भरतपुर । डेङ्गु रोगका बिरामीको सङ्ख्या दिनानुदिन बढिरहेका बेला चितवनमा रोग परीक्षण गर्ने किटको अभाव भएपछि समस्या उत्पन्न भएको छ ।
डेङ्गु रोगको परीक्षण गर्दै आएको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा किटको अभाव देखिएको हो । विगत एक सातादेखि किट सकिँदा डेङ्गु परीक्षणको काम रोकिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिनुभयो ।
चितवनमा अहिलेसम्म एक हजार ६९१ जनाको रगत परीक्षण गरिएकामा ३१२ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको केसीले बताउनुभयो । डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका कार्यकारी निर्देशकसहितको टोलीले चितवनको वस्तुस्थितिबारे अनुगमन गरेको थियो ।
किटका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पत्राचार गरिएको केसीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको साउनमा ७, भदौमा २०, असोजमा ५२, कात्तिकमा १७० र मङ्सिर १६ गतेसम्म ६३ जनामा डेङ्गु भेटिएको छ । गत आर्थिक वर्षमा ९४६ जनाको रगत परीक्षण गरिएकामा ५२ जनामा मात्र डेङ्गुको सङ्क्रमण भेटिएको थियो ।
प्रत्येक तीन÷तीन वर्षमा डेङ्गुले महामारीको रुप लिने र यस वर्ष मौसम पनि डेङ्गुको प्रकोपका लागि अनुकूल भएकाले महामारीका रूपमा फैलिएको केसीले बताउनुभयो । यसअघि सन् २०१० मा पनि चितवनमा डेङ्गुले महामारीको रुप लिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । रासस
Discussion about this post