नेपाली राजनीतिमा निष्ठाको राजनीति गर्ने, इमानदार र आदर्श पुरूषका रुपमा कांग्रेस नेता स्व. भीमबहादुर तामाङलाई चिन्ने गरिन्छ । तर, विडम्बना यो छ कि मुलुकमा लोकतन्त्रका पक्षधर दलहरु विजयी भइरहँदा र कांग्रेस पहिलो दल बन्दा उनै प्रजातन्त्रका हिमायती तथा बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको व्याख्यातासमेत रहेका त्यागी नेताको भने अवमूल्यन गरिएको छ । राजनीति गरेरै कांग्रेसका कतिपय नेताहरु विलासी जीवन बिताएका छन्, ठूला–ठूला पदमा रहेर राजधानीमा स्थापित भएका छन् । तर, जीवनभर धन–सम्पत्ति र भोगविलासमा नलागेका तिनै आदर्श नेताको वार्षिक तिथिमा कांग्रेसका नेताहरुले उनलाई सम्झन सकेनन् । गत वर्षको मंसिर १६ गते निधन हुँदा उनको आदर्शलाई पछ्याउने र उनले देखाएको मार्गमा हिँड्ने प्रतिबद्धता देखाएको कांग्रेसले व्यवहारमा भने उतार्न सकेन । स्वर्गीय नेता तामाङको सम्झनामा शालिक निर्माण गर्ने, सडकमार्गको नामकरण गर्ने, स्व. भीमबहादुर स्मृति प्रतिष्ठान बनाएर उनको सदा स्मरण गर्नेलगायतका प्रतिबद्धताहरुले पनि मूर्तरुप लिन सकेनन् ।
कांग्रेसभित्र तामाङले अघि सारेको संघीयतासम्बन्धी धारणाको जित भएको छ । कांग्रेसले उनको धारणालाई चुनावी नारा बनायो । र, संविधानसभा निर्वाचनमा विजयी पनि बन्यो । तर, तिनै आदर्श व्यक्तिलाई स्मरण गर्न कांग्रेसले आवश्यक ठानेन । मुलुकभर जातीय राज्यका लागि जगजगी मच्चिरहेका बेला जनजातिको वकालत गर्न छाडेर उनले ‘जातीय पहिचान भेटिने र द्वन्द्व मेटिने’ संघीयतामा जानुपर्ने सुझाव दिएका थिए । जनजातिका विषयमा उनले दिएको एजेन्डा अहिले मुलुक सुहाउँदो भएको प्रमाणित भइसकेको छ । जातीय राज्यको एजेन्डा बोकेकै कारण एमाओवादीले दोस्रो संविधानसभामा पराजित हुनुप¥यो । अग्रगामी परिवर्तनको पक्षमा रहेको एमाओवादीले पहिचानसहितको संघीयतालाई प्रमुख रुपमा उठान गरेको थियो । नेपाली जनताहरु जातीय संघीयता चाहेका रहेनछन् भन्ने पनि यही निर्वाचनमार्फत पुष्टि भएको छ । बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादलाई अंगीकार गर्ने र गराउने भीमबहादुरजस्ता धेरै आदर्श नेताहरुलाई कांग्रेसले पछ्याउन नसक्नु विडम्बनासिवाय केही होइन ।
राजनीति गर्नेहरु सबैले मूल्यकै राजनीति गर्दैनन्, गर्न सक्दैनन् । दोलखावासीका अभिभावक तामाङ गरिब र निमुखाको पक्षमा राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्ने र जनतालाई कहिल्यै पनि झूटा आश्वासन नबाँड्ने नेता थिए । तामाङको निधनसँगै उतिबेला कांग्रेसका शीर्ष नेतासमेतले निक्कै सम्मान जनाएका थिए । तर, मृत्युपश्चात् उनलाई स्मरण गर्न उनीहरुले समय पाएनन् । तामाङकै सम्झनामा तत्कालीन सरकारले उनको तस्बिर अंकित हुलाक टिकट प्रकाशन ग¥यो, तर कांग्रेसले केही गरेन । कांग्रेसमा व्यक्तिवाद हाबी हुने रोग अझैसम्म हट्न सकेको छैन । त्याग गरेका नेता÷कार्यकर्ताको उचित मूल्यांकन नहुने मात्र होइन, प्रोत्साहित गर्ने र क्षमताअनुसार प्राथमिकता दिइने संस्कारको पनि अभाव देखिएको छ । लोकतान्त्रिक मूल्य र मान्यता अनुसरण गर्ने दल भए पनि पार्टीभित्रका इमानदार, कर्मठ र आदर्श अँगाल्ने नेता÷कार्यकर्ताहरु सधैँ पीडित बन्ने गरेका छन् । कांग्रेसभित्र देखिएका यस्ता समस्या हटाउँदै निष्ठाको राजनीति गर्ने स्व. भीमबहादुरजस्ता नेताहरुको सधैँ स्मरण गरेर अगाडि बढ्नु नै सिंगो कांग्रेसकै लागि हित हुने देखिन्छ ।
Discussion about this post