काठमाडाँ । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एकीकृत नेकपा (माओवादी) सँग तत्काल पार्टी एकीकरणको सम्भावना नरहेको बताउनुभएको छ ।
एकीकृत नेकपा (माओवादी)बाट गत वर्ष अलग भई मोहन वैद्यको अध्यक्षतामा नेकपा–माओवादी पार्टीको जन्म भएको थियो । मङ्सिर ४ को संविधानसभामा भाग नलिएको नेकपा–माओवादीले निर्वाचनमा भाग लिई संविधानसभामा तेस्रो स्थानमा ओर्लेको एकीकृत नेकपा (माओवादी)सँग कार्यगत एकताको कुनै औचित्य नरहेको जानकारीसमेत दिएको छ ।
शनिबार आयोजित साक्षात्कारमा उपाध्यक्ष गजुरेलले भन्नुभयो–“निर्वाचनमा भाग लिने, मेची महाकाली अभियान सञ्चालन गर्ने, निर्वाचनका दिन ऐतिहासिक र युगान्तकारी मतदान सम्पन्न भो भनेर वक्तव्य निकाल्ने अनि मतगणना सुरु भएपछि मध्यरातमा निर्वाचन धाँधली भो भन्ने यो अवसरवादी चरित्र हो कि होइन ? भन्ने प्रश्न गर्नुभयो ।”
उहाँले बाटो बिराएर हिँडेका एनेकपा (माओवादी)ले संविधानसभा छाडेर आफ्नो पार्टीले उठाउँदै आएको गोलमेच सम्मेलनमा सहमति जनाएमा मात्र कार्यगत एकतामा सोच्न सक्ने बताउनुभयो ।
अहिलेको निर्वाचनबाट बन्ने संविधानसभाले संविधान बनाउन नसक्ने उपाध्यक्ष गजुरेलले दाबी गर्नुभयो ।
आफ्नो पार्टी नागरिक समाज हो र ? २६ सिट दिने ? भन्ने प्रश्न गर्दै उपाध्यक्ष गजुरेलले संविधानसभाबाटै संविधान जारी गर्ने हो भने सबै पार्टी बीचमा सहमति र सहकार्य आवश्यक भएको र यसका लागि आफ्नो पार्टी तयार रहेको उहाँले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले नेपाली जनताले पार्टीलाई दिएको जनादेशअनुसार एक वर्षभित्रमा संविधानसभाबाट संविधान जारी गर्न पार्टीले सबै दलसँग सहकार्य गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जनताले दललाई दिएको जनादेश संविधान बनाऊ भन्ने हो, राष्ट्रपति र उपराष्ट्रपति नयाँ बनाऊ भन्ने होइन, यस्ता कुरामा आफ्नो पार्टी अल्झिदैन ।’ नेता डा महतले नेकपा (एमाले)लगायत अन्य दलले आगामी सरकारको नेतृत्व नेकाले नै गरोस् भन्ने चाहना राखेकाले यसलाई ध्यानमा राखी संविधान जारी नभएसम्मको अवस्थामा आफ्नो पार्टीले सबै दललाई समेटेर सहमतिको सरकार निर्माण गर्ने जानकारी दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता परशुराम खापुङले राष्ट्रपति र उपराष्ट्रपतिलाई अहिले विवादमा तान्न नहुने बताउनुभयो । सद्भावना पार्टीका उपाध्यक्ष सञ्जय साहले निर्वाचनबाट आएको जनादेशलाई सबैले स्वीकार गर्नुपर्छ भन्नुभयो । रासस
Discussion about this post