भरतपुर । चितवनमा मौरीपालक कृषकको सङ्ख्या घट्दै गएको छ । नेपाल मौरीपालक महासङ्घ चितवनको तथ्याङ्कअनुसार अहिले चितवनमा २५० जना व्यावसायिक मौरीपालक कृषक रहेका छन् । २०६३ सालमा यसको सङ्ख्या ४५० रहेको थियो ।
व्यावसायिक मौरीपालक कृषकको सङ्ख्या घट्दै गएपछि महको मागअनुसार उत्पादन गर्न नसकिएको नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष धु्रवतारा लामिछानेले बताउनुभयो । चितवनमा यस वर्ष ५०० मेट्रिक टन मह उत्पादन गर्ने महासङ्घले लक्ष्य लिएको छ । विगतका वर्षहरूमा चितवनमा ८५० मेट्रिक टनको हाराहारीमा मह उत्पादन हँुदै आएको थियो ।
कृषकले उत्पादन गरेको महलाई प्रशोधन गरेर बजारसम्म पु¥याउन नसक्दा सस्तो मूल्यमा नै व्यापारीलाई मह बिक्री गर्नुपर्ने अवस्था रहेको महासङ्घका केन्द्रीय सदस्य वासु ढकालले बताउनुभयो ।
चितवनमा सातवटा सहकारी संस्थाले पनि व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् । सूर्यमुखी मौरीपालन सहकारी संस्था चैनपुर, मिलीजुली मौरीपालन सहकारी संस्था पदमपुर, नमुना मौरीपालन सहकारी संस्था पिठुवा, हिमाल मौरीपालन सहकारी संस्था पिठुवा, प्रगतिशील मौरीपालन सहकारी संस्था शुक्रनगर, कालाबञ्जार मौरीपालन सहकारी संस्था दिव्यनगर र सिर्जनशील मौरीपालन सहकारी संस्था शुक्रनगरले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् ।
मौरीलाई चरन गर्ने ठाउँको अभाव, फलफूल तथा खेतबारीमा विषादीको प्रयोग बढी हुनु र मौरीलाई चरन गर्न बाहिरी जिल्लामा लैजाँदा ढुवानी खर्च बढी हुनुले पनि मौरीपालनतर्फ कृषक आकर्षित हुन सकेका छैनन् । चितवनमा शक्तिखोर, चैनपुर, पदमपुर, जुटपानी, मेघौली र दिव्यनगर गाविसमा बढी मात्रामा मौरीपालन हँुदै आएको छ ।
Discussion about this post