बछौली । तिहारमा दैउसीभैलो खेलेर संकलन गरेको रकमबाट बछौली–६ चितवनका गाउँलेले स्थानीय वक्षेश्वर महादेव मन्दिरमा सत्तल निर्माण गर्ने भएका छन् । मन्दिरमा सत्तल अभावका कारण भक्तजनहरुलाई भजनकृतन गर्न असहज भइरहेको बेला गाउँलेले दैउसीभैलो खेलेर संकलन गरेको रमकबाट सत्तल निर्माण गर्न लागिएको स्थानीय मोतीप्रसाद सापकोटाले जानकारी दिए ।
देउसी भैलोबाट संकलन भएको ३ लाख ९७ हजारको लगानीमा दुईकोठा सहितको सत्तल निर्माण गरिने उनले जानकारी दिए । मंगलबार सम्पन्न गाउँका अगुवाहरुको भेलाले सत्तल निर्माणको लागि नन्दकली सापकोटाको अध्यक्षतामा ९ सदस्यीय निर्माण समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा तिलक सुवेदी र सचिवमा दुर्गाप्रसाद घिमिरे रहेका छन् । उचित व्यवस्थापनको अभावका कारण मन्दिरको विगत ४ वर्षदेखि साधरणसभा हुन सकेको छैन । प्र्र्रेम अर्यालको नेतृत्वमा रहेको समितिले मन्दिरको विकासको लागि काम पनि नगर्ने र आर्थिक हिसाव पनि सार्वजनिक नगरेकाले स्थानीय अगुवाहरुको पहलमा देउसीभैलो खेलेर संकलित रकमबाट मन्दिरमा सत्तल निर्माण गर्न लागिएको निर्माण समितिका सचिव दुर्गाप्रसाद घिमिरेले जानकारी दिए ।
सत्तल निर्माणको लागि देउसी खेलेर संकलन गरेको रकम अपुग हुने भएपनि निर्माणको काम सुरू भएपनि सहयोग संकलन गर्ने योजना रहेको सचिव घिमिरेले जनाए । गाउँका अगुवाहरुको भेलाले मन्दिरको हिसाब सार्वजनिक गर्न र तत्काल मन्दिरको साधरणसभा गर्न मन्दिर व्यवस्थापन समितिलाई आग्रहसमेत गरेको उनले जानकारी दिए ।
Discussion about this post