग्नुभएको थियो । मलाई देखेपछि फर्केर आउनुभयो र सोध्नुभयो, ‘हजुरलाई के चाहियो ?’ मैले जवाफ दिन नभ्याउँदै मेरो पछाडिबाट कसैको आवाज आयो, ‘चुरोट दिनुस् न ।’
मेरो अगाडि एक अपरिचित दाजु देखा परे । उनले मतिर पुलुक्क हेरे । मैले घुम्तीकी आमासँग आग्रह गरेँ, ‘मलाई कमाने जाने बाटो बताइदिनुस् न ।’ उहाँले अघि आफू पस्न लागेको उही ठूलो सानो प्वालतिर देखाउँदै भन्नुभयो, ‘बाटो त ऊ त्यही हो, बाबु कहाँबाट आउनुभो ? अनि यसबेला किन जानुप¥यो कमाने ?’ उहाँले होटलहरू नभए पनि त्यतै आसपासमा बास बस्नु राम्रो हुने सुझाव दिँदैहुनुहुन्थ्यो । आडैमा उभिएका अपरिचित दाजुले अर्को प्रस्ताव राख्नुभो, ‘म पनि कमाने जाने हो, मिल्छ भने हिँड्नुस्सँगै गफ गर्दै जाऊँ र मेरै घरमा आजको रात गुजारा चलाऊँ, हुँदैन ?’ मैंले आफ्नो यात्राको उद्देश्य बताएर उहाँको प्रस्तावमा सही थापेँ ।
त्यसपछि निष्पट्ट अँध्यारोमा मोबाइलको उज्यालोले बाटो ठम्याउँदै दाजुभाइ बाटो लाग्यौँ कमानेतिर । बाटोमै हामीबीच परिचय आदानप्रदान भयो । उहाँ पनि चितवनबाटै बडो दुःखका साथ भोट हाल्न आउनुभएको रहेछ । दिनभर कुर्दा गाडी नपाएपछि साँझपख हेटौँटा सिमेण्ट कारखानाको चुनढुङ्गा बोकेर चितवनबाट हिँडेको एउटा ट्रकमा प्रहरीलाई अनुरोध गर्न लगाएर पशुपतिनगर पुग्नुभएको
रहेछ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा गाडी चालक पेसा गरिरहेका नयाँ दाजुको नाम थियो कुमार नगरकोटी । सपरिवार उहाँको बसोबास चितवनकै रत्ननगरमा भए पनि मतदाता
सूचिमा नामचाहिँ पुरानो थलो
कमानेमा रहेछ । त्यसकारण उहाँलाई आफ्नो नाम खोज्दै जानुपरेको थियो, जसको आतिथ्यमा मैले पनि त्यस रात अर्को सुखानुभूति थप्ने नयाँ थलो भेट्टाएको थिएँ ।
आधा घण्टाभन्दा अलि बढी हिँडेपछि हामी कमाने पुगेछौँ । दाइले सडकबाट दायाँतर्फ अलि पर बलिरहेको बत्तीतर्फ देखाउँदै भन्नुभयो, ‘मेरो घरचाहिँ ऊ त्यहाँ पर्छ तर हामी आज बास बस्न अलि परको मेरो ससुरालीमा जान्छौँ ।’ दाइको ससुराली जाने कुराले ममा थप उत्सुकता जाग्यो । मलाई रातविरात गएर दुःख दिने पाहुना हुन मन लाग्दैन । बाटोमा पर्ने नागस्वती बजारमा पुगेपछि दाजुभाइ सल्लाह गरी तीन पोका चाउचाउ, अलिकति गोलभेँडा र भेँडे खुर्सानी किनेर अघि बढ्यौँ । गफिँदै र टहलिँदै जाँदा एकघण्टा बितेको पत्तै भएन । हामी रातको सवा आठ बजेतिर हेटौँडा नगरपालिका–८ को हरियालीटोल पुग्यौँ जहाँ दाइको ससुराली थियो । बन्द भइसकेको ढोका बाहिर उभिएर दाजुले ‘ममी’ भन्दै बोलाउनुभयो । टिनले छाएको चिटिक्कको घरभित्र हामी पस्यौँ । उज्यालो बत्तीमा आमाको हँसिलो अनुहारले हामीलाई स्वागत ग¥यो । त्यहाँ दिदी, बहिनी र एउटी सानी भाञ्जी पनि रहिछन् । आमा र दिदीवहिनी मिलेर सल्लाका गुइँठामा हामीलाई चाउचाउ पकाइदिनुभयो । म आमाको आफ्नै छोरोजस्तो हुन सकेछु । तात्तातो चाउचाउ खाइरहेका बेला आमाले भन्नुभयो, ‘बाबु, चाउचाउले मात्र हुँदैन, थोरै भात पनि खानुपर्छ ।’ आमाको मायालाई मैले सहर्ष
स्वीकारेँ । चाउचाउमाथि भात पनि थपेर खाएँ । आमा अझै खुल्नुभो, ‘आलु र गुन्द्रुकको तरकारी पनि छ ।’ त्यो पनि मागेर खाएँ । दाजुले चाहिँ थोरै चाउचाउ मात्र लिनुभयो । आगो तापेर निकैबेर कुराकानी गरी राति १० बजेतिर हामी सुत्यौँ ।
सुत्नुअघि आमाले आफ्ना दुःखका दिनहरू सम्झनुभयो । उहाँले छ वटी छोरीहरूलाई आमा र बुबा दुवैको माया दिइरहनुभएको रहेछ । बुबाको हिँड्दाहिँड्दै ह्ृदयघातबाट निधन भएको नौ वर्ष वितिसकेछ । एक मात्र छोरो सानैमा बेपत्ता भएर १८ वर्षपछि नागरिकता खोज्दै आइपुगेका थिए रे । छोराबुहारी नै आएर नागरिकता लिएर गएपछि एक वर्षयता उनीहरूले समेत माया मारेछन् । कसैलाई व्यथा बिरामी र आपद्विपत् पर्दा अघि सरेर सेवा गर्ने संस्कार आमाले परिवार र छरछिमेक सबैतिर छर्नु भएको रहेछ । त्यो परिवारलाई गाउँमा सबैले माया र सम्मान गर्दारहेछन् । आमाका छोरीहरूमध्येकी उमा घिमिरेसँग कारागारमा दुःख पाएका महिला र बालबालिकादेखि लिएर एचआईभी संक्रमित र बेचिएर फर्किएका दिदीबहिनीसम्मलाई देशका कुना कन्दरामा पुगेर सेवा गरेको अनुभव रहेछ । ती सबै मानवीय आभूषणहरूबाट विभूषित परिवारमा बास बस्न पाएकोमा मेरो छाती गर्वले फुलेल भयो । दिनभरको सुरुचिपूर्ण यात्रा र रातको अविष्मरणीय बिसौनीले मलाई यात्रा चुनाव जितेर विजय यात्रापछि ओछ्यानमा पल्टिएको उम्मेदवारलाई झैं विजयोन्मादमा पु¥याएको थियो । जीवन्त अनुभूतिहरूको पुनरावृत्तिले त्यति गहिरो निद्रा परेन । प्रहरैपिच्छेका ठूला–ठूला बम विष्फोट र त्यसपछि घर बाहिर सडकमा गुड्ने सुरक्षागस्तीका गाडीहरूको आवाजले पनि घरिघरि व्यँुझाइरहे । अन्तिम विष्फोटको आवाज विहान साढे चार बजे सुनियो ।
पाँच बजे उठेर हेर्दा आमा उठिसक्नु भएको रहेछ । राति पड्केका बमहरूबाट उहालाईँ कत्ति पनि विचलित बनाउन सकेका रहेनछन् । बरु उत्साहका साथ मसँगै गएका ज्वाइँलाई भोट हाल्न सिकाइ रहनुभएको थियो । चिया खाइपछि साढे ६ बजेतिर फेरि आउने वचनका साथ आमासँग बिदा मागेर म चुनाव हेर्ने चाहना पूरा गर्न मतदानस्थलतर्फ लागेँ । त्यसबेला सडकमा मतदाताहरूको ताँती लागिसकेको थियो । पर देखिने पूर्वको डाँडाबाट आधा निस्किएको कलिलो घामले पारिलो किरण छर्दै थियो, जसले रातभरको विष्फोटबाट उत्पन्न त्रासको बादललाई बाफ बनाएर उडाइसकेको थियो ।
Discussion about this post