धु्रवराज अधिकारी
अर्को संविधानसभा चुनावको परिणामअनुसार नेपाली कांग्रेस पहिलो पार्टी हुँदा देशभरका धेरै कांग्रेस कार्यकर्ताहरु उत्साहित भएका छन् । कांग्रेस कार्यकर्ताहरु उत्साहित हुनुको समान कारण हो, गुमेको साख फिर्ता । कांग्रेसलाई आप्mनो साख फिर्ता गराउन धेरै समय लागेन । ०६४ मा गुमेको साख ०७० मा फिर्ता भएको छ । नेपाली जनताले कांग्रेसलाई पुनः एक पटक विश्वास गरेका छन् । मतदानको अधिकार प्राप्त गरेका सबै व्यक्ति पार्टीका कार्यकर्ता मात्र होइनन् । मतदान गर्नेमा कार्यकर्ताभन्दा साधारण मानिस नै धेरै हुने गर्दछन् । साधारण मानिसको कांग्रेसप्रतिको अहिलेको विश्वासले एउटा नया“ सन्देश खोजेको प्रस्ट छ– ‘शान्ति र समयमै संविधान’ । आमनागरिकको आशा कांग्रेसबाट कति र कसरी सम्बोधन हुने हो, त्यो भने हेर्न बाँकी नै छ । आमनागरिकको त्यो चाहना पूरा गराउन कांग्रेसबाट विजयी सभासद् र केन्द्रीय तहको नेतृत्व कसरी लाग्नेछ, कांग्रेसप्रतिको उत्साह लामो समयसम्म टिकिरहने वा नरहने त्यसैमा भर पर्नेछ ।
कांग्रेसको सन्दर्भमा पद्धति र संस्कारभन्दा पनि व्यक्तिको प्रतिनिधित्वलाई बलियो रुपमा प्रस्तुत गर्ने जुन अभ्यास छ, अब त्यो अभ्यासलाई फेरिएन भने त्यसले कांग्रेसलाई फेरि पनि चुकाउने पक्का छ । कांग्रेसले चुनावको परिणामपछि ठूलो पार्टी बनेसँगै ठूलो र सानो पार्टीबीचको दायरा फराकिलो बनाउन आवश्यक छ । पार्टी ठूलो वा सानो हुनुको बीचमा गुणात्मकभन्दा पनि संख्यात्मक रुपले मात्र धेरै फरक पर्न गएकाले पार्टी ठूलो हुँदा पनि त्यति बलियो हुन नसक्ने कुरा कांग्रेस नेतृत्वले बेलैमा बुभ्mन आवश्यक छ ।
यता, हार्नेहरु परिणामपश्चात् हार स्वीकार गर्नभन्दा जितलाई बद्नाम गर्नपट्टि दौडिन थालेको देखिन्छ । पार्टीको सिद्धान्त, सोच र भावनाभन्दा पनि आ–आप्mनो स्वार्थलाई केन्द्रमा राखेर नेताहरुले परिस्थितिको व्याख्या र विश्लेषण गर्न थालिसकेका छन् । नेतृत्व तहका व्यक्तिहरुको यस्तो कमजोर प्रस्तुतिले लोकतन्त्रवादीलाई कमजोर बनाउने निश्चित छ । चुनावी परिणामलाई स्वाभाविक रुपमा लिन नसक्दा सिर्जना हुने अन्तरपाटी द्वन्द्वले राष्ट्रलाई कमजोर बनाउने सिवाय अरु केही हुन सक्दैन । पार्टी ठूलो वा सानो हुनुलाई स्वाभाविक रुपमा स्वीकार गरी सबै पार्टी एकताबद्ध रुपमा अगाडि बढ्नुपर्ने अवस्थाको सिर्जना भएको छ । यसो गराउन सक्नु र नसक्नुमा ठूलो पार्टीको हैसियतले कांग्रेसको भूमिका मुख्य रहन्छ । अब पनि सरकारको नेतृत्व तहमा को स्थापित हुने भन्ने लडाइँ नै अन्तरपार्टी विवादको मुख्य कारण बनाउने हो भने दलका यिनै नेताबाट संविधान निर्माणको आशा राख्नु व्यर्थ हुनेछ । अब पनि समयमै संविधान बन्न सकेन भने नेपालमा दलहरु असफल सिद्ध हुनेछन् ।
इतिहास साक्षी छ, जहाँ पार्टी–पार्टीबीच विवाद र झगडा भए, त्यहाँ राष्ट्र र राष्ट्रियता सधैँ तीव्र गतिमा कमजोर बनिरहे । पार्टी–पार्टीमा संविधान निर्माणको विषयमा फरक–फरक मत हुन सक्छन्, तर त्यसलाई पनि सहमतिबाट टुंग्याउन आवश्यक छ । एक–अर्को पार्टीको पक्ष र विपक्षमा होइन, अब गणतन्त्रलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा सबै पार्टी केन्द्रित हुन आवश्यक देखिएको छ । राष्ट्रियता र लोकतन्त्रका सन्दर्भमा कांग्रेस सधैँ अगाडि देखिए पनि आन्तरिक कलह, आपसी मनमुटाव र झै–झगडाबाट कांग्रेसले आफूलाई मुक्त राख्न सकेको देखिँदैन, जसको छाया प्रभाव संविधानसभामा पनि देखिने पक्का छ । त्यसैले, कांग्रेस नेतृत्व यी कुराहरुबाट अलग रहनु पहिलो आवश्यकता हो ।
दोस्रो संविधानसभाको चुनावमा कांग्रेसका उम्मेदवारको हारजितको टुंगो त जनताले सजिलै लगाइदिए, तर अब पार्टीभित्रकै गुटबीच रहेको तिक्तताको टुंगो भने त्यति सजिलैसँग लाग्ने देखिँदैन । कांग्रेस, एमाले र एमाओवादीलगायतका पार्टी कुन, कति ठूला हुन् भन्ने टुंगो लागिसकेको छ । संविधानसभाको दोस्रो चुनावमार्फत जनताले कांग्रेसलाई ठूलो पार्टी बनाउन खोजेको सत्यलाई सबै पक्षले स्वीकार गर्न सक्नुपर्दछ । तर, अझसम्म पनि माओवादी र केही मधेसवादी दलका नेता÷कार्यकर्तामा यस खालको सोच आएको जस्तो देखिँदैन । संविधानसभाबाट संविधान जारी हुनुअघि नै सबै पार्टीभित्रका विवाद र बेमेललाई अन्त्य गरी देश र जनतामा नयाँ प्राण भर्न सक्नुपर्दछ । यो अहिलेको समयकोे पनि माग हो र कांग्रेसलाई जनताले सुम्पेको जिम्मेवारी पनि हो ।
दोस्रो संविधानसभा चुनावको परिणामपछिको वातावरणले एउटा आकार लिइसकेको छ । पार्टीहरु आन्तरिक रुपले एक हुन नसके त्यसको क्षति कांग्रेसले मात्र होइन, राष्ट्रले नै व्यहोर्नु पर्ने निश्चित छ । कुरो कति मात्र हो भने ठूलो पार्टीको हैसियतले अरु पार्टीले दोष कांग्रेसको भागमा थुपार्न उद्यत देखिने छन् भने कांग्रेसले अन्यत्र दोष थुपार्ने ठाउँ पाउने छैन । त्यसैले, अरु पार्टीभन्दा कांग्रेस बढी जिम्मेवार पार्टीका रुपमा प्रस्तुत हुन आवश्यक छ । कांग्रेसले अब आजकै मितिबाट सोच्नुपर्ने बेला आइसकेको छ । राष्ट्रलाई व्यवस्थित र संगठित तरिकाले कानुनी राज्यमा परिणत गर्ने हो वा लथालिङ्ग र गरिब राष्ट्र बनाउने हो ? यो राष्ट्रका लागि कांग्रेसको आवश्यकता किन परेको हो ? राष्ट्रलाई सक्षम र विकसित राष्ट्र बनाउन या लथालिङ्ग र गरिब राष्ट्र बनाउन ? अब कांग्रेस नेतृत्वले सोच्ने बेला आइसकेको छ ।
जनताको दुःख, पीडा र कष्टपूर्ण भोगाइले सरकारको नेतृत्व गर्ने नेताको ध्यानाकर्षण गराउन कहिल्यै सकेन । पार्टीका अधिकांश नेताको ध्यान कुन पार्टीलाई कहाँ सहयोग गर्दा आफू कहाँ पुगिन्छ भन्नेमा केन्द्रित रह्यो । सही पात्र र प्रवृत्ति भएका नेता र पार्टीलाई भन्दा पनि कसलाई, कहाँ सहयोग गर्दा आफू कतापट्टि पुग्छु भन्नेमा नै नेताहरुको ध्यान केन्द्रित हुने गरेको छ । अब पनि यही प्रवृत्ति र यस्तै सोचाइबाट चलिरहने हो भने कुनै दिन नेपालका अहिलेका पार्टीहरु इतिहासका पानामा सीमित हुनबाट समेत कसैले रोक्न सक्दैन ।
अन्तरपार्टी विवादलाई समेत नेताहरुले बहस र छलफलबाटै टुंग्याएर जान सकेमा जनताले समयमै संविधान पाउन सक्नेछन् । यहाँ फरक पार्टीका फरक–फरक नेताका व्यक्तिगत स्वार्थले काम गरिरहेको छ । अहिले संविधानसभाको निर्वाचन बहिष्कार गरेर विवाद गरिरहेका पक्षहरु पनि मिलेर जान नसक्ने बिन्दुमा पुगिसकेका भने छैनन् । व्यक्तिगत स्वार्थ शिरमा र पार्टी सिद्धान्त तथा सोच पाउमा राख्ने नेताको आचरणले गर्दा यस्ता विवादहरु आइरहन्छन् र यो एउटा नटुंगिने श्रृंखला बनिरहन्छ । हार वा जित जेसुकै होस्, परिणामलाई सहज रुपमा स्वीकार गर्न नसक्ने र संविधानमा आफ्नो प्रभाव कसरी कायम राख्ने भन्नेमात्र सोच्ने हो भने संविधानसभाको शान्तिपूर्ण रुपमा सम्पन्न दोस्रो चुनावको पनि केही औचित्य रहँदैन । कार्यकर्ताले भोट दिएर जिताउने नेताहरु आपसमा बाझिएर फेरि पनि यस्तै अवस्था आउने हो भने कहिलेसम्म चुनाव गर्दै अनि संविधानसभा भंग गर्दै जाने ? सानो बनेका पार्टीका नेताहरु वा हार्नेहरु निहुँ खोज्दै हिँड्ने र ठूलो पार्टी बनेका दलका नेताहरुले अधिनायकवादी चरित्र देखाउँदै हिँड्ने हो भने दोस्रोे पटक गरिएको संविधानसभाको चुनावको पनि खासै अर्थ रहँदैन । यदि त्यसो होइन भने संविधानसभाबाट संविधान जारी हुनुअगावै सबै पार्टीको नेतृत्व तहमा एक खालको सहमति भएपछि मात्र संविधानसभाबाट संविधान जारी गर्नु उत्तम हुन्छ । जनताले दिएको ताजा जनादेश पनि यही नै हो र यसको नेतृत्व गर्ने जिम्मा नेपाली जनताले कांग्रेसलाई नै सुम्पेका छन् ।
(अध्यक्ष, माडी अध्ययन प्रतिष्ठान)
Discussion about this post