एम. के. ज्वाला
आज नोभेम्बर ३, अर्थात् अन्तर्राष्ट्रिय अपाङ्ग दिवस । ‘अवरोधहरु हटाउँदै सबैका लागि समावेशी समाजको मार्ग खुला गरौँ’ भन्ने मूल नाराका साथ आज २२औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस देशभर मनाइँदै छ । अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय संगठन राष्ट्रिय अपाङ्ग महासंघले यस दिवसको नेतृत्व गर्दछ ।
नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको यकिन तथ्याङ्क कति छ भनेर नेपाल सरकारलाई पनि अवगत छैन । तर, वि.सं. २०६८ सालमा भएको जनगणनाले अपाङ्गता भएका व्यक्तिहरु कुल जनसंख्याको तीन प्रतिशत रहेको बताइएको छ । यद्यपि, अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा कार्यरत संघसंस्थाहरु तीन प्रतिशतको कुरा मान्न तयार देखिँदैनन् । अपाङ्गता भएका व्यक्तिहरुको ठोस आँकडा सरकारी निकायसँग नहुँदा उनीहरुको समग्र विकासका लागि गरिने लगानी एकातिर व्यर्थ हुने देखिन्छ भने अर्कोतिर उनीहरुको विकासका लागि अन्तर्राष्ट्रिय समुदायले गर्ने लगानी फिर्ता हुने देखिन्छ । नेपालमा कुल जनसंख्याको ८ देखि १३ प्रतिशत अपाङ्गता भएका व्यक्ति रहेको यस क्षेत्रमा कार्यरत संघसंस्थाको दाबी छ ।
अपाङ्गता भएका व्यक्तिहरुको महोत्सव रहेको अन्तर्राष्ट्रिय अपाङ्ग दिवस अधिकारका बारेमा सूचित हुने नयाँ मौका पनि हो भने अधिकार प्राप्तिको नयाँ मार्गदिशा तय गर्ने अचूक अवसर पनि हो । अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा क्रियाशील संघसंस्थाको पहलमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्राप्तिका लागि मनग्य नीति तथा कानुन निर्माणमा सघाउ पुगेको छ । जसअनुसार अपाङ्गता संरक्षण तथा कल्याण नियमावली २०३९, २०५१, विशेष शिक्षा नीति २०५३, अपाङ्गतासम्बन्धी विशेष कार्यविधि २०६३ र २०६७ ले अपाङ्गता भएका व्यक्तिको अधिकार स्थापित हुने नयाँ गोरेटो कोरिदिएको छ । यसका साथै संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय महासन्धि UNCRPD सन् २००६ मा प्रोटोकल र सन् २००८ मा नेपाल सरकारको तत्कालीन संसद्बाट पारित गरियो । यो नै अपाङ्गता अधिकारको क्षेत्रमा ठूलो उपलब्धि र बृहत् अधिकार प्राप्त गर्ने कोशेढुंगा सावित भएको छ । हाल यस अन्तर्राष्ट्रिय महासन्धिको घरेलुकरणको कार्य केन्द्रमा रहेको राष्ट्रिय अपाङ्ग महासंघ र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको पहलमा भइरहेको छ ।
यद्यपि, अधिकारको कुरा गर्दै गर्दा अधिकार प्राप्तिका लागि व्यावहारिक कार्यान्वयनमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुग्न सकेको छैन । भवन निर्माण आचारसंहिता २०६० को भवन कोड ००२ मा उल्लेख भएअनुसार सार्वजनिक भवनहरु अपाङ्गमैत्री बन्न सकेका छैनन् । जसका कारण खुट्टाको समस्या, ह्वीलचियर प्रयोगकर्तालगायत अन्य गम्भीर किसिमका अपाङ्गता भएका व्यक्तिहरुको सरकारी निकायमा पहुँच छैन भने सबलाङ्ग भएका व्यक्ति वा अपाङ्गता भएका व्यक्तिका अभिभावकहरुले उनीहरुको पहुँचको पहलमा निरूत्साह देखाएका छन्, जसले गर्दा अपाङ्गता भएका व्यक्तिहरु सार्वजनिक पहुँचबाट वञ्चित भएका छन् ।
चितवन पनि नेपालको अपाङ्गता आन्दोलनको उर्वर र प्रमुख संघर्ष–भूमि हो, जहाँ वि.सं. २०५० सालमा नै अपाङ्ग समाज चितवनको स्थापना भएको थियो । केन्द्रमा स्थापित राष्ट्रिय अपाङ्ग महासंघभन्दा २ महिनापछि चितवनको अपाङ्ग समाज दर्ता भएको हो । पटकपटक मध्यमाञ्चल क्षेत्रीय कार्यालय राख्ने मौका पनि यस संस्थाले पाएको छ । यसबाट विभिन्न सीपहरु सिकेर हजारौँ अपाङ्गता भएका व्यक्तिहरु पूर्ण रुपमा सीप सिकी पुनस्र्थापित भइसकेका छन् भने कतिपय अपाङ्गता भएका व्यक्ति स्वास्थ्य, शिक्षा, सञ्चारलगायत सरकारी सेवामा प्रवेश गर्ने सुवर्ण मौका पनि चितवनको अपाङ्गता आन्दोलनले प्रदान गरेको छ ।
चितवनमा हाल क्रियाशील अपाङ्गता क्षेत्रका संस्थाहरुको नाम लिनुपर्दा अपाङ्ग समाज चितवन, नेत्रहीन संघ, चितवन बहिरा संघ, सुस्त मनःस्थिति कल्याण केन्द्र, बौद्धिक अपाङ्ग अभिभावक संघ, सुषुम्ना नाडी घाइते मैत्रीय समाज, अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रको सी.आर.सी. परियोजना र आशा बालविकास केन्द्र प्रमुख रहेका छन् । चितवनमा भएको गत २०६८÷६९ को अपाङ्गता गणनाअनुसार चितवनमा करिब १४ हजार अपाङ्गता भएका व्यक्तिहरु रहेको पाइन्छ । यसबीचमा चितवनका ३६ वटा गाविस र भरतपुर नगरपालिकाको १४ वटा वडामा अपाङ्गता उत्थान समन्वय समिति गठन गरी उनीहरुमार्फत वडा र गाविसको बजेट अपाङ्गता क्षेत्रमा परिचालन गर्ने कार्यको थालनी भइसकेको छ भने विभिन्न समयमा माथि उल्लेखित संस्थाहरुले सदरमुकाम र गाविसहरुमा अधिकारसम्बन्धी जनचेतनामूलक कार्यक्रम, अपाङ्गता परीक्षण घुम्ती स्वास्थ्य शिविर, सीपमूलक तालिम, परियोजना प्रस्ताव लेखन तालिम, विशेष ओलम्पिक, नेतृत्व विकास तालिम, रोजगारका लागि पहल गर्नेलगायत विभिन्न कार्यहरु गरिरहेका छन् ।
यसका साथै स्वास्थ्यमा निःशुल्क, शिक्षामा छात्रवृत्ति, यातायातमा ५०५ छूट, सार्वजनिक एवम् सरकारी निकायको कम्तीमा पहिलो तला अपाङ्गतामैत्री बनाउनेलगायत विभिन्न क्रियाकलाप चितवनको अपाङ्गता आन्दोलनले प्राप्त गरेका उपलब्धि हुन् । यसबीचमा भरतपुर र रत्ननगर नगरपालिका अनि जिल्ला विकास चितवनमा समेत अपाङ्गता उत्थान समन्वय समिति स्थापना गराउन मनग्य पहल भएको छ, जसबाट चितवनको २० वर्षे अपाङ्गता आन्दोलन सफलता उन्मुख भइरहेको छ । गत २० वर्षमा चितवनमा देखिने खालका परिवर्तन अपाङ्गता आन्दोलनले सिर्जित गरेको छ, जस्तो कि आज कुनै पनि अपाङ्गता भएका व्यक्तिहरु अपाङ्गमैत्री भौतिक संरचनाको माध्यमबाट कुनै पनि सरकारी कार्यालयको पहिलो तलासम्म पहुँच सुनिश्चित गरिएको छ ।
त्यस्तै, चितवनको शिक्षा क्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको देखिन्छ । जिल्ला शिक्षा कार्यालय चितवनअन्तर्गत रहेको समाहित शिक्षा लेखाजोखा केन्द्रको तथ्याङ्कअनुसार हाल चितवनमा कक्षा १ देखि ८ सम्मको छात्रवृत्ति लिने छात्रा १२५ जना र छात्र १६२ गरी कुल २८७ रहेका छन् भने मावि तहको छात्रवृत्ति लिने छात्रा ९ र छात्र १० गरी कुल १९ जना एवम् स्नातक तहका लागि छात्र १३ र छात्रा १३ गरी कुल २६ जना र समग्रमा अपाङ्गता छात्रवृत्ति प्राप्त गर्नेको संख्या ३३२ जना रहेको छ भने बौद्धिक अपाङ्गता र श्रवणसम्बन्धी अपाङ्गता भएका व्यक्तिका लागि ४ वटा विद्यालय सञ्चालनमा छन् । त्यस्तै, अपाङ्ग बाल अस्पतालमा शारीरिक अपाङ्गता भएका बालबालिकाको अपाङ्गता पहिचान गरी उपचार प्राप्त गर्नेको संख्या १७०० रहेको छ ।
यस प्रकार, अपाङ्गहरुलाई छिःछिः, दूर–दूर होइन कि उनीहरुको सम्मान हुन जरूरी छ । अपाङ्गता भएका व्यक्तिलाई राज्य र समाजले हेर्ने सामाजिक–सांस्कृतिक मनोविज्ञान विकृत भएकाले उनीहरुको जीवनयापनमा कठिनाइ भएको छ । महान् लक्ष्य र उद्देश्य राख्न सके अपाङ्गता भएका व्यक्तिहरु साङ्गभन्दा अगाडि बढ्न सक्छन् भन्ने उदाहरण पेश गर्ने महारथीहरु झमककुमारी घिमिरे, पारिजात, स्टेफन हकिङलगायत हाम्रै अगाडि अजर र अमर छन् । प्रत्येकको अस्तित्व विशिष्ट छ । अपाङ्ग भयौँ भनेर हार मान्नु जिन्दगीसँगको संघर्षमा मैदान छोडेर भाग्नु हो भने अपाङ्ग भयो भनेर उसको मनोविज्ञानमा ठेस पु¥याउनु गम्भीर अपराध हो । त्यस कारण, सम्पूर्ण भिन्न क्षमता भएका साथीहरुले यो बुझ्नुपर्छ कि यदि हामीले हाम्रो कमजोर पक्ष नभइकन शक्तिशाली पक्षलाई दृष्टिगत गर्न सकेको खण्डमा हाम्रो शरीरमा सकारात्मक ऊर्जाको वर्षा हुनेछ र हामी सीपवान्, सामथ्र्यवान् र ऊर्जावान् व्यक्त भई भविष्यको राष्ट्र हाँक्ने सामथ्र्य पनि हामीमा प्राप्त हुनेछ ।
अपाङ्गता आन्दोलनका क्रममा मेरूदण्ड पक्षघात भएका व्यक्तिका लागि भरतपुर अस्पतालमा नै उपचार गर्ने व्यवस्था हुनु अर्को उपलब्धि रहेको छ । अन्ततः एउटा भनाइ रहेको छ– ‘नोथिङ अस्, विथआउट अस्’, अर्थात् हामीबिना केही पनि सम्भव छैन । यसका लागि सम्पूर्ण अपाङ्गता भएका व्यक्ति मिलेर अगाडि बढ्नुछ र यो अधिकार प्राप्तिको आन्दोलन जितेरै छाड्नुछ । यो आन्दोलनमा विजय गरी सहभागितामूलक, सहकार्यमूलक, सहअस्तित्व र समतामूलक अपाङ्गतामैत्री समाज निर्माणका लागि अधिकारकर्मी सम्पूर्णलाई सफलताको स्वर्णिम शुभकामना !
Discussion about this post