दिपेन्द्र अधिकारी
भरतपुर । नेपाली जनताले खाने खाद्यान्नमध्ये २६ प्रतिशत मकैले पूर्ति गर्दै आएको छ । मानव खाद्यान्नसँगै पशु आहारका लागि पनि मकै निकै उत्तम मानिन्छ । पछिल्लो समय पशुपक्षीको दाना (आहार) को प्रयोगमा मकैलाई कच्चा पदार्थका रुपमा प्रयोग गर्न थालिएको छ ।
मकै बहुपउयोगी भए पनि यसको उत्पादकत्व भने सोचेजति हुन सकेको छैन । मकैवाली अनुसन्धानसँग आवद्ध वैज्ञानिकहरु मकै खेतिमा आधुनिकता ल्याउन नसक्नु मुख्य कमजोरी भएको ठान्छन् । हाइब्रीड जातका मकै बीउ र उत्पादकत्व बढाउनका लागि सरकारले यस वर्ष १२ लाख १० हजार रुपैयाँ बजेट छुट्याएको मकैवाली अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा. केशवबाबु कोइरालाले बताए ।
‘नेपालमै उन्नत जातका मकै बीउ उत्पादन गर्न सकिन्छ । तर, बजेट पर्याप्त नहुँदा काम प्रभावकारी हुन सकेको छैन, प्रमुख डा. कोइरालाले भने, ‘कम्तीमा पनि एक करोड बजेट आवश्यक पर्छ ।’ ‘बीउ उत्पादनदेखि उत्पादकत्व हेर्ने अवस्थासम्मको लागि करोडौँ आवश्यक छ तर सरकार १२ लाख रुपैयाँ दिएर पन्छिएको छ’, डा. कोइरालाले भने ।
बहुर्राष्ट्रिय कम्पनीले उत्पादन गर्ने मकैका बीउसँग प्रतिस्पर्धा गर्नलायक फरक जातका बीउ आवश्यक बजेट उपलब्ध भएमा ५ वर्षमा उत्पादन गरेर देखाउने क्षमता रहेको उहाँको भनाइ छ । त्यस्तै किसानले चाहेको बेलामा बीउ सजिलै पु¥याउन सकिने डा. कोइरालाले बताए ।
बहुर्राष्ट्रिय कम्पनीका ३२ जातका बीउ र नेपालमै उत्पादित २४ फरक जातका मकैका बीउ सिफारिस भएका छन् । गाउँघरमा अझै पनि स्थानीय जातका मकै लगाउने गरिएको भन्दै डा. कोइरालाले किसानलाई उन्नत जातका मकैको महत्व र यसको उत्पादन क्षमताबारे जानकारी दिनु उपयुक्त भएको बताए ।
नेपालमा मकैको उत्पादकत्व प्रतिहेक्टर २ हजार ५ सय १ केजी रहेको छ । मकैका उन्नत जातको तीन तहमा परीक्षण गर्दा फरक–फरक नतिजा देखिएको छ । मकैवाली अनुसन्धानअन्तर्गत सम्बन्धित खेतबारीमा परीक्षण गर्दा ६.७ मेट्रिक टन प्रतिहेक्टर, किसानको बारीमा लगाएको मकैबाली परीक्षण गर्दा ५.७ मेट्रिक टन र देशभरिकै उत्पादन क्षमता प्रतिहेक्टर २.५ मेट्रिक टनमात्र रहेको छ ।
मकैबाली अनुसन्धान कार्यक्रमको आफ्नो परीक्षण क्षेत्र र किसानको बारीमा गरिएको परिक्षण राम्रो भए पनि देशभरको औसत उत्पादन भने कम भएको छ । क्षेत्रगत रुपमा हेर्ने हो भने नेपालको तराई भागमा १७.७९ प्रतिशत, उच्च पहाडमा ११.३२ प्रतिशत र मध्य पहाडमा ७०.८९ प्रतिशत भूभागमा मकैखेति हुने गरेको छ ।
यसैबीच रामपुरस्थित राष्ट्रिय मकैवाली अनुसन्धान केन्द्रमा विभिन्न जिल्लाका किसानहरुसँग मकै खेतीबारे छलफल शुक्रबार सम्पन्न भएको छ । सो कार्यक्रममा मकै अनुसन्धान, यसको महत्व आदिका बारेमा डा. केशवबाबु कोइराला, बन्धुराज बराललगायतले कार्यपत्र प्रस्तुत गरेका थिए ।
Discussion about this post