बसन्त पराजुली
नारायणगढ । लक्ष्मी (नाम परिवर्तन) १४ वर्षकी छन् । उनका बाबु आमा नारायणगढमै डेरामा बस्छन् । तर उनी साथीहरुसँगै धेरैजसो समय सडकमै भेटिन्छन् । ‘के गर्नु पढ्न छाडेर १० वर्षदेखि सडकमै आइयो’, उनले भनिन्, ‘साथीहरुसँगै बस्ने, प्लाष्टिक तथा कवाडी सामानहरु संकलन गरेर बिक्री गर्ने र आएको आम्दानी खर्च गर्छु ।’ यसरी सडकमा बस्ने लक्ष्मीका केटी भन्दा केटा साथी धेरै छन् ।
‘म घरमा त कहिलेकाहिँ जान्छु । यतै साथीहरुसँगै राति पनि बस्छु’, उनले चितवन पोष्टसँग भनिन् । यसरी सडकमै बस्ने लक्ष्मीजस्ता किशोरीहरुको संख्या चितवनमा बढ्दै छ । जो बढी यौनहिंसाको शिकार हँुदै छन् ।
‘सडकमा रहेका किशोरीहरु बढी यौनहिंसाको शिकार हुँदै छन्’, सडक बालबालिका पुनस्र्थापन अभियानमा लागेको संस्था दियालो परियारका निर्देशक राजगोविन्द्र सिल्पकार पनि सडकका किशोरीहरु असुरक्षित रहेको बताउनुहुन्छ ।
‘केटा मान्छेसँगै सडकमा रहने र सडमै बस्ने भएपछि उनीहरुको जोखिम बढी नै छ’, उनले भने, ‘यस्ता किशोरीहरु बढी सडकमै रहने हुँदा अलि बढी उमेर भएका केटाहरुबाट यौनहिंसामा परिरहेका छन् ।’
अहिले नारायणगढमा मात्रै डेढ सयका हाराहारीमा सडक बालबालिका छन् जसमध्ये ३५ प्रतिशत अर्थात ५२ जना किशोरी छन् । एघारदेखि १६ वर्ष सम्मका यी किशोरीहरु सडकमै रहन्छन् । सडकमै बस्छन् । सडककै अन्य केटा साथीहरुसँगको सहकार्य बढी छ । यसरी बस्ने कतिपय जोडी त पछि विवाहसमेत गरी बस्ने गरेको पनि बताइन्छ ।
‘सडकमै रहेका चार जोडी अहिले विवाह गरेर बसेका छन्’, वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक मदनजित महरा भन्छन्, ‘सडकमा रहेका किशोरी विवाह गरेर बसे त हुन्थ्यो तर देहव्यापार गर्नेसम्मका छन् ।’
प्रहरीले होटलमा छापा मार्दा यसरी सडकमा रहने किशोरीहरु समेत फेला पार्ने गरेको उनको अनुभव छ । ‘यौनका मामिलामा सडकका किशोरीहरु बढी असुरक्षित छन्’, उनले थपे, ‘केटाकेटी एकै ठाउँ बस्ने, राति सुत्ने भएकाले पनि समस्या बढी छ ।’
गरिबी अशिक्षा र रोजगारीको कमीले बालबालिका तथा किशोरकिशोरीहरु सडकमा आइरहेका छन् । सडक बालबालिका पारिवारिक पुनर्मिलन कार्यक्रमकी सयोजक विद्या काफ्लेको अनुभवमा सडकमा रहेका बालक भन्दा बालिका र किशोरी बढी असुरक्षित छन् ।
‘सडकमा आइपुगेपछि घरमा फर्कन मान्दैनन्’, उनले भनिन्, ‘केटाहरुले जिस्काउने मात्रै होइन बढी हिंसामा राखे पनि उनीहरु सहेर बस्न बाध्य छन् ।’ लक्ष्मी पनि केटाहरुले बढी नै जिस्काउने बताउँछिन् । ‘केटाहरुले जिस्काउँछन्’, उनले भनिन् । तर सडमा रहेका अधिकांश किशोरीहरु बोल्न मान्दैनन् । सडकमै भेटिएका कतिपय देहव्यापार गर्ने किशोरीहरुलाई समेत सुरक्षाकर्मीले नारायणगढ छोड्न आग्रह गरेको भए पनि केही दिन हराएर फेरि नारायणगढमै भेटिने गरेको बताइन्छ ।
दियालो परिवारका निर्देशक सिल्पकार सडकका असुरक्षित किशोरीहरुलाई नारायणगढबाट बाहिर लखेटेर भन्दा उनीहरुलाई आयआर्जनका माध्यमबाट पारिवारिक पुनर्मिलन गराउनुपर्ने आवश्यकता आंैल्याउनुहुन्छ ।
‘सडकमा कति किशोरी छन् उनीहरुको लागत लिनुपर्छ । उनीहरुलाई उमेर अनुसार कि शिक्षा या रोजगारी दिएर पारिवारिक पुनर्मिलन गराउन जरूरी छ’, उनले भने । तर कतिपय मानिसहरु भने यसरी सडकमा आइपुगेकाहरु सकेसम्म घरमा फर्कन नमान्ने गरेको अनुभव सुनाउँछन् ।
‘सडकमा रहेका किशोरीहरुलाई यौनहिंसाबाट बचाउन पनि उनीहरुको पारिवारिक पुनर्मिलन जरूरी छ’, शिल्पकारले भने ।
Discussion about this post