भक्तपुर । भारतमा नुन अभाव र महँगो भएको समाचार आएपनि नेपालमा पनि यसको प्रत्यक्ष असर परिरहँदा भक्तपुरमा भने नुन र चिनीमा कालो बजारी सुरु भएको हो ।
भक्तपुरका खुद्रा व्यापारीले प्रतिकिलो रु १३ पर्ने नुन व्यापारीले रु २० देखि रु २५ सम्ममा बिक्री गरेका छन् । त्यसैगरी रु ६८ प्रतिकिलो पर्ने चिनी यहाँका व्यापारीले प्रतिकिलो रु ८५ मा बिक्री गरिरहेका छन् ।
प्रशासन तथा सरकारी निकाय मङ्सिर ४ को निर्वाचनमा केन्द्रित भएपछि बजार अनुगमनसमेत ठप्प हुँदा यहाँका व्यापारीले नुन र चिनीमा व्यापक कालोबजारी गरेको हुन् ।
भक्तपुर बालकोटका व्यापारी सुमन श्रेष्ठले पसलमा भएको पाँच बोरा नुन एकैदिनमा सकिएको बताउनुभयो । नुनको अभाव भएको हल्ला चलेपछि एकैदिन पाँच बोरा नुन सकिएको बताउनुभयो । नुन अभावको हल्ला चलेपछि उपभोक्ता एकैजनाले १० किलोसम्म नुन लगेको र नुन लिनेको भिड लागेको बताउनुभयो ।
पसलमा आजदेखि बिक्री गर्ने नुन नभएको बताउँदै खुद्रा व्यापारीले एक किलो नुन हिजो अपराह्नदेखिनै रु २० मा बिक्री गर्न थालेको बताउनुभयो । मध्यपुरथिमिका किराना व्यापारी अभिषेक प्रजापतिले नुन र चिनीको अभाव भएको बताउनुभयो । नुन र चिनी अभावको हल्ला भए लगत्तै उपभोक्ताको घुइँचो भएकाले अभाव सिर्जना भएको बताउनुभयो ।
आफूले पनि हिजो साँझ चिनी र नुन महँगोमा ल्याएकाले आजदेखि आफ्ना नियमित ग्राहकलाई मात्र नुन र चिनी महँगोमै बिक्री गरेको बताउनुभयो । चिनीप्रति किलो रु ८५ र नुन प्रतिकिलो रु २५ मा बिक्री गरेको बताउँदै स्टक पनि सकिएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका सुकुलढोका किराना पसलका सञ्चालक अमरनाथ धौबञ्जारले नुन र चिनीको अभाव भएपछि नुन प्रतिकिलो रु २२ र चिनी प्रतिकिलो रु ८० मा बिक्री गरेको बताउनुभयो । बजारमा नुन र चिनीको अभाव छ, खुद्रा व्यापारीले भन्दा पनि होलसेल व्यापारीलेनै सामान नदिएकाले पनि समस्या आएको उहाँको भनाइ थियो ।
कमल विनायक मूलढोकाका उपभोक्ता सुमन कार्कीले बजारमा नुन र चिनीको व्यापारीलेनै कृत्रिम अभाव सिर्जना गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बढी मूल्य तिर्छु भने नुन र चिनी दिन्छन् पुरानै मूल्यमा भए छैन भन्छन्, उपभोक्ता चरम मारमा परेका छन् ।”
सूर्यविनायकका उपभोक्ता प्रविण थापाले बजारमा व्यापारीले कृत्रिम अभाव सिर्जना गरेको र उपभोक्ताले समेत भावको हल्लाले धेरै मात्रामा नुन र चिनी लैजाने गरेपनि अभाव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नुन र चिनीको पसलै पिच्छे मूल्य फरक छ, यतिखेर बजार अनुगमन गर्ने हो भने व्यापारीको गोदाममा नुन र चिनी पाइन्छ ।”
जिल्ला प्रशासन कार्यालय भक्तपुरले भने सबै निकाय निर्वाचनमा केन्द्रित भइसकेकाले बजार अनुगमनमा समस्या आएको जनाएको छ । रासस
Discussion about this post