जुटपानी । गत बिहीबार राति आगलागी भएका दुई घर परिवारको बिचल्ली भएको छ । आगोलागीबाट पूर्णरुपमा घर नष्ट भएपछि तत्काल अर्को घर बनाउन नसकेर उनीहरुको विचल्ली भएको हो । जुटपानी–३ का शोभा पोखरेल र गोपीनाथ भट्टराईको घरमा आगलागी भएको थियो ।
घरविहीन भएर आश्रम र महिला समूहको घरमा बस्दै आएका अग्निपीडित परिवारहरुले सहयोगका लागि अपिल गरेका छन् । पोखरेल परिवार नजिकैको महिला समूहको घरमा र भट्टराई परिवार आत्मज्ञान प्रचार संघको कार्यालयमा आश्रय लिएर बसेका छन् ।
आफन्त तथा छरछिमेकीहरुले लत्ता कपडा, खानेकुरा र भाँडावर्तन सहयोग गरेका भए पनि दीर्घकालीन नभएको भन्दै उनीहरुले सरकारी निकाय तथा सरोकारवाला संघसंस्थासँग घर निर्माण र दैनिक गुजारा चलाउने सामग्री सहयोगको पहल गरिदिन आग्रह गरेका छन् । ‘लत्ताकपडा, खानेकुरा र भाँडावर्तन सहयोग आएको छ’, पीडित शोभा पोखरेलले भन्नुभयो, ‘घर बनाउन काठ र इट्टाको व्यवस्था सरकारी निकायले गरिदिनु प¥यो ।’
अर्को घर बनाउने आफ्नो सामर्थ नरहेको भन्दै उहाँले सहयोग जुटाउनुको विकल्प नरहेको बताउनुभयो । आगलागीबाट पोखरेलको घर नष्ट हुँदा १६ लाख ८६ हजार बराबरको क्षति भएको थियो ।
पोखरेलको घरबाट सुरू भएको आगोले छिमेकी गोपीनाथ भट्टराईको पनि घर पूर्णरुपमा जलेर नष्ट हुँदा १९ लाख रूपैयाँ बराबरको क्षति भएको पीडित परिवारले जनाएका छन् । विपत् व्यवस्थापन कार्यक्रमअन्र्तगत सरकारीस्तरबाट आउने सहयोग नआएको गुनासो गर्दै पीडित भट्टराईले स्थानीयको सहयोगले सान्त्वना मिलेको बताउनुभयो ।
आगलागीपछि आत्मज्ञान प्रचार संघको कार्यालयमा बस्दै आएका भट्टराईले खाना र लत्ताकपडाका लागि दुःख नभएको तर पहिलेकै ठाउँमा अर्को घर बनाउन समस्या रहेको गुनासो गर्नुभयो ।
Discussion about this post