केशव भट्टराई
संविधानसभाको चुनावका लागि विभिन्न दल तथा स्वतन्त्र व्यक्तिले उम्मेदवारी दर्ता गराउन लाइन लागेको देख्दा यस्तो लाग्थ्यो, नेपालीहरुलाई उम्मेदवार बन्न कति साह्रो रहर लागेको होला ! उम्मेदवारी दर्ता गराउने बाढीले परिणाम पक्कै पनि खतरापूर्ण हुन्छ भन्ने धेरैको अनुमान थियो । र, भयो पनि त्यस्तै । राजनीतिक पार्टीका नेताहरु त आफ्नो अस्तित्वका लागि पनि चुनावमा प्रत्याशी बनेका थिए । गैरदलीय व्यक्तिहरु पनि के–के न भागै छुट्लाजस्तो गरेर उम्मेदवार बन्न हौसिएका थिए । कतिलाई सहिद बनाउन हौस्याइएको थियो । कोही अन्धाधुन्ध हाम फालेका थिए । चितवनमा जित्नेहरु त जम्मा पाँच जनामात्रै थिए । थोरै मात्र थिए निकटतम प्रतिद्वन्द्वी र करिब सयको हाराहारीमा थिए, जमानत जफत हुने उम्मेदवारहरु ।
कुल खसेको मतको दस प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारहरु चितवनमा मात्रै ९९ जना रहेछन् । चितवनमा २ लाख १६ हजार ३ सय ८५ मत खस्दा एक सय पनि नकटाउने उम्मेदवारको संख्या नै ७२ पुगेछ । समानुपातिकतर्फ चार दलको त मत पनि शून्य आइदिएछ । यसमा पनि आफ्ना श्रीमान्श्रीमतीको मात्रै मत प्राप्त गर्ने पनि छन् । परिवारका सदस्यको मत आउनेहरु पनि छन् । अबचाहिँ उम्मेदवारहरुलाई यसरी उठ्ने रहर हुँदैन होला भन्ने मेरो अनुमान छ ।
यसपालि उठेका उम्मेदवारले फूर्ति लगाउने एउटा कारण के छ भने म पनि संविधानसभा निर्वाचनमा उम्मेदवार थिएँ भनेर गर्वसाथ भन्न पाइन्छ । अझ ठूलै नेता उठेको क्षेत्र रहेछ भने म फलानो नेतासँग प्रतिस्पर्धा गरेको थिएँ भनेर धाक पनि लगाउन पाइन्छ । धरौटी जाबो तीन हजार न हो । जित्नेले पनि त्यति पैसा लिन जाँदैनन् । तीन हजार धरौटी राखेर ऐतिहासिक निर्वाचनमा उम्मेदवार हुन पाउनु पनि भाग्यकै कुरा हो । जो–जो उम्मेदवार रहे, उनीहरु बडो भाग्यमानी रहेछन् । जनताले गाली गरे पनि चुनाव जित्नेलाई नै गाली गर्ने हुन् । संविधान बनाउने चुनौती र जनतालाई सुशासन दिने जिम्मा पनि चुनाव जित्नेहरुकै हो । नातावाद, कृपावाद, फरियावाद, पार्टीवादका आरोपहरु झेल्ने पनि विजयी हुनेहरु नै हुन् । कतै तटबन्ध बनाइदिन्छु, कतै बजार प्रबन्ध त कतै मसलन्द प्रबन्ध गरिदिन्छु भनेर आश्वासन दिएका छन् । आश्वासनअनुसार काम गर्न नसके पातझैँ बढारिने पनि जित्नेहरु नै हुन् । जमानत जफत हुनेहरुलाई यसमा कत्ति पनि टाउको दुखाउनु पर्दैन ।
खोलानदीहरुमा पुल हाल्ने, सुकुमबासी बस्तीमा झूल बाँड्ने, कार्यकर्तालाई काम दिने, भोकाहरुलाई माम दिने विजयीहरुकै जिम्मेवारी हो । धरौटी गुमाउने हरूवाहरुलाई नलिनु–नदिनु । पैसा खर्च गर्नेहरुलाई पो पैसा पनि गयो, जित्ने चान्स पनि गयो भनेर चिन्ता हुन्छ । जमानतै जफत हुनेहरुलाई केको टन्टा ?
कतिपय पार्टीहरुले चुनावका लागि पैसा दिन्छु भनेर तीन हजार धरौटी राखिदिएर उठाएका उम्मेदवारमध्ये च्ुनाव सकिनासाथ एक जनालाई पनि नभेट्दा म छक्क परेको छु । पाठक महोदयहरु पनि छक्क नपर्ने कुरै छैन । के गर्ने, घोषणापत्र मात्र उत्कृष्ट भएर मत झर्दो रहेनछ । मोटरसाइकलमा ¥याली गरेर पनि केही फरक पर्दो रहेनछ । अनावश्यक भीड जम्मा गरेर पनि कुनै माखो मर्दो रहेनछ । लुब्धाहरुलाई दिनहुँ पार्टी खुवाए पनि परिणाम आउने बेलामा विपरीत हुँदोरहेछ । बिचरा मतदाताहरुको नाम बेचेर कतिपय ठाउँमा ठालुहरुले उम्मेदवारका पैसा झ्वाम पारे ।
भर्खरै सुनेको हो, कुन क्षेत्रका होनहार कार्यकर्ताहरु गरिबलाई पैसा बाँड्न गएका रे, बीचबाटोबाटै टाप दिएछन् । ती होनहारहरुले आफूले पनि मतदान गरेनन् रे । अहिले पैसाले मत किन्न सकिँदो रहेनछ भन्ने कुरा सबैले छर्लङ्गै बुझेका छन् । थर्काएर, घुर्की देखाएर, रोएर मत मिल्ने भए कति डाँको छोडेर रूँदा हुन् । खप्परै फोडे पनि मतदाताले भोट हाल्ने रहेनछन् भन्ने कुरा पनि राम्ररी बुझियो । र, जमानतै जफत हुनेलाई भोट दिँदा मतदाता र भोटकै अपमान हुने रहेछ भन्ने पनि जान्न पाइयो । धन्न, कुनै पार्टीको उम्मेदवार हुनु परेन । नत्र त न नाक रहन्थ्यो, न त बास नै जोगिन्थ्यो ।
म पनि उम्म्ेदवार हुने अफर आउँदा श्रीमतीजीसँग सोधिहेरेको थिएँ– उनले ‘म त तपाईंलाई भोट दिन्नँ, अरुको त के आशा गर्नुहुन्छ !’ भनेर सचेत नगराएको भए, मेरो हविगत के हुन्थ्यो होला ? अटेर गरेर उम्मेदवारी दर्ता गराएको भए मेरो मात्रै सिङ्गल भोट आउने रहेछ । यस्ता एकभोटेलाई त कुनै पार्टीमा पनि स्थान मिल्दैन । एकलकाँटे, एकभोटे, नम्बर वान भोट, एकमते, एक्ले, एक्काबहादुर के–के उपमा दिएर मेरो हुर्मत लिइँदो हो । अनि म पनि चुनावमा धाँधली भयो, षड्यन्त्र भयो, ‘ग्रान्ड डिजाइन’ गरियो भनेर कुर्लिने थिएँ ।
अहिले त कसैलाई गाली गर्नुपरे वा श्राप नै दिनुपरे ‘तँ चुनावको उम्मेदवार बनेस्’ भनेर दिए हुन्छ । सामान्य वर्गको उम्मेदवारले त आँटै नगरे पनि हुने भयो । सूचना प्रविधि र सवारीसाधनको विकासले गर्दा अहिले ६० प्रतिशत पैसा त कार्यकर्ताको इच्छाअनुसार खर्च हुन्छ । चियापान, जलपान त पुराना शताब्दीका कुरा भए । भनेको बेलामा उम्मेदवारले पैसा जुटाउन सकेन भने घरै तोडफोड हुन्छ । पार्टी कार्यालय फोडेर रिस पोखिन्छ । यसलाई रिझाउने, उसलाई रिझाउने गर्दागर्दै बिचरा उम्मेदवार टाट पल्टिसकेको हुन्छ । कतिको अघिल्लो संविधानसभाको ऋण मिलान हुन बाँकी होला ।
थोरैलाई खुसीयाली र धेरैको रूवाबासी हुने निर्वाचनमा प्रतिस्पर्धामा उत्रन सक्ने व्यक्तिहरु मात्र उठे यस्तो समस्या आउने थिएन । आफ्नै रहरले उठेकाले जमानत जफत भयो भनेर चिन्ता मान्नु आवश्यक छैन । अब हुने स्थानीय वा संसदीय निर्वाचनमा चाहिँ उम्मेदवारहरु सय नपुगून् । पहिले डमीका रुपमा उठ्ने र पछि कुनै पार्टीमा विलय हुने रोग नदेखियोस् । जनता जनार्दनले शून्य मत आएको सुन्न नपरोस् ।
हामी नेपाली अरु क्षेत्रमा जे–जस्ता भए पनि चुनावमा देखासिकी गर्ने रोग डरलाग्दो छ । लोकतन्त्रमा सबैको समान अधिकार हुने भएकाले हुन सक्छ, उम्मेदवार हुन यसरी तँछाडमछाड भएको । अब सम्भवतः चितवन ४ मा उपनिर्वाचन हुन सक्छ । त्यसमा चाहिँ खास–खास प्रतिस्पर्धी अझ यसरी भनौँ, दस प्रतिशत मत ल्याउने हैसियतका उम्मेदवारहरुले मात्र प्रतिस्पर्धा गरौँ । शून्य, दुई, तीन, सय… यस्तो मत पाउनुभन्दा नपाएकै जाती हुन्छ । फलानोको त चुनावमा जमानतै जफत भो रे भनेर किन दुनियाँ हँसाउने ? राजनीति गर्ने खेलाडीले सके चुनौती मोलेर राम्रै नतिजा आउने दल रोज्नुपर्छ । मजाकले उम्मेदवार हुन तम्सिने अनि मजाकैमजाकमा उम्मेदवारी फिर्ता लिने, अझ त्यसो पनि नभए अर्को दलमा लम्पसार परेर समर्पित भइदिने । कतै मेरो यति मत छ, कति रकम दिने ? भनेर बार्गेनिङ गर्ने । अनि आफूलाई आउने मतदाताको अमूल्य मत बेचेर खाइदिने । यस्तो पनि कहीँ हुन्छ राजनीतिमा ?
पार्टीले नपत्याएपछि कपिलवस्तु क्षेत्र नं. २ बाट स्वतन्त्र उठेका उत्तहर कमाल विजयी बनेर देखाइदिए । पार्टी नै परित्याग गरेपछि कि कमालले झैँ कमाल देखाउन सक्नुप¥यो । पार्टीले टिकट नदिए पनि जितेर देखाई दिनलाई ? कि त महोत्तरीका स्वतन्त्र उम्मेदवार चन्द्रेश्वर झाजस्तो हुनुप¥यो । राजनीतिमा नलागे पनि प्रचारप्रसारमा तडकभडक नदेखाए पनि उनले जितेर देखाइदिए, त्यो पनि उनीबाहेक बाँकी सबै ४६ जनाको जमानत जफत हुनेगरी । झाले न भड्किलो प्रचारप्रसार गरे, न त झूटो आश्वासन देखाएर मत मागे, न कसैलाई भोजभतेर खुवाउनुप¥यो, अनि न त पैसा नै बाँडे । एउटा सोझो र साधारण किसान भए पनि उदार हृदय र इमानदार व्यक्ति देखेर नै उनलाई मतदाताले विजयी बनाए ।
प्रतिस्पर्धामा पनि दिग्गज राजनीतिक खेलाडी र पूर्वमन्त्री, पूर्वसभासद् रहे पनि उनले चुनाव जितेर देखाइदिए । ठूला दलको के लाग्छ ? के झाले धाँधली गरेरै चुनाव जितेका हुन् त ? स्वतन्त्रबाट उम्मेदवारी दिनेमध्ये धेरैजसो पार्टीबाट टिकट नपाएको असन्तोष व्यक्त गर्न वा पार्टीकै नेतालाई हराउने उद्देश्यले उठेका हुन्छन् । अघिल्लो निर्वाचनमा पनि रौतहटबाट बबन सिंह र सप्तरीबाट सरूदल मियाँ हक स्वतन्त्र उम्मेदवारका रुपमा विजयी बनेका थिए । स्वतन्त्र उम्मेदवारलाई खासै मह¤वले हेरिँदैन । तर, नबगाउने खोलाले बगाउँछ भनेजस्तो स्वतन्त्र उम्मेदवारले नै महान् हस्तीहरुलाई पराजित गरिदिएको दृष्टान्त हामीसँग छ ।
स्वतन्त्र उम्मेदवारको इज्जत त्यतिबेला हुँदोरहेछ, जतिबेला अनपेक्षित रुपमा (अझ भनौँ, अहिलेको निर्वाचनजस्तो) त्यो उम्मेदवार विजयी हुन्छ । त्यतिबेला त पार्टीकै सबभन्दा ठूलो पराजय हुन्छ । अनि बेइज्जत त्यतिबेला हुँदोरहेछ, जतिबेला आफैँले हालेको मत पनि बदर हुन्छ । समग्रमा यसरी भनौँ, जमानतै जफत हुन्छ ।
चितवनमा पनि २५ दल र १४ स्वतन्त्रले उम्मेदवारी दिएका थिए । त्यसमा ९९ जनाको जमानत नै जफत भो रे ! जे भयोे सो भैहाल्यो । विगतमा नजाऊँ । सके वर्तमानमा रमाऊँ, नसके भविष्यमा जमानत नगुमाऊँ । दुई जना होनहार स्वतन्त्र उम्मेदवारी दिएर जितेका कमाल र झालाई हार्दिक बधाई दिन चाहन्छु । उनीहरु स्वतन्त्रकै हैसियतमा नाक फुलाएर संविधानसभामा प्रतिनिधित्व गरुन् । कम सिट आउनेले खरिद गर्न खोज्लान्, होसियार रहिरहनू । जमाना ठीक छैन, कि कसो ?
Discussion about this post