मङ्सिर ४ को जहाज उड्यो !

अन‌ि यो पनि

काठमाडौँ । मङ्सिर ४ आउन अब घण्टागत रूपमा उल्टो गन्ती सुरु भएको छ । राजनीतिक दल तथा उम्मेदवारहरूका सम्पूर्ण चुनावी प्रचारप्रसारका काम अन्त्य भएको छ । निर्वाचनको भाषामा मौन समय बितिरहेको छ । कुनै अकल्पनीय दुर्घटना आइपरेन भने नेपाली जनताले सो दिन संविधानसभाको गठनका लागि आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।
निर्वाचनका खेलाडीहरू खेल मैदानमा प्रवेश गरिसकेको अवस्था छ । स्वच्छ, निष्पक्ष, धाँधलीरहित खेल सम्पन्न गर्न निर्वाचन आयोगले पनि सबै तयारी पूरा गरेको जनाएको छ । निर्वाचन आवश्यक सामग्री लिएर मतदानस्थलमा आवश्यक जनशक्ति पुगिसकेका छन् । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको अध्यक्षता बसेको मन्त्रिपरिषद्कोे २०७० जेठ ३० गते बैठकले अर्को संविधानसभाको निर्वाचनको मिति घोषणा गरेको थियो ।
चार वर्ष अवधिसम्म तन्किएको अघिल्लो संविधानसभाले संविधान दिन नसकेर अकल्पनीय रूपमा विघटन भएयता विकसित कतिपय अपत्यारिला राजनीतिक घटनाक्रमपछि अन्ततः नेपाली जनता अर्को संविधानसभा निर्वाचनको सङ्घारमा आइपुगेका हुन् । निर्वाचन अयोगले असार ४ गते निर्वाचन कार्यक्रम प्रकाशित गरी निर्वाचनको तयारीमा जुटेको थियो । आयोगले असार २६ गते २५ बुँदे निर्वाचन कार्यतालिका प्रकाशित गरी निर्वाचनलाई तीव्रता दिएको थियो ।
साउन ७ गते निर्वाचन आचारसंहिता जारी भएर असोज १७ मा प्रत्यक्ष र समानुपातिकको बन्दसूचीपछि तातेको राजनीतिक दल तथा उम्मेदवारहरूको घरदैलो, कोणसभा, छलफल, भेटघाट र ठूला सभाले तताएको चुनावी माहौल चरम उत्कर्षमा पुगेर अहिले मतदाताको निर्णयको उत्कट प्रतीक्षामा रहेका छन्–राजनीतिक दल र उम्मेदवारहरू । मतदाताले कुन दल र उम्मेदवारलाई रोजी नयाँ इतिहासमा बीउ रोप्न हुने यसको तीव्र प्रतीक्षामा छ–सिङ्गो देश ।
निर्वाचन बहिष्कार, बन्द र केही दिनयता घटेका बम आतङ्कजस्ता घटनाले चुनावमा केही तनाव थपे पनि सरकारले निर्वाचन गतिविधि बिथोल्नेलाई कडा कार्वाहीको चेतावनी दिँदै निर्धक्क भएर मतदान गर्न आह्वान गरिरहेको छ ।
यसपटकको निर्वाचनमा कुल एक करोड २१ लाख ४७ हजार ८६५ मतदाताले मताधिकार प्रयोग गर्दैछन् । तीमध्ये महिला ६१ लाख ६६ हजार ८२९, पुरुष ५९ लाख ८० हजार ८८१ पुरुष र  तेस्रो लिङ्गी १५५ रहेका छन् । निर्वाचन आयोगले पहिलोपटक ती मतदाताको फोटोसहितको विवरण र अस्थायी परिचयपत्र तयार गरेको छ ।
आयोगले पहिलोपटक तेस्रो लिङ्गी मतदाता छुट्याएको छ । आयोगका ७५ जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र घुम्ती टोली बनाई फोटोसहितको नामावलीमा आफ्नो नाम सूचीकृत गरेका थिए ।
सबैभन्दा बढी क्षेत्र र मतदाता काठमाडौँमा रहेका छन् । १० वटा क्षेत्रमा पाँच लाख ३२ हजार ११० रहेको छ भने सबैभन्दा कम मनाङ जिल्लामा एक निर्वाचन क्षेत्रमा चार हजार ७९५ मतदाता रहेका छन् । क्षेत्रगत रूपमा सबैभन्दा बढी भक्तपुर क्षेत्र नं २ मा ८२ हजार २१८ मतदाता रहेका छन् ।
अघिल्लो संविधानसभामा एक करोड अघिल्लो संविधासभामा एक करोड ७६ लाख ११ हजार ८३२ मतदाता थिए । तीमध्ये ६१.७ अर्थात् एक करोड आठ लाख ६६ हजार १३१ ले मत खसाले । खसालेको मध्ये ५.१५ प्रतिशत अर्थात् पाँच लाख ६० हजार ११ मत बदर भयो ।
यसपटक मतदान स्थल बढेको छ, केन्द्र घटेको छ । यसपटक १० हजार १३ मतदान स्थल र १८ हजार ४५७ केन्द्र रहेका छन् । अघिल्लोमा नौ हजार ८२१ मतदान स्थल र २० हजार ८८८ केन्द्र थिए । सुरक्षा निकाय, वृद्वाश्रम, कारागारमा रहेका कैदी, सरकारअन्तर्गतका कर्मचारीका लागि अस्थायी मतदानस्थल ३०० छ । प्रत्येक जिल्लामा कम्तीमा एक मतदान केन्द्र सञ्चालनको नेतृत्वको महिलाले गर्नेछन् भने ४१ जिल्लाका ८० मतदान केन्द्र सबै महिला कर्मचारी रहने आयुक्त ईला शर्माले बताउनुभयो । पहिलोपटक ५० वृद्धाश्रममा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
आयोगले पहिलोपटक झापा, काठमाडौँ, कास्की, मोरङलगायत १५ जिल्लामा ¥याम्पसहितको ४९ मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाएको छ । पहिलोपटक आयोगले आफ्ना मतदान स्थललाई अपाङ्गमैत्री बनाउने नीति लागू गरेको थियो ।
आयोगले प्रत्यक्षतर्फ २४० निर्वाचन क्षेत्रमा सो क्षेत्रको उम्मेदवारका सङ्ख्याका आधारमा कुल एक करोड ४९ लाख ५२ हजार हल्का नीलो रङ र सोही सङ्ख्यामा समानुपातिक निर्वाचनका लागि हल्का रातो रङको मतपत्र छापेको छ ।
यसपटक २२ प्रतिशत बढी मतपत्र छापिएको बताइएको छ । अघिल्लो निर्वाचनमा दुवैतर्फ गरी चार करोड १२ लाख मतपत्र छापिएको थियो जसमा प्रत्यक्षमा दुई करोड चार लाख र समानुपातिकमा दुई करोड आठ लाख छापिएको थियो । मतपत्र छाप्न कागज संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले सहयोग गरेको थियो भने जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ भएको थियो ।
मतदान केन्द्रका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, श्रेणीविहीन गरी एक लाख २५ हजार ८५८ र स्वयम्सेवक गरी ८८ हजार ९४४ सहित दुई लाख १४ हजार ८०२ परिचालन हुनेछन् । यसमा नेपाली सेनाका ६२ हजार, नेपाल प्रहरी ४८ हजार, ४५ हजार म्यादी, ३२ हजार सशस्त्र प्रहरी बल र चार हजार अनुसन्धानका परिचालन हुनेछन् ।  उम्मेदवार, मतदान स्थल र मतदाता केन्द्रित एकीकृत सुरक्षा योजना यो पटकको निर्वाचनमा लागू भएको छ ।
मतदानस्थलको सुरक्षाका लागि पहिलो घेरमा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा निर्वाचनमा पहिलोपटक परिचालन गरिएको नेपाली सेनाले सुरक्षा दिने व्यवस्था मिलाइएको निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले जानकारी दिनुभयो ।
निर्वाचनका लागि सात अर्ब ७५ करोड खर्च हुनेछ । विदेशी सहयोगअन्तर्गत शान्ति कोषमार्फत चार अर्ब ७५ करोड र सरकारले तीन अर्ब रुपैयाँ प्रदान गरेको छ । जापान सरकारले २० करोडबराबरको निर्वाचन सामग्री आयोगलाई सहयोग गरेको छ जसमा ठूलो खालको मतपेटिका, स्टिकर, सिलजस्ता नौ प्रकारका सामग्री छन् ।
चीनले रु १६ करोडबराबरका मतदानका दिन मात्र प्रयोग हुने १६ प्रकारका सामग्री सहयोग गरेको छ जसमा गुलस्टिक, क्यालकुलेटरी, कलमसहितका सामग्री रहेका छन् । भारतले निर्वाचनको प्रयोजनका लागि गृह मन्त्रालयलाई अनुदान सहयोगस्वरूप ट्रक, जिप, पानी ट्याङ्कर र कारसहितका ७१६ वटा यातायातका साधन दिएको छ ।
यसपटक प्रत्यक्षतर्फ १३० र समानुपातिकतर्फ १२२ दल सहभागी छन् । ३३५ स्थान रहेको समानुपातिक निर्वाचनका लागि १२२ दलका १० हजार ७०९ उम्मेदवार कायम रहेको छ । ती  उम्मेदवारमध्ये पुरुष पाँच हजार ४४८ र महिला पाँच हजार २९१ छन् । ती दलहरूले बन्दसूचीमार्फत बुझाएका ३०२ उम्मेदवारको नाम विभिन्न कारणले बन्दसूचीबाट हटाइएपछि उक्त सङ्ख्या बाँकी रहेको हो । प्रत्यक्षमा ६ हजार १२८ प्रतिस्पर्धी छन् । तिनमा ६६८ महिला, पुरुष पाँच हजार ४५९ र तेस्रोलिङ्गी एकजना छन् । अपाङ्ग तीनजना रहेका छन् ।  निर्वाचन आयुक्त डा रामभक्त पिबी ठाकुरले निर्वाचनलाई विश्वसनीय र अन्तराष्ट्रिय मापदण्ड अनुरुपको बनाउन ५४ स्वदेशी संस्थाका ७४ हजारले आवेदन दिएको जानकारी दिनुभयो । पर्यवेक्षकमा जानेमा ३० हजार हाराहारीले परिचयत्र लिएर काम गर्ने बताइएको छ । कार्टर सेन्टर, एफ्रिल र युरोपियन युनियनका २३९ ले पनि पर्यवेक्षमा सहभागी हुनेछन् । त्यस्तै आयोगले सार्क राष्ट्रका  प्रमुख निर्वाचन आयुक्तसहित बेलायत, अस्ट्रेलिया, जापानका सरकार एवम् संसदका प्रतिनिधिलाई निर्वाचन दिनको अवलोकनका लागि आमन्त्रण गरेको छ । तीमध्ये अधिकांश काठमाडाँै आइसकेका छन् ।
आयोगले आधुनिक सूचना प्रविधिका फेसबुक, ट्विटर, अनलाइनजस्ता सामाजिक सञ्चालको प्रयोगसहित पर्चा, पम्प्लेट लगायतका सामग्रीबाट देशव्यापी निर्वाचन कार्यक्रमका लागि शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिरहेको छ ।
निर्वाचन आयुक्त गुरुङका अनुसार ३० हजार जनशक्ति यो अभियानमा खटाइएको छ । बदर मत कम गराउन आयोगले देशव्यापीरूपमा मतदाता शिक्षा सञ्चालन गरेको हो । अघिल्लो निर्वाचनमा खसेको मतमध्ये ५.१५ प्रतिशत अर्थात् पाँच लाख ६० हजार ११ मत बदर भएको थियो । ६ प्रतिशतभन्दा बढी मत बदर भएका समेत गरी ११५ स्थानमा निर्वाचन विशेष शिक्षा सञ्चालन गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त उप्रेतीले भन्नुभयो–“मङ्सिर ४ को निर्वाचनका लागि जहाज उडिसक्यो  सेफरूपमा ल्यान्ड गर्ने कुरामा कुनै शङ्का छैन ।” रासस

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया