काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरले एनेकपा माओवादीलाई संविधानसभा निर्वाचनको परिणाम स्वीकार गर्न आग्रह गर्नुभएको छ । संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि यहाँ आउनुभएका कार्टर सेन्टरका संस्थापक उहाँले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जनमतलाई शिरोधार्य गर्दै हिंसात्मक विरोधबाट टाढा रहेर निर्वाचन प्रक्रियालाई निरन्तरता दिन एमाओवादीलाई आग्रह गर्नुभयो ।
मतगणनाका क्रममा उत्पन्न विवाद उपयुक्त माध्यमबाट समाधान गर्न आह्वान गर्दै पूर्वअमेरिकी राष्ट्रपतिले मतपत्रको माध्यमबाट नेपाली जनताले व्यक्त गरेको अभिमतको एमाओवादीले सम्मान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
अब बन्ने संविधानसभाले राजनीतिक मतभिन्नतालाई किनारा लगाउँदै नेपाललाई आर्थिकरुपमा समृद्ध, प्रजातान्त्रिक एवम् राजनीतिकरुपमा स्थिर बनाउन जनचाहनाअनुरुपको संविधान बनाउने विश्वास व्यक्त गर्दै उहाँले वैदेशिक लगानी सुनिश्चित गर्न पनि राजनीतिक स्थायित्व एवम् विकास अपरिहार्य भएको बताउनुभयो । आफूले एमाओवादीका नेता डा. बाबुराम भट्टराईलाई भेटेको र उहाँले आफ्नो दलले जनमतको सम्मान गर्ने जानकारी दिएको बताउँदै बिहीबार उक्त पार्टीका अध्यक्षलाई भेटेर निर्वाचनको परिणाम स्वीकार गर्न अनुरोध गर्ने जानकारी दिनुभयो ।
नेकपा–माओवादीको व्यवधान र हिंसात्मक गतिविधि रहँदारहँदै पनि उल्लेखनीय रुपमा संविधानसभा निर्वाचन सम्पन्न भएकामा नेपालप्रति बधाई ज्ञापन गर्दै उहाँले कार्टर सेन्टरले मतगणनालगायत निर्वाचन प्रक्रियाको अनुगमन गरिरहेको बताउनुभयो ।
कार्टर सेन्टरका पर्यवेक्षकहरूले नेपालका तीनसय ३६ मतदान केन्द्र र ३१ वटा मतगणनास्थलको पर्यवेक्षण गरेको जानकारी दिँदै पूर्व राष्ट्रपति कार्टरले त्यसबाट आफूहरू सन्तुष्ट रहेको बताउनुभयो । रासस
Discussion about this post