कांग्रेस र एमालेको दुई/दुई, राप्रपा एक स्थानमा विजयी[divider]
दिपेन्द्र अधिकारी
भरतपुर । अघिल्लो संविधानसभामा चितवनको ४ वटा क्षेत्रमा अत्याधिक मत ल्याइ विजयी बनेको एनेकपा माओवादी गत मंसिर ४ गते भएको चुनावमा भने सबै क्षेत्रमा पराजित भएको छ । देशका अन्य जिल्लामा भने केही सीट हात पारेको माओवादी यसपटक चितवनमा शून्य सिटमा चित्त बुझाउन बाध्य भएको छ ।
अन्य भन्दा क्षेत्र नम्बर ३ मा चुनाव जित्न अत्यधिक कसरत गरेका एमाओवादी उम्मेदवार नारायण दाहाल विजयी उम्मेदवारभन्दा आधा मत अन्तरले पराजित भएका छन् ।
संविधानसभाको नतिजा सार्वजनिक भएसँगै चितवनमा एनेकपा माओवादीको प्रत्यक्ष तर्फबाट कुनै पनि विधायक चुनिन सफल भएनन् । चितवनमा यसपटकको संविधानसभा चुनावमा काँग्रेस र एमालेले २÷२ सिट जितेका छन् भने एक सिट राप्रपाले हात पारेको छ ।
चितवन क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार सुरेन्द्र पाण्डे विजयी हुनुभएको छ । यस क्षेत्रमा अघिल्लो पटक पनि एमालेकै लालमणि चौधरी विजयी भएका थिए । एमालेका पोलिटव्युरो सदस्यसमेत रहेका पाण्डेले १८ हजार ७ सय ६० मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ७ सय ४५ मत प्राप्त गरे । मत गणनाको सुरुवाती अवस्थामा बुर्लाकोटीले नेतृत्व लिएकोमा पछि पाण्डेले ५ मत अन्तरले उनलाई पराजित गरेका छन् । तेस्रो बनेको एकीकृत नेकपा माओवादी उम्मेदवार यमबहादुर परियारले भने ४ हजार ६ सय २१ मतमात्रै पाएका छन् ।
चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका शेषनाथ अधिकारी विजयी भएका छन् । उनले १७ हजार ८ सय १० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णप्रसाद खनालले १६ हजार ८ सय ११ मत प्राप्त गरेका छन् । एकीकृत नेकपा माओवादीका विश्वभक्त दुलाल ‘आहुति’ले भने ९ हजार ३ सय २० मत प्राप्त गरेका छन् । यो क्षेत्रमा २०६४ सालको संविधानसभा निर्वाचनमा हाल नेकपा माओवादीका नेता रामबहादुर थापा ‘बादल’ विजयी भएका थिए ।
क्षेत्र नम्बर ३ मा एमालेका जिल्ला उपाध्यक्षसमेत रहेका कृष्णभक्त पोखरेल विजयी भएका छन् । अघिल्लो चुनावमा यस ठाउँमा विजयी बनेका नारायण दाहाल यसपटक ९ हजार ८९ मत पाएर तेस्रो स्थानमा सीमित बनेका छन् । विजेता पोखरेलले १५ हजार ६ सय ६१ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भीमबहादुर श्रेष्ठले १३ हजार २ सय ४१ मत प्राप्त गरेका छन् ।
त्यस्तै चितवन क्षेत्र नम्बर ४ मा सुशील कोइराला विजयी भएका छन् । कोइरालाले २० हजार ७ सय ६० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एनेकपा माओवादीका चित्रबहादुर श्रेष्ठले १० हजार ७ सय ३९ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेकी नेकपा एमालेका उम्मेदवार दिलकुमारी रावल (.पार्वती) ले १० हजार ६७ मत प्राप्त गरिन् । रावल श्रेष्ठ भन्दा केही मतले पछि परेकी छन् । स्वतन्त्र उम्मेदवार विकास कोइरालाले जम्मा १ हजार ८३ मत प्राप्त गरे । उनले जमानत पनि बचाउन सकेनन् । २०६४ सालको चुनावमा यो क्षेत्रमा श्रेष्ठ २३ हजार ९ सय ४२ मत ल्याएर विजयी भएका थिए ।
क्षेत्र नम्बर ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो पटक विजय हात पारेको छ । पार्टीका महामन्त्रीसमेत रहेका कालिका एफएम प्रालिका प्रबन्ध निर्देशक पाण्डेले एमालेका दानबहादुर तामाङ र एकीकृत नेकपा माओवादीका अमिक शेरचनलाई पछि पारेका छन् । तामाङले ८ हजार ४ सय ६ र शेरचनले ६ हजार ५ सय ५५ मत प्राप्त गरे भने नेपाली कांग्रेसकी सविता बरालले ४ हजार ३ सय ५२ मत पाएकी छन् ।
अन्तिम मत परिणाम घोषणा भएपछि नेपाली कांग्रेसका नेता कार्यकर्ताले विजयी उम्मेदवार विना नै भरतपुरमा विजय जुलुस निकालेका थिए । कांग्रेसले आज शनिबार कोइरालासहित विजय जुलुस निकाल्ने तयारी गरेको छ । राप्रपाले पनि शुक्रबार दिउँसो भरतपुरमा विजयी जुलुस निकालेको थियो ।
Discussion about this post