संविधानसभा निर्वाचन आउन अब दुई दिनमात्र बाँकी रहँदा आमसर्वसाधारणले निष्पक्ष र धाँधलीरहित होस् भन्ने कामना गरेका छन् । राजनीतिक दलहरुले चुनावी नतिजा आफ्नो पक्षमा पार्न विभिन्न प्रलोभनहरु फ्याँक्न थालेका छन् । सरकारले मतदान स्थललगायत मतदातालाई पूर्ण सुरक्षित तवरले मतदान गराउने वातावरण सिर्जना गर्न लागिपरेको छ । बहिष्कारवादी मोर्चाको अनावश्यक हल्ला आतंकका कारण मतदाताहरुले निश्चिन्त भएर मतदान गर्न पाउने हुन् कि होइनन् भन्ने भ्रम सिर्जना पनि भइरहेको छ । निर्वाचनमा भयरहित वातावरणमा सबै मतदाताहरुले आफूले चाहेका उम्मेदवार तथा दलमा मतदान गर्न पाउनु लोकतान्त्रिक अधिकार हो । तर, दलहरुले चुनाव जित्न अनेकौँ तिकडमहरु अपनाउन सक्ने सम्भावना पनि उत्तिकै छ । निर्वाचन आचारसंहिताअनुसार मतदातालाई प्रभावित बनाउन, आर्थिक प्रलोभन तथा डर, त्रास उत्पन्न गर्न नपाइने उल्लेख छ । निर्वाचनमा धाँधली गर्ने, सुरक्षा निकायको दुरूपयोग गर्ने, त्रास र आश देखाउनेलगायतका गतिविधि हुन सक्ने खतरा देखिएको छ ।
खासगरी, स्वतन्त्र रुपमा मतदान गर्ने मध्यमार्गी मतदातालाई प्रलोभन र आश्वासन दिएर मत तान्ने प्रवृत्ति छ । अघिल्लो संविधानसभामा प्रभावशाली उम्मेदवार तथा तिनका दलले मत तान्ने रणनीतिस्वरुप भोजभतेर खुवाउने, पारिवारिक समस्या समाधान गरिदिने, आर्थिक सहयोगको नाममा पैसा बाँड्ने, छोराछोरीको पढाइको व्यवस्था, रोजगारीको प्रबन्धलगायतका लोभ देखाएर मतको दुरूपयोग भएको थियो । निर्वाचन आयोगले जतिसुकै स्वच्छ, निष्पक्ष, स्वतन्त्र, पारदर्शी र विश्वसनीय ढंगबाट सरोकारवालाहरुले पालना गर्नुपर्ने आचारणलाई व्यवस्थित गर्न आचारसंहिता बनाए पनि खर्च गर्न सक्ने सामथ्र्य भएका दल तथा उम्मेदवारले यस्ता भोट आफ्नो पक्षमा पार्ने गर्दछन् । चुनावको पूर्वसन्ध्यामा नै कतिपय दलहरुका अनियन्त्रित खर्च गराइ र भड्किलो प्रचारशैलीले नै यसलाई पुष्टि गर्छ । चुनाव जित्नैपर्ने उद्देश्य बोकेका दलहरुले निष्पक्षताको कुरा केवल प्रचारका लागिमात्र गर्ने गर्दछन् । मतदातालाई फकाउने, तर्साउने, धम्कीपूर्ण अभिव्यक्ति दिने, आफ्नो भन्दा फरक आस्था र विचार बोक्नेमाथि आक्रमण गर्ने रणनीति बनाउनु निष्पक्ष निर्वाचनविरोधी गतिविधि हो ।
मतदान प्रक्रियालाई प्रभावित बनाउन विपक्षी मतदातालाई अवरोध गर्ने, होहल्ला गर्ने, मतदातालाई मतदान केन्द्रबाट भगाउने, मतदान केन्द्रका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई प्रभावमा पारेर बुथ कब्जा गर्नेलगायतका गतिविधि हुन सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ । कतिपय स्थानमा हतियार प्रदर्शन गरी त्रास फैलाउनेसम्मका क्रियाकलाप हुने गर्दछन् । तर, लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने तथा निष्पक्ष र पारदर्शी रुपमा निर्वाचन गर्नका लागि दलहरु जिम्मेवार भएर आचारसंहिताअनुसार अघि बढ्नैपर्छ । कुनै पनि मतदातालाई आफ्नो मतदान गर्ने स्वतन्त्रता हुन्छ । कतिपय अवस्थामा सहयोगीका रुपमा मतदान गर्ने व्यक्ति स्वयंले धाँधली गरी आफ्नो दललाई मत हाल्ने कार्य गर्दछन् । निर्वाचनमा यस्ता क्रियाकलापको अन्त्य हुनु जरूरी छ । स्वतन्त्र रुपमा मतदाताले आफ्नो अमूल्य मतदान गर्न पाउनुपर्छ । विश्वासिलो र मतदाताको मन जित्ने उम्मेदवार तथा दलले निश्चय नै मत पाउँछन् । आर्थिक चलखेल र त्रास देखाएर मतदाताको विचार परिवर्तन गर्न सकिँदैन भन्ने यथार्थलाई मनन् गरिनु आवश्यक छ ।
Discussion about this post