दिपेन्द्र अधिकारी
कविलास । पहाडी गाविस कविलासको उच्च भाग हो चौकीडाँडा । यस ठाउँसम्म पुग्न २÷३ घण्टा उकालो बाटो पैदल हिँड्नुपर्छ । चौकी डाँडासम्म ग्रामीण सडक पनि पुगेको छ । मुग्लिन–नारायणगढ खण्डको भोर्लेबाट गाडीमा जाँदा एक घण्टाको आसपासमा यस ठाउँमा पुग्न सकिन्छ ।
भौगोलिक र विकासका हिसाबले निकै पछाडि रहेको यस क्षेत्र चोकमान चेपाङको घरमा विपत्ती नआउन्जेल चर्चामा थिएन । जब दूधेबालक चोकमानले जंगली च्याउ खाएका कारण आफ्ना अभिभावक गुमाए त्यसपछि सबैको ध्यान यस ठाउँमा प¥यो ।
विषालु च्याउ खाएपछि बाबुआमा गुमाएका ती अबोध बालकको भविष्य हेरिदिने व्यक्ति फेला परे । जो थिए, नेपाली सेनाका तत्कालीन प्रधानसेनापति छत्रमानसिं गुरूङ ।
निवर्तमान प्रधानसेनापति गुरूङले चोकमानलाई परिवारको सदस्यका रूपमा स्वीकार गरे । अहिले चोकमान उनै छत्रमानको छत्रछायाँमा उज्ज्वल भविष्य कोरिरहेका छन् । चोकमान सोमबार छत्रमान र कमला (छत्रमानकी श्रीमती)का साथ गाउँ पुगे । त्यहाँ उनलाई हेर्न गाउँलेहरुको तछाडमछाड नै चल्यो । ‘खै–खै चोकमान कस्तो भएछ, उनको ठूलीआमा दौडिएर चोकमान भएको ठाउँमा आइपुगिन् ।
पछिपछि चोकमानको बजै पनि आइन् । गहभरि आँसु बनाउँदै बजै सनसरीले भनिन्, ‘आम्मै ! मेरो बाबु त ठूलो पो भइसकेछ ।’ छत्रमानसिंको काखमा रमाउन थालेपछि चोकमान तेस्रो पटक आफ्नो घर आएका थिए ।
चोकमानले आफ्नो बजैसँग भाइको सोधीखोजी गरेका थिए । गाउँमा भाइलाई भेट्न नपाएपछि निकै दुखित बनेका उनले जुगेडीमा आई भाइलाई भेटेका थिए । चोकमानले आफ्नो घर र आफन्तलाई सजिलै चिनेका थिए ।
छत्रमान सिंहको रेखदेखमा परेपछि चोकमान चेपाङको नाम केही परिमार्जित भएको छ । जन्मदिने बाबुआमाले चोकमान नाम राखिदिएका थिए, तर उनको लालनपालन र शिक्षादीक्षाको जिम्मेवारी लिएका निवर्तमान प्रधानसेनापति छत्रमानसिं गुरूङको परिवारले चोकमानको अगाडि प्रभास भनेर थपिदिए । अहिले सबैले उनलाई प्रभासचोकमान चेपाङ भनेर बोलाउँछन् ।
झण्डै दुइ वर्ष अगाडि जंगलबाट ल्याएको विषालु च्याउ खाएपछि चोकमानको बाबुआमाको मृत्यु भयो । च्याउ खानाले चोकमान पनि बिरामी परेका थिए । त्यतिखेर उनी २ वर्षको मात्र थिए, जतिबेला च्याउकै कारण उनको अभिभावकको मृत्यु भयो र उनी टुहुरो बने । विषालु च्याउ खाँदा उनको परिवारको बाबुआमासहित पाँच जनाको २०६८ असारमा मृत्यु भएको थियो ।
च्याउको कारण बाबुआमाकै ज्यान गएको र उनका दुई नाबालक छोराहरुको पनि उपचारमा समस्या भएको खबर संचारमाध्यममा प्रकासन प्रशारण भए । जुन खबर तत्कालीन प्रधानसेनापति छत्रमान सिंहले संचार माध्यमबाटै थाहा पाए । तत्कालै सिंहले बच्चाको उद्दार गरे र ४ दिन कान्तिबाल अस्पतालमा लगेर उपचार गराए ।
छत्रमानकी पत्नी कमला भन्छिन्, ‘हामीलाई त बच्चा बाँच्लाजस्तै लागेको थिएन, बाँचेमा पनि केही शारीरिक खोट हुने होकी भन्ने डर थियो ।’ राम्रो स्वास्थ्य सेवा पाएपछि चोकमान बिस्तारै तन्दुरूस्त बन्दै आए । कमलाले खुसी हुँदै भनिन्, ‘अहिले निकै टाठो भएको छ, पढ्नमा पनि निकै चलाख छ ।’
‘गाउँमै भए के हुन्थ्यो, हुन्थ्यो, ठूलो मान्छेको काखमा पुगेको छ हेराँै ठूलै मान्छे बन्ला नि !,’ चोकमानका बाजेले भने । नेपाली सेनाले यस क्षेत्रमा स्वास्थ्यसम्बन्धी विभिन्न काम गरेको शमशेर दल गण भरपुरका गणपति ज्योतिन्द्र महतले बताए ।
[divider]
७२ वर्षीया हजुरआमा सनसरी चेपाङको काखमा बस्दै चोकमान ।
Discussion about this post