भरतपुर । दुर्लभ वन्यजन्तु रहेको चितवन निकुञ्जमा निकुञ्ज प्रशासन र नेपाली सेनामात्रै उनीहरुको रेखदेखमा खट्दैनन् । निकुञ्ज वरपरका एक हजार युवा पनि यो काममा सरिक भएका छन् । सरकारी गैरसरकारी क्षेत्रबाट कुनै तलब नपाउने यी युवाहरु स्वयमसेवकको रूपमा जनावर जोगाउन सक्रिय रहेका छन् ।
मध्यवर्ती क्षेत्रमा गठित चोरीसिकारी नियन्त्रण युवा जागरण अभियानमा आवद्ध भएका उनीहरु तस्करको धम्की र जनावरबाट हुने आक्रमणको वास्ता नगरी काममा बेसरी खटिएका छन् । उनीहरुलाई थप सक्रिय बनाउन बिहीबार भरतपुरमा गोष्ठीसमेत सम्पन्न भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको अमलटारी मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत रहेका नवलपरासीका युवाहरुले विसं. २०६० सालको मंसिरमा समिति गठन गरेका हुन् । अहिले चितवन निकुञ्जका २२ वटा मध्यवर्ती उपभोक्ता समितिमा युवाहरुको स्वयसेवी टोली छ ।
‘अहिले एक हजार युवा यो काममा खटिएका छन्’ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती व्यवस्थापन समिति सुरक्षा उपसमितिका संयोजक बासु चापागार्इंले जानकारी दिए । अमलटारीमा सुरू भएको यो अभियान अहिले पर्सा र बर्दियामा पनि पुगेको छ ।
‘अहिले चितवनमा केही सुस्ताएको जस्तो छ । बर्दियामा त सक्रियता ज्यादै बढेको छ । चितवनमा पनि सक्रियता बढाउन हामीले आज समन्वय बैठक आह्वान गरेको हो’ बैठक आयोजक विश्व वन्यजन्तु कोष तराई भूपरिधी कार्यक्रम (ताल) का परियोजना सहव्यवस्थापक अब्दुल अन्सारीले भने ।
मध्यवर्तीको सुरक्षा उपसमितिका संयोजक चापागाईं सरकार र अन्य गैरसरकारी संस्थाबाट कुनै तलब र सुविधा नपाएका युवाहरुलाई मध्यवर्तीले पनि पर्याप्त मात्रामा सहयोग गर्न नसकेको बताए । अभावका बाबजुद पनि युवाहरु चोरी सिकार नियन्त्रणमा प्रभावकारी रुपमा लागेको उनले बताए ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले युवा सञ्जालमा आवद्ध युवाहरुले गर्ने काम उदाहरणीय भएको बताए । चोरी सिकार रहित जिल्ला बनाउने उद्देश्यले गठित अभियानले प्रभावकारी काम गरेको बताए ।
‘संरक्षणमा संकट आउँदा स्थानीय युवाले ठूलो सहयोग गरेका छन् । जंगली जनावरका कारण स्थानीयहरु संरक्षणप्रति नकारात्मक धारणा राख्दा समेत युवाहरुले संरक्षणको पाटोलाई समाएर सम्झाउने बुझाउने काम गरेका छन्’ कुँवरले भने ।
जंगली जनावरको संरक्षण पर्यटक आकर्षित गर्ने आर्थिक पाटोसँग मात्रै नजोडिएको प्रमुख संरक्षण अधिकृत कुँवरले बताए । संरक्षणका कारण मानवीय जीवनमा परेको सकारात्मक पाटोलाई युवाहरुले समाजमा फैलाउन सक्नु पर्ने उनले बताए ।
‘चितवन राष्ट्रिय निकुञ्ज भएको जंगल चुरे पहाडको क्षेत्र हो । निकुञ्जका कारण यहाँको जंगल जोगिएको छ । निकुञ्ज नहुनाले पूर्वतराईको चुरेको कस्तो दुर्दशा छ । त्यसैले गैंडा, बाघ र हात्ती बस्ने निकुञ्जले मान्छेलाई पनि त जोगाएको छ नि’ कुँवरले भने ।
चितवन निकुञ्ज नभएको भए नवलपरासीको पूर्वीक्षेत्र र माडी बगरमा परिणत हुने उनले बताए । ‘निकुञ्जका कारण जंगल जोगियो । चुरे जोगियो । यहाँ गैंडा, बाघ हात्ती रमाए । गैंडा बाघ नपाइने पूर्वीतराईको चुरे कस्तो उजाड छ । निकुञ्जले हामीलाई गरेको फाइदा यही हो’ कुँवरले भने ।
युवा जागरण अभियानका संस्थापक नवलपरासीका विष्णु अधिकारीले तस्करको बोलबाला भएको बेलामा आफूहरु संगठित भएको बताए । उनले भने ‘लौ, गैंडा जोगाउन भनेर हिँडेका छौं तिमीहरु नै जोगिन्छौ कि जोगिदैनौँ भनेर तर्साउँथे हामीलाई तर पनि हामी विचलित भएनौँ ।’
कुनै बेला चोरी सिकारले ग्रस्त नवलपरासीको अमलटारी क्षेत्रमा तीन वर्षयता चोरी सिकारका कारण कुनै गैंडा नमरेको उनले बताए । तर आफूहरुले गरेको योगदानको भने निकुञ्ज प्रशासन र अन्य निकायले त्यत्ति धेरै वास्ता नगरेको भन्दै अधिकारीले दुःख व्यक्त गरे ।
Discussion about this post