भरतपुर । स्तन क्यान्सर महिलालाई मात्रै हुन्छ भन्ने धेरैलाई लाग्दछ । तर फाट्टफुट्ट पुरुषलाई पनि स्तन क्यान्सर हुने गर्छ । नेपालमा स्नत क्यान्सर हुने पुरूषको संख्या अन्यत्रको भन्दा अझै बढी नै रहेको चिकित्सकहरु बताउँछन् । विश्वव्यापी रूपमा हेर्दा स्तन क्यान्सर हुने बिरामीमध्ये एक प्रतिशत हिस्सा पुरूषको छ । चितवन भरतपुरमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्तन क्यान्सर भएर उपचारका लागि आउनेमा पुरूषको आँकडा योभन्दा झनै बढी छ ।
अस्पतालबाट प्राप्त जानकारीअनुसार गत वर्ष अर्थात् सन् २०१२ मा स्तन क्यान्सरका २२८ जना उपचारका लागि आएका थिए । जसमध्ये ११ जना पुरूषहरु थिए । स्नत क्यान्सरका कुल बिरामीमध्ये पुरूषको संख्या लगभग पाँच प्रतिशत रहेको अस्पतालले जानकारी गराएको छ । जुन संख्या चिन्ताजनक रहेको चिकित्सकहरु बताउँछन् ।
‘सन् २००० देखि सन् २०१० सम्म यस अस्पतालमा स्तन क्यान्सर भएर तीन हजार ३३४ जना बिरामीहरु उपचारका लागि आएका छन्’ क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. लक्ष्मीनारायण सिंहले जानकारी दिए । यो दस वर्षमा स्तन क्यान्सर भएर उपचारका लागि सो अस्पतालमा आउने पुरूषको संख्या ५७ रहेको छ ।
स्तन क्यान्सरसम्बन्धी अस्पतालका सर्जन डा.विश्वराम पौडेल भन्छन् ‘विश्वव्यापी रूपमा स्तन क्यान्सर भएकामध्ये पुरूष करिब एक प्रतिशत रहन्छन् । यो अस्पतालमा उपचारका लागि आउने पुरूषको संख्या धेरै नै छ ।’ पुरूषलाई पनि स्तन क्यान्सर हुन्छ भन्ने धेरैलाई थाहा छैन । जसका कारण अपनाउनुपर्ने सावधानीहरु ख्याल नगर्दा नेपालमा संख्या बढेको चिकित्सकहरु बताउँछन् ।
महिलालाई जे कारणले स्तन क्यान्सर हुन्छ पुरूषलाई पनि त्यही कारणले हुने चिकित्सकहरुको भनाइ छ । ३० वर्षपछि बच्चा जन्माउने महिलाहरु, बच्चा नै नजन्माएका महिलाहरुमा स्तन क्यान्सर हुने सम्भावना हुन्छ । पुरूषले झनै बच्चा जन्माउँदैनन् त्यसैले पुरूष पनि जोखिममा छन् भन्छन् डा.पौडल । मोटो शरीर भएका र विकिरणको सम्पर्कमा रहने पुरूषलाई स्तन क्यान्सर हुने बढी सम्भावना रहन्छ ।
स्तन क्यान्सर भए नभएको थाहा पाउन त्यत्ति गाह्रो छैन । स्तन या काखीमा गिर्खा देखिनु, स्तनको आकार र छालाको रंगमा परिवर्तन हुनु, मुन्टो गाडिनु स्तन क्यान्सरको लक्षण हुन् । छोएर र हेरेरै यी कुरा थाहा पाउन सकिन्छ । ‘सुरूमै थाहा पाउनासाथ उपचारका लागि आएमा पूर्णरूपमा निको हुन सक्ने रोग हो स्तन क्यान्सर’ डा. पौडेलले भने ।
तर स्तन क्यान्सर भएर उपचारका लागि आउने पुरूषहरुको रोग अन्तिम अवस्थामा पुगेको हुने डा.पौडलको अनुभव छ । पुरुषलाई पनि स्तन क्यान्सर हुन्छ भन्ने थाहा नपाउँदा समयमा उपचारका लागि अस्पताल नआउने गरेको उनले बताए । ‘डा.पौडेलले भने ‘त्यसैले पुरूषलाई पनि स्तन क्यान्सर हुन्छ भन्ने तथ्य प्रचारमा आए धेरैको ज्यान जोगिन सक्थ्यो ।’
Discussion about this post