बसन्त पराजुली
भरतपुर । भरतपुरकी चन्द्रा आचार्य एचआईभी संक्रमित हुन् । प्रेम विवाह गरेकी चन्द्रा आफूलाई श्रीमानबाट नै एचआईभी संक्रमण भएको बताउँछिन् । प्यारलाइसिसबाट पीडित श्रीमान्को रेखदेख उपचारमा संलग्न चन्द्रा आफूलाई एचआईभी संक्रमण भएकै कारण परिवारका अन्य सदस्यहरुले घरमा समेत बस्न नदिएको गुनासो गर्छिन् ।
‘श्रीमान प्यारलाइसिस हुनुुहुन्छ । उहाँको रेखदेखमा र उपचारमा मलाई निक्कै कठिन छ’, भरतपुर नगर क्षेत्रभित्रै घर भएर पनि आफू कोठामा बस्नुपरेको पीडा सुनाउँदै उनले भनिन्, ‘घरमा आउँछौ भनेर सासू ससुरालाई भनेको घरमा नआओ कोठा छैनन् भन्छन् ।’
‘यतिसम्मकी घरमा आए विष हालेर मार्ने समेत भने’, उनले गहभरि आँसु बनाउँदै भनिन्, ‘हामी घरमा गएर बसेम् भने देवर नन्दको विवाह हुँदैन रे’ । एचआईभी संक्रमणको पीडा एकातिर हँुदा हँुदै पारिवारिक हिंसाले चन्द्रालाई थप पीडा दिएको छ ।
यसरी घरभित्र हुने हिंसाबाट पीडित महिलाहरुको संख्या पछिल्लो समय बढेर गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी सेलमा रहेको तथ्याङ्कअनुसार पनि साढे दुई वर्ष यता भएका एक हजार ४३१ उजुरीमध्ये ३८० घरेलु हिंसाका छन् ।
‘घरेलु हिंसा समस्याका रूपमा धेरै नै बढेको छ’, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सञ्जय राउतले थपे, ‘हिंसा पीडित महिलाहरुलाई हामी सकेसम्म राहत र कानुनी सेवा दिनका लागि प्रहरी लागि रहेको छ ।’ माडीकी भीमा जिसी अहिले आदर्श गृहमा बस्छिन् । घर परिवारबाट निकाला भएकी उनले आफ्नै श्रीमान् र ससुराका विरूद्धमा अदालतमा मुद्दा दिएर अंश लिनुपर्ने अवस्था आयो ।
‘मैले त मुद्दा लडेर न्याय पाएँ’, आफूजस्तै परिवारभित्रको हिंसामा परेकालाई न्यायका लागि अदालतको ढोका ढकढकाउन आग्रह गर्दै उनले भनिन्, ‘हामी पीडित महिलाहरुले न्यायको खोजी गरियो भने न्याय पाइँदो रहेछ ।’ तर कतिपय ग्रामीणस्तरमा रहेर हिंसामा परेका महिलाहरु कानुनी दायरामा समेत आउन नसकेका उदाहरणहरु प्रशस्त भेटिन्छन् । ‘त्यै घरमा बस्नुपर्छ । तिनै परिवारसँग रहनुपर्छ’, घरेलु हिंसा पीडितहरुले कानुनी प्रकृयासम्म आउन नसक्नुका कारण खोल्दै अधिवक्ता फूलमाया रानाभाटले भनिन्, ‘कतिपय महिलाहरुलाई त घरेलु हिंसाबाट पीडित भयो भन्ने कानुनी उपचार छ भन्ने पनि थाहा छैन ।’ आफ्नै श्रीमान् तथा सासू ससुराका विरूद्धमा कानुनी उपचार खोज्नुपर्दा उनीहरु झनै घरबाटै निकालिनु पर्ने अवस्थाले पनि समस्या आएको उहाँको बुझाइ छ ।
‘कमसेकम सरकारले नै यस्ता पीडित महिलाको उद्धारका लागि आश्रमहरु बनाउने र उनीहरुलाई आयआर्जनको व्यवस्था मिलाउने हो भने मात्रै पनि घरेलु हिंसाका पीडितहरु अझै कानुनी उपचार खोज्न आउने क्रम बढ्ने थियो’, अधिवक्ता रानाभाटले भनिन् ।
कुटपिट, यातना, गालीगलौज, खान लाउन नदिनु, हेला गर्नु, घरबाट निकालिनु आदि घरेलु हिंसाका रूप हुन् । घरेलु हिंसामा परेका महिलाहरुको उद्धारमा सक्रिय आर्दश गृहकी अध्यक्ष मिना खरेल हिंसा पीडित महिलाहरुको अधिकार रक्षाका लागि जुट्नुपर्ने बेला आएको बताउँछिन् ।
‘हिंसा पीडित महिलाहरुको उद्धार र कानुनी प्रकृयामा सरकारी संयन्त्रको सहभागिता निक्कै कम भयो’, उनले भनिन्, ‘घरेलु हिंसा नियन्त्रण गर्ने हो भने घर भित्रैबाट सचेतना कार्यक्रम सञ्चालन गर्नु जरूरी छ ।’
त्यस्तै, महिला हिंसाका उजुरी परे पनि सुनुवाई नभएको हिंसामा परेका पीडितहरुले बताएका छन् । सिनर्जी एफएमको साप्ताहिक कार्यक्रम जनबहसमा उनीहरुले हिंसा पीडित महिलाहरुको कुरा सुन्ने निकायहरु धेरै भए पनि न्याय पाउन नसकेको गुनासो समेत गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सञ्जय राउतले पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरे त्यसको तुरून्त छानविन गरी कारवाही प्रकृया अगाडि बढाइने बताउनु भयो । त्यस्तै कार्यक्रममा महिला अधिकार कर्मि अधिवक्त्ता फुलमाया रानाभाट, महिला अधिकारकर्मी मिना खरेल, महिला तथा बालबालबालिका कार्यालय चितवनकी पार्वती पौडेललगायतले बोलेका थिए ।
Discussion about this post