रत्ननगर । शान्तिको लागि शिक्षा भन्ने अभियान लिएर नेपालको लोकप्रिय व्यान्ड नेपथ्यले गर्न लागेको संगीत यात्रा आज शुक्रबारदेखि रत्ननगरबाट सुरू हँुदैछ । देशका ११ वटा सहरमा गर्न लागिएको सांगीतिक कार्यक्रम अन्तर्गत पहिलो श्रंखला रत्ननगरबाट सुरू हुन लागेको हो । रत्ननगरको नारायणी चलचित्र मन्दिरमा हुने कार्यक्रमको स्थानीय आयोजक रोटरी क्लब अफ रत्ननगर, रोट्रयाक्ट क्लब अफ रत्ननगर, रत्ननगर उद्योग वाणिज्य र रत्ननगर नगरपालिका रहेका छन् ।
रत्ननगर–१३ जयमंगलामा रहेको पञ्चकन्या उच्च माविको विज्ञान प्रयोगशाला निर्माणको लागि सहयोगार्थ गर्न लगिएको सो कार्यक्रम आज शुक्रबार ३ बजेबाट सुरू हुने रोटरी क्लब अफ रत्ननगरका सदस्य केदार आचार्यले जानकारी दिनुभयो । कार्यक्रमका लागि १ हजार ५०० र ३०० मूल्यका टिकट गरी ६०० टिकट बिक्री भएको कार्यक्रम संयोजक तथा रोटरी क्लब अफ रत्ननगरको निवर्तमान अध्यक्ष डाक्टर विजयराज न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रमबाट ४ लाख १० हजार संकलन गर्ने र खर्च कटाएर बाँकी रहेको दुई लाखभन्दा बढी रकम विद्यालयलाई हस्तान्तरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । कार्यक्रममा असहाय, अपाङ्ग, दलित पिछडिएका तथा आदीवासीलगायतका २६ जना सरकारी विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क हेर्नका लागि व्यवस्था मिलाइएको रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष बुद्धराम जोशीले बताउनुभयो ।
नेपथ्य व्याण्डले रत्ननगर पछि छुट्टाछुट्टै मितिमा मोरङ, झापा, सर्लाही, कपिलबस्तु, बर्दिया, दाङ, तनहुँ, म्याग्दी, कास्की र काडमाडौमा सांगीतिक कार्यक्रम गर्दैछ । कार्यक्रमको लागि व्यान्डका अमृत गुरुङलगायतको ४८ जनाको टोली बिहीबारै रत्ननगर आइपुगेको छ ।
Discussion about this post