नारायणगढ । संविधानसभा सदस्यको अर्को निर्वाचन मंगलबार सम्पन्न भएको छ । डर र त्रासकाबीच भए पनि मतदाताहरु मतदान केन्द्रमा पुगेर मतदानमा सहभागी भए । अघिल्लो संविधानसभाको निर्वाचनमा मत खसालेका भन्दा पनि मत हाल्न नपाएकाहरु बढी उत्साही भएर मत खसालेका छन् । तर उनीहरु पनि संविधान बन्नेमा भने ढुक्क देखिन्नन् ।
अघिल्लो संविधानसभाको निर्वाचनमा एमाओवादीले ल्याएको अप्रत्यासित नतिजा र अन्तिम समयमा आएर संविधान जारी नहुनु जस्ता कारणहरु नै अहिले पनि दोहोरिन सक्ने उनीहरुको अड्कल छ । अहिलेको संविधानसभाको निर्वाचनमा मत हाल्न नपाएका गुञ्जनगरका २४ वर्षीय राजेन्द्र भुषालले यसपटक मत खसाले । उनले मत खसाले पनि देशको मुहार फेरिन्छ फेरिन्न भन्न नसक्ने बताउँछन् ।
‘मैले नागरिकको मताधिकार प्रयोग गरेर आफ्नो कर्तव्य निभाएको छु’, उनले भने, ‘हाम्रो कर्तव्य भनेको योग्य प्रतिनिधि छान्ने हो बाँकी भनेको जनताको प्रतिनिधिहरुको काम हो संविधान दिने ।’ त्रासकाबीच जनताले आफ्नो कर्तव्य पूरा गरेको भन्दै नेताहरुले पनि जनतालाई नयाँ संविधान दिएर आफ्नो कर्तव्य पूरा गर्नुपर्ने उनको भनाइ छ ।
आफूले अघिल्लो पटक संविधानसभाको निर्वाचनमा मतदान गर्न नपाए पनि संविधान बन्ला भन्ने आश गरेर बसेको उनले बताए । ‘अब पनि संविधान बनेन भने निर्वाचनप्रति मतदाताको विश्वास तोडिन्छ’, उनले भने, ‘अरुको कुरा म जान्दिनँ, तर मैले चाहिँ कहिल्यै मतदान गर्ने छैन्, अरुले पनि त्यस्तै गर्छन् ।’ अब पनि संविधान नबने आफ्नो पहिलो र अन्तिम मतदान हुने भुषालको भनाइ छ ।
त्यस्तै कठार–९ का टंकप्रसाद तिवारी पनि संविधान बन्नेमा पूरा ढुक्क छैनन् । ‘आश त गर्नुप¥यो’, उनले भने, ‘तर पूर्ण विश्वास भने छैन ।’ अघिल्लो संविधानसभाको कमजोरीबाट पाठ सिकेर संविधान बनाउँछन्की भन्ने झिनो आशा रहेको तिवारीले बताए ।
त्यस्तै, रत्ननगर बकुलहरकी सरोजा बस्याललाई पनि संविधान बन्नेमा त्यति विश्वास छैन । ‘संविधानसभाको निर्वाचन एक जुगमा एक पटक आउँछ, मत नहाल्ने पछुताउँछन् भनेर अघिल्लो पटक मत मागे’, उनले भनिन्, ‘होला तनी भनेर भोट हालियो तर संविधान बनेन ।’
फेरि पनि संविधान बन्ने त्यही आशामा मताधिकार प्रयोग गरेको बताउने उनले अझै पनि संविधान बनाउन सकेनन् भने देशमा कहिल्यै पनि संविधान नबन्ने बताइन् । मतदान केन्द्रबाट मत खसालेर बाहिरिने हरेकको मुहारमा संसार जितेको खुसी देखिन्थ्यो मंगलबार तर उनीहरुलाई संविधान बन्छ त भनेर प्रश्न गर्दा त्यो मुहारको उमंग ओइलिएको पाइयो ।
‘संविधान बन्ला कि भनेर त भोट हाल्ने हो’, नारायणगढको चमेलीदेवी मतदान केन्द्रबाट मतदान गरी बाहिरिएका श्रीकृष्णप्रसाद तिमल्सिनाले भने, ‘अघिल्लो पटक त्यही आशामा हालेको हो अहिले पनि त्यही आशामा हालेँ ।’ संविधान बन्ला नबन्ला आफ्नो ठाँउमा छ तर पनि आफ्नो अधिकार प्रयोग गर्नबाट किन पछि हट्ने ? उनको प्रश्न थियो ।
यता सुभद्रा नेपालीको भने अहिलेको निर्वाचनमा मत हाल्नुको कारण अर्कै छ । पहिले त उनलाई किन मत हाल्नु जस्तो लागेको थियो । तर उनले नेकपा–माओवादीको विरोध र हिंसात्मक गतिविधिलाई मत नहालेर समर्थन गर्नु भन्दा नै मतदान गरेर विरोध गर्नु उचित लागेर मतदान गरेको बताइन् । ‘मत नहाल्ने सोचमा थिएँ’, बालकुमारी मतदान केन्द्रबाट मत हालेकी क्याम्पसे विद्यार्थी सुभद्राले भनिन्, ‘वैद्यहरुको निर्वाचन विथोल्ने अभियानलाई असफल पार्नकै लागि भए पनि मतदान गरेँ ।’
संविधान बन्ला नबन्ला अर्को ठाँउमा रहे पनि अर्काको अधिकार कसैले कुण्ठित गर्न नपाउने उनको तर्क छ । ‘निर्वाचन बहिष्कार गर्ने भए आफँैले मतदान नगर्ने’, उनले भनिन्, ‘किन अर्काको मताधिकार कुण्ठित गर्ने ?’
Discussion about this post