स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको २३ औँ स्मृति दिवस देशभर विभिन्न सांगीतिक कार्यक्रम आयोजना गरी स्मरण गरिएको छ । वि.सं. १९९६ सालमा आमा रमादेवी र बाबु आशागोपाल गुरुवाचार्यको कोखबाट काठमाडौँको किलागलमा जन्मिएका नारायणगोपालको २०४७ साल मंसिर १९ गते निधन भएको थियो । नारायणगोपाल नेपालमा सबैभन्दा सफल आधुनिक गायक मानिन्छन् । उनको सुमधुर गीत–संगीतले लोकप्रियताको कीर्तिमान स्थापित गरेको छ । सांगीतिक वातावरणमा हुर्किएका नारायणगोपालले २०१७ सालमा रेडियो नेपालमा पहिलो पटक गीत रेकर्ड गराएका थिए । उनका ‘एउटा मान्छेको मायाले कति’, ‘मलाई नसोध कहाँ दुख्छ घाऊ’, ‘दुईटा फूल देउरालीमा’, ‘जुन फूल मैले चाहेको थिएँ’’, ‘प्रेयसीका यादहरु’, ‘मन्दिरमा छ कि मूर्तिमा माया’, ‘मलाई छोडी मेरो छाया’, एउटा मान्छेको मायाले’, पर्खी बसेँ आउला भनी’लगायतका सयौँ कालजयी गीतहरु जनजिब्रोमा झुन्डिरहेका छन् । गीतसंगीतका महारथी नारायणगोपाल बागिना पत्रिकाको सम्पादक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक एवम् सञ्चार मन्त्रालयका सल्लाहकारको भूमिका निर्वाह गरेर बहुआयामिक व्यक्तित्वको छाप छाडेका छन् ।
हृदयस्पर्शी स्वरका धनी नारायणगोपाल २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्तम संगीतकार पुरस्कार, २०२४ सालमा सर्वोत्तम गायक, २०३३ सालमा गोरखा दक्षिणबाहु चौथो, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०४० सालमा इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बा श्री, २०४७ सालमा उर्वसी रङ, २०४८ सालमा मरणोप्रान्त त्रिशक्तिपट्ट तेस्रोजस्ता दर्जनौँ पुरस्कारबाट सम्मानित भएका थिए । स्मृति दिवसमा महाराजगञ्जस्थित उनको सालिकमा श्रद्वापूर्वक माल्र्यापण गरिएको थियो । उनको सम्मानमा देशभर विभिन्न सांगीतिक कार्यक्रम आयोजना गरी स्मरण गरिएको थियो । जनस्तरबाट स्वरसम्राटको उपाधि पाएका उनकोे स्मृति दिवसमा नारायणगोपाल संगीत कोषले सम्मान तथा सम्झना कार्यक्रम आयोजना गरेर स्मरण गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँला, कोषका अध्यक्ष संगीतकार फत्तेमान राजभण्डारी, गीतकार कालीप्रसाद रिजाललगायतका स्रष्टाहरुले नारायणगोपालको सालिकमा माल्यापण गरेका थिए ।
नारायणगोपाल स्मृति दिवसकै अवसरमा उनका समवयी संगीतकार अम्बर गुरुङलाई नगदसहित ताम्रपत्रबाट सम्मान गरिएको थियो । नेपाल संगीत नाट्य प्रतिष्ठानका कुलपतिसमेत रहेका गुरुङले नारायणगोपालले गाएका दर्जनौँ कालजयी गीत रचना गर्नुका साथै स्वर र संगीतसमेत भरेका थिए । नारायणगोपालपछि गुरुङलाई सांगीतिक क्षेत्रमा सम्मान प्रकट गर्ने गरिएको छ । गुरुङलाई नारायणगोपालकै अर्को पाटोका रुपमा लिइन्छ । नारायणगोपालको स्मरणमा युवा गायकहरुले कन्सर्ट गरेर उनीप्रति श्रद्धा प्रकट गरे । कन्सर्टमा ‘अल्झेछ क्यारे पछ्यौरी’, ‘वीरताको चिनो’, ‘आजै र राति के देखेँ सपना’, ‘मैले पुण्य मन पराएँ’, ‘पोखिएर घामको झुल्का’, ‘म त लाली गुराँस भएछु’, ‘आँखा छोपी नरोऊ भनी’, ‘यस्तै गरी विताइदिन्छु’जस्ता गीत गुञ्जाएर नारायणगोपालको स्मरण गरेका थिए । नारायणगोपाल हामीसँग नरहे पनि उनले गाएका कालजयी गीत युगौँयुगसम्म बाँचिरहनेछ । उनका गीतहरुले संगीतका पारखीहरुलाई रुवाए पनि उनी सदा मुस्कुराइरहनेछन् । उनलाई लाखौँ श्रोताले स्मरण गरिरहनेछन् । नेपाली गीत–संगीतमा उनको अभाव सँधै खड्किरहनेछ । हामी श्रद्वेय गायक नारायणगोपालप्रति भावपूर्ण शव्दश्रद्धा अर्पण गर्दछौँ ।
Discussion about this post