काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरले संविधानसभा निर्वाचन सम्पन गर्ने वातावरण तयार गर्न मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र उहाँले नेतृत्वको गरेको सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।
अध्यक्ष रेग्मीसँग आइतबार प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा कार्टर सेन्टरका संस्थापक उहाँले निर्वाचनका निम्ति वर्तमान सरकारले गरेको प्रयासको अन्तर्राष्ट्रिय समुदायले उच्च मूल्याङ्कन र प्रशंसा गरेको बताउनुभयो । संविधानसभा निर्वाचनको तयारीबाट आफू उत्साही भएको बताउँदै पूर्वराष्ट्रपतिले नेपालको विशेष परिस्थितिमा हुन लागेको निर्वाचनको तयारी, व्यवस्थापन र सुरक्षा प्रबन्धबाट स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको मन्त्रिपरिषद्का अध्यक्षको निजी सचिवालयले जनाएको छ ।
पूर्वराष्ट्रपति कार्टरले नेपालमा रहेको कार्टर सेन्टरले गरेको अध्ययनबाट नेपाली मतदाता अर्काे संविधानसभा सदस्य निर्वाचनमा मतदान गर्न आतुर रहेको आफूले पाएको बताउँदै निर्वाचनपछि नेपालमा शान्ति, विकास र समृद्धिको थालनी हुने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष रेग्मीले कार्टर सेन्टरलगायत अन्य अन्तर्राष्ट्रिय समुदायले निर्वाचनको पर्यवेक्षण गर्न तथा निर्वाचनमैत्री वातावरण निर्माण गर्न गरेको सहयोगको सराहना गर्दै सरकारले निर्वाचन लक्षित सुरक्षा प्रबन्धलाई मजबुत बनाइएकाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा आश्वस्त रहन आग्रह गर्नुभयो । साथै निर्वाचन पर्यवेक्षणका लागि कार्टर स्वयम् उपस्थित हुनु भएकामा मन्त्रिपरिषद् अध्यक्षले आभार व्यक्त गर्नुभयो ।
अध्यक्ष रेग्मीले निर्वाचनविरोधी कुनै पनि हिंसात्मक गतिविधि हुन नदिन सरकारले विशेष सुरक्षा रणनीति अवलम्बन गरेको जानकारी गराउँदै भयरहित वातावरणमा निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सरकार दृढ रहेको बताउनुभयो । मतदाताको सविधानप्रदत्त मताधिकारलाई कुण्ठित पार्ने दुराशयले कसैले अवरोध गर्ने, हिंसात्मक कार्य गर्ने वा कानुनप्रतिकूल कुनै कार्य गरेमा वा गर्न लगाएमा त्यसलाई सरकारले कानुनबमोजिम कारबाही गरी बालिग मताधिकार सुनिश्चित गरिने पनि उहाँले पूर्वराष्ट्रपति कार्टरलाई जानकारी दिनुभयो । रासस
Discussion about this post