भरतपुर । हिजोसम्म दलका नेता भोट माग्नमै व्यस्त थिए । आजबाट मौन अवधि सुरु भएकाले दलका चहलपहल शून्य प्रायः छ । अहिले मतदाता परिचयपत्र लिनेको भीड हरेक मतदान केन्द्रमा देखिन्छ । गाविस भवन सिद्धि मतदानस्थलमा पनि चेपाङको राम्रै चहलपहल छ ।
अधिकांश चेपाङलाई परिचयपत्र लिने कसरी भन्ने पनि थाहा छैन । त्यसैले केही अगुवा चेपाङ उनीहरूलाई बाटो डोहो¥याउँदै छन् । उनीहरूको चहलपहलले शनिबार नै निर्वाचनको मतदानको दिन हो झैँ देखिन्थ्यो । भवनको साँघुरो क्षेत्रमा ठेलमठेल लाममा छन् उनीहरू, गाविसका कर्मचारी र स्वयम्सेवक उनीहरूको व्यवस्थापनका खटिएका छन् ।
गाविस–१, २, ७, ८ र ९ का चेपाङको मतदान केन्द्र भएकाले अन्य भन्दा अलि भीड पनि छ, जहाँ ८७२ मतदाता त्यहाँ छन् । अर्काे मतदान केन्द्र मझवाङमा छ ।
त्यहाँ भएका चेपाङमध्ये गया चेपाङ अगुवामा पर्नुहुन्छ । “के गर्ने सर, नसिकाए हामी चेपाङका छोराछोरीलाई केही गर्नै आउँदैन, कार्ड नै नलिई फर्केलान् भन्ने डर छ”–भीडका बीचबाटै उहाँले आफ्ना समुदायको पीडा सुनाउँदै भन्नुभयो–“मतदाता बनेका चेपाङहरूमा भने ठूलो उत्साह देखिएको यहीँ भीडबाट पनि बुझ्न सकिन्छ ।” कतिपयलाई परिचयपत्र नलिए भोट हाल्न पाइँदैन भन्ने चिन्ता छ । नागरिकता या अन्य परिचयपत्र भएपनि हुन्छ भन्ने चेतना कमैलाई छ ।
‘‘अहिलेको मतदाता परिचयपत्र नभए पनि भोट चाहिँ हाल्न पाइन्छ’’–एकजना कर्मचारीले धेरैबाट ओइरिएको एउटै प्रश्नको जवाफ दिए । ‘‘सर, मलाई त थाहा भएन पो, भोट हाल्न पाइन्नकी’’–सुन्तली मायाँले आफ्नै शैलीमा भनिन् । अगुवा गया चेपाङ यसपालि भने संविधान बन्छ कि भन्ने आशा लागेको बताउनुहुन्छ तर उहाँलाई संविधानको भन्दा गाँस, बास र कपासको चिन्ता छ ।
“हाम्रो गाउँमा विकास भयो भने हामीलाई त्यही थुलो (ठूलो) हो–उहाँले भन्नुभयो–“अहिले चेपाङ तीनवटा मुद्दामा केन्द्रित छन् । एउटा राम्ररी पढ्न पाउनुपर्छ भन्ने हो । अर्काे दशकौँदेखि प्रयोग गर्दै आइरहेको खोरियाको पूर्जा र अर्काे पेटभरि खान पाउने वातावरण हुनुप¥यो भन्ने हो ।”
यस पटकको भोट उनीहरूले यसैमा केन्द्रित गरेको सो क्षेत्रको वातावरणले बताउँछ । लामो समयदेखि चेपाङको विकासमा लाग्दै आउनुभएका केपीकिरण शर्मा उनीहरूको अपेक्षा– पढाइदेऊ, लालपूर्जा देऊ र भोक मेटाइदेऊ भन्ने नै भएको बताउनुहुन्छ । सिद्धिका दामराम चेपाङ अझ सबैभन्दा ठूलो माग भनेको भोक मेटाउने नै भएको बताउनुहुन्छ । नेताहरू भोत (उनीहरूको भाषामा भोटलाई भोत) माग्न आएका बेलामा पनि आफूहरूले त्यही भनेको उहाँको भनाइ छ । पढाइको चेतना पछिल्लो समयमा केही बढेको भए पनि अझै उनीहरूमा पढाइ प्राथमितामा पर्दैन ।
स्थानीय सन्तबहादुर प्रजा भन्नुहुन्छ–‘‘आ सर पढाइ त त्यस्तै हो पेतभरि खान पाए भो ।’’ बुझेका अगुवा चेपाङ भने पढाइ ठूलो हो भन्नेमा विश्वस्त भइसकेका छन् ।
चेपाङ विकासका लागि विशेष कार्यक्रम सबै गाविसमा लैजान सके उनीहरूको आर्थिक विकासमा टेवा पुग्ने र जीवन धान्न गिट्ठा, भ्याकुर खानु नपर्ने स्थानीयको भनाइ छ । सो मतदानस्थलमा दिनभरको गतिविधि हेर्दा उनीहरूको अनुहारले पनि अब आफ्नो जुनी फेरिने किसिमको विकास मागेको छ । अब जितेर संविधानसभामा जानेले सदियौँदेखि पछाडि पारिएका चेपाङजस्ता वर्गका लागि आर्थिक सबलीकरण गर्न आयआर्जनका कार्यक्रम दिनु जरुरी छ । तब मात्रै पार्टीका चुनावी घोषणापत्रमा उल्लेख भएका गरिबी निवारणका कार्यक्रमले सार्थकता पाउनसक्छ, नत्र ती नारा घोषणापत्रमा मात्रै सीमित हुनेछन् । रासस
Discussion about this post