रक्तदानजस्तो पुण्यदान अर्को कुनैमा सम्भव मानिँदैन । त्यसैले, रक्तदानलाई जीवनदान भनेर भनिएको हो । मानव सभ्यताको विकाससँगै स्वास्थ्य क्षेत्रमा अकल्पनीय उपलब्धिहरु भएका छन् । २१औँ शताब्दीमा विज्ञानले गरेको चौतर्फी विकाससँगै विभिन्न कारणले रगतको कमीबाट हुने मृत्युलाई तत्कालै मानिसको रगत दिएर बचाउन सकिने प्रविधिको विकास चिकित्सा क्षेत्रमा भयो । विज्ञानको उच्च बिन्दुमा विकास भए पनि रगतको कमीबाट हुने मृत्युबाट बचाउन मानिसको रगतको विकल्प आजसम्म उपलब्ध हुन सकेको छैन । रगतको आवश्यकता पर्ने व्यक्तिलाई अर्को व्यक्तिको शुद्ध र समूह मिल्ने रगत तत्काल उपलब्ध गराएर जीवन रक्षा गर्नु मानवीय सहयोग हो । मानिसले पुण्य कमाउन धेरै धार्मिक कार्य तथा अनुष्ठान गरेका हुन्छन् । तर, एकमात्रै ठूलो धर्म र महादान नै रक्तदान हो । रगत जीवनका लागि मह¤वपूर्ण छ । रगत दिएर मरिँदैन, रगत नपाएरचाहिँ मर्न सकिन्छ ।
नेपाल सरकारले परोपकार कर्ममा समर्पित नेपाल रेडक्रस सोसाइटीलाई रक्तसञ्चार सेवा सञ्चालन गर्ने सम्पूर्ण जिम्मेवारी दिएको छ । नेरेसोले २०२३ साउन १२ गतेदेखि रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) को सुरूवात गरेको थियो । रेडक्रसको उद्देश्यअनुसार रगतलाई सर्वसुलभ बनाउँदै मानिसको जीवन रक्षाका लागि विभिन्न संघसंस्था, स्वयंसेवी रक्तदाता तथा व्यक्तिहरुको सहयोग र सद्भावबाट हरेक वर्ष लाखौँले रक्तदान गरी लाखौँ व्यक्तिलाई नयाँ जीवन दिएका छन् । नेपालमा रक्तदानको इतिहास ७० वर्ष पुरानो छ । नेपालका प्रथम रक्तदाता दयावीरसिंह कंसाकारले विसं २००० मा रक्तदान गरी ‘रक्तदान जीवनदान’ को पुनीत अभियान सुरू गरेका थिए । तत्कालीन राजा महेन्द्रले समेत रक्तदान गरेर यो अभियानलाई अघि बढाएको इतिहास छ । प्रेमसागर कर्माचार्य नेपालमा सबैभन्दा बढी रक्तदान गर्ने व्यक्तिमा पर्छन् । ‘ए पोजेटिभ’ रगत भएका उनले हालसम्म १३५ पटक रक्तदान गरेर पुण्य अभियानमा समर्पित भएका छन् । यसबाट रक्तदान गर्नेहरु कमजोर होइन, झनै निरोगी र फूर्तिला हुन्छन् भन्ने प्रमाणित भएको छ ।
रगतको अभाव हटाउन र हामी सबैको जीवन रक्षा गर्न रक्तदान नै एकमात्र विकल्प हो भन्ने कुरा सबैले आत्मसात् गर्नुपर्छ । आजभोलि रक्तदान गर्नुपर्छ भन्ने चेतना र जनसहभागिता बढे पनि रक्तसञ्चार केन्द्र (ब्लड बैंक) हरुमा दुर्लभ रगतमात्र होइन, कुनै पनि समूहको रगत भण्डारण पर्याप्त हुन सकेको छैन । केन्द्रमा व्यवस्थापनको कमजोरीले रगत अभाव हुने गरेको गुनासा सुनिने गरेका छन् । रक्तदान अहिले सहज बन्दै गए पनि पहुँच नभएका र तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामीका परिवारले रगत नपाएर भौँतारिनु पर्ने अवस्थाको अन्त्य हुन भने सकेको छैन । समयमै केन्द्रमा रगत उपलब्ध हुन नसक्दा चितवनमै पनि नियमित शल्यक्रियासमेत प्रभावित हुने गरेका छन् । मानवीय सेवामा समर्पित रेडक्रसले रक्तदान गर्न विभिन्न सर्वसाधारणलाई उत्प्रेरित गर्दै ब्लड बैंकमा रगत अभावबारे नियमित अनुगमन गर्नु जरूरी देखिएको छ ।
Discussion about this post