काठमाडौँ । पचास ओभरको विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलको तयारीमा रहेको नेपालले आज एयर इण्डियालाई पाँच विकेटले पराजित गरेको छ । प्रतियोगिताको तयारी स्वरुप आयोजना गरिएको सगरमाथा जर्नी टु वल्र्ड कप को पहिलो खेलमा नेपालले एयर इण्डियालाई ५ विकेटले पराजित गरेको हो ।
एकदिवसीय विश्वकपको तयारी स्वरुप आयोजित प्रतियोगिताको उद्घाटन खेलमा नेपाली टोलीले पाएको १५६ रनको लक्ष्य ३४.५ ओभरमा पुरा गरी एयर इण्डियालाई पाँच विकेटले पराजित गरेको हो । आइपीएल र एणजी ट्रफी खेल्ने खेलाडीहरु रहेको एयर इण्डियाका व्याटस्म्यानहरु नेपाली बलर सामु चल्न नसकेको खेलमा नेपालका लागि महेश क्षेत्रीले ६५ रन जोडे ।
ट्वान्टी–२० विश्वकप क्रिकेटको छनोट खेलमा सहभागि भएका प्रारम्भिक व्याटस्म्यान सुभाष खकुरेलको स्थानमा आएका उनले अर्धसतकिय पाली खेल्दै नेपाललाई जित दिलाउन सहयोग गरे । त्यस्तै नेपालका लागि पृथु बास्कोटाले २२ रन बनाए भने सागर पुन र अनिल मण्डलले समान १८ रनको योगदान दिए । कप्तान पारस खड्काले १३ र विनोद भण्डारीले १० रन बनाए ।
युएइमा भएको विश्वकप ट्वान्टी–२० क्रिकेटको छनोट खेलमा खेलेका सुवास खकुरेल, शरद भेसवाकर, उपकप्तान ज्ञानेन्द्र मल्ल र बसन्त रेग्मी विना पिचमा उत्रिएको नेपालका लागि अभिनास कर्णले ८.३ ओभरमा १२ रन दिएर ४ विकेट लिए । त्यस्तै राष्ट्रिय टोलीबाट पहिलो पटक खेलेका सोमपाल कामीले ३ विकेट आफ्नो नाममा लेखाए ।
सागर पुनले दुई विकेट लिएको खेलमा नेपालका लागि कप्तान पारष खड्काले आफ्नो नाममा एक विकेट दर्ता गराए ।
टस हारेर व्याटिङ्मा उत्रिएको नेपालले एयर इण्डियालाई ४४ ओभरमा १५५ रनमा समेटेको थियो । एयर इण्डियाका लागि प्रदीप मल्लिकले ५७ रनको योगदान दिए पनि टिमलाई जित दिलाउन भने काफी भएन् ।
सन् २०१४ मा न्यूजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गर्ने एक दिवशिय विश्वकप क्रिकेटका लागि छनोट खेलको तयारीमा रहेको नेपालले २०१४मा बंगलादेशमा हुने प्रतियोगितामा छनोट भएर फर्किएको भोलिपल्ट नै तयारी थालेको हो ।
आइतबार मात्रै छनोट खेलमा तेस्रो भएर फर्किएको नेपाली टोलीले सोमबार देखि नै प्रतियोगितामा भाग लिएको हो । प्रतियोगितामा नेपाली राष्ट्रिय टोलिसहित एयर इण्डिया, दिल्ली वण्डर र सिंगापुरको राष्ट्रिय टोली सहभागि छन् । प्रतियोगिता राउण्ड एण्ड रोविनको आधारमा खेलाइने छ । प्रतियोगिता अन्तर्गत नेपालले अब दिल्ली वण्डरको सामना गर्ने छ ।
Discussion about this post