काठमाडौँ । चीनले नेपालमा अब बन्ने संविधानसभा शीघ्र संविधान बनाउन सफल हुने विश्वास व्यक्त गर्दै बिना व्यवधान निर्वाचन सम्पन्न भएकामा त्यसको स्वागत गरेको छ ।
यहाँस्थित चिनियाँ दूतावासले बुधबार अपराह्न एक वक्तव्य जारी गरी वार्ता र परामर्शलाई बढावा दिँदै नेपालका राजनीतिक शक्तिहरू राष्ट्रिय स्थायित्व एवम् विकासका लागि चाँडोभन्दा चाँडो संविधान लेखनको प्रक्रिया पूरा गर्न सफल हुने आशा प्रकट गरेको छ । ‘चिनियाँ र नेपाली जनताको लाभका निम्ति अघि सारिएको ‘चीन–नेपाल विस्तृत साझेदारी सहयोग’ नीतिलाई निरन्तर अघि बढाउन चीन तयार रहेको छ’– अनन्तकालदेखिको चीन–नेपाल सम्बन्धको चर्चा गर्दै वक्तव्यमा भनिएको छ ।
त्यस्तै भारतले नेपालमा अब बन्ने संविधानसभाले जनभावनाअनुरूपको नयाँ संविधान जारी गर्ने आशा प्रकट गर्दै त्यसले शान्ति, विकास, समृद्धि एवम् स्थायित्वमा योगदान गर्ने विश्वास व्यक्त गरेको छ ।
मंगलबार राति अबेर भारतीय विदेश मन्त्रालयले स्वतन्त्र एवम् निष्पक्ष रूपमा संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा नेपाली जनता, राजानीतिक दल, सरकार, निर्वाचन आयोग, सबै सुरक्षा निकायप्रति बधाई ज्ञापन गर्दै जारी गरिएको वक्तव्यमा मतदाताको उत्साहजनक सहभागितालाई प्रजातान्त्रिक प्रक्रियामाथिको जनविश्वास भनिएको छ ।
भारतले प्रजातान्त्रिक लक्ष्य र समृद्ध नेपाल निर्माणको जनचाहनाका साथै विकासका कार्यसूची (एजेन्डा) पूरा गर्न नयाँ संविधानले मार्गनिर्देश गर्ने भन्दै निर्वाचनका निम्ति बन्दोबस्तीका सामग्री उपलब्ध गराउन पाएकामा हर्ष प्रकट गरेको छ । ‘नजिकको मित्र र छिमेकीका नाताले नेपाली जनता र सरकारलाई उनीहरूका ऐतिहासिक प्रयत्नहरूमा सधैँ सहयोग गर्न भारत तत्पर छ’, वक्तव्यमा भनिएको छ । रासस
Discussion about this post