निर्मलकुमार न्यौपाने
म चार महिनाअघि पनि वर्तमान झैँ जोशिलो उमङ्गमा थिएँ । पहाडको चट्टान फोर्न सक्ने सामथ्र्य, भविष्यमा फुल्ने र फल्ने चित्र–विचित्रका रेखा कोर्ने मगज अनि त्यही समय विपरीत लिङ्गीको आकर्षणले एकै नजरमा पग्लने उमेर । तर, मेरा सचेत आँखाहरु थिए । म पग्लनुभन्दा पहिले वास्तविकता नियाल्थेँ, अनि मनभरिका छरपस्ट वासनाहरु सत्बिन्दुमा राखेर सुगन्ध पाउने कल्पना र परिकल्पनामा रमाउँथे ।
मेरो जीवनको प्रमुख सपना पढाइलाई निरन्तरता दिनु अनि भविष्यको उजेली पल नियाल्नु । म.र.ब. कलेज इलाममा स्नातक दोस्रो वर्षको पढाइमा म तरल थिएँ । इलाम बजारमा आफ्नो डेरा हुनाले जिल्ला शिक्षाछेउको घुमाउरो पथ पार गर्दै कलेज पुग्नुपर्ने हुँदा आसपासका मनमोहक प्राकृतिक दृश्यहरु बाटैछेउमा रहेको मायालु होटलप्रति मेरो निकट सम्बन्ध थियो । कलेजबाट फर्कंदा दिनहुँ सो होटलमा चियानास्ता खान्थँे । यस कारण, होटलप्रति मेरो आत्मीयता अझ बढेको थियो ।
कलेजमा मेरा आत्मीय साथीहरुका मेरा जस्तै सचेत आँखाहरु थिए । उनीहरु पढाइलाई अँगाल्दै कोही प्रेमिकाको प्रतीक्षामा चौतारीमा बस्थे, कोही पत्रिकाको पाना पल्टाउँदा देख्ने सुन्दरीलाई आफ्नी प्रेमिकासँग तौलन्थे । जवानीमै जीवनको जग बनिसक्ने हुनाले म मौन थिएँ । मेरो मौनता देखेर उनीहरु मलाई गाईप्राणी भनेर जिस्क्याउँथे ।
तर मेरो मनले हिमालको हिउँ, पहाडको झरना, वसन्तको गुलाफ, सागरको मोतीमा हुने गुणझँै वास्तविक प्रेमको उपहार चाहन्थ्यो । त्यही कारण, नजर लगाउनेहरुलाई विपरीत रुपले स्वीकारेको थिएँ । तर, मनले बहुगुणकी धनी प्रेमिका खोजिरहेकै थियो । साथीहरुका प्रेमिका कस्ता थिए, मैले अनुहार पढेको थिइनँ ।
समयको आरोह–अवरोहसँगै सोही वर्षको परीक्षा दिएपछि म आफ्नो घर बुधबारे फर्कें । त्यो समय मेरो इलाम बजारको परिवेशमा कुनै पनि सम्बन्ध रहेन । एक महिनापछि तेस्रो वर्षको वसन्तको आरम्भ भो । म आफ्नै डेरातर्फ फर्कें ।
मेरो कलेज जाने क्रम दोस्रो वर्ष झैँ आरम्भ भोे । चियानास्ता खाने मायालु होटलमा सधैँ मायालु आन्टी बस्थिन्, तर भर्खरै उनले होटल बेचेपछि त्यहाँ १८÷१९ वर्षकी नवकिशोरीको आगमन भएको रहेछ । म अतीत झैँ होटलमा पुगेँ, उनी होटलको काममा तल्लीन थिइन् ।
मैले सम्बोधन गर्दै भनेँ– “बहिनी, एक कप चिया पिऊँ है, मेरो त सधैँ चियानास्ता खाने यही होटल हो ।”
उनले मतिर फर्कंदै मलिन स्वरमा भनिन– “तपाईंहरुकै सेवाका लागि त हो नि यो होटल ।”
साँच्चै, हाम्रै सेवाको लागि त हो नि यो होटल । मेरो मनमा कल्पना र परिकल्पना नाच्न थाले । मेरो मनले उनलाई केही कुरा सोध्न निर्देश गरिरहेको थियो ।
मैले मलिन स्वरमा सोधेँ– “तिम्रो परिचय ?”
“ए, मेरो….. (मायालु स्वरमा)….. मै–ना ।”
“कतिमा पढ्छौ ?”
“भर्खरै प्रवेशिका परिक्षा दिएकी, अब उच्च तह पढ्ने योजनामा छु ।”
उनले हँसिलो र मायालु चेहराले मलाई सोधिन्– “तपाईंको परिचय नि ?”
“मेरो नाम….. पवन”
“कतिमा पढ्नुहुन्छ…..?”
“स्नातक, तेस्रो वर्षमा”
बातचित हुँदाहुँदै उनले मलाई चिया दिइसकेकी थिइन् । मैले त्यो दिन चिया पिएँ, अनि उनीसँग बिदा मागी डेरातर्फ फर्कें ।
कलेज जाने, फर्कने एउटै समय र एउटै गति अनि एउटै संकल्प । कलेजबाट फर्कंदा मायालु होटल झन्झन् उज्यालो देख्न थालँे, पक्कै पनि मैनाकै कारणले हो । मेरो मनमा कौतुहलताका भावनाहरु उम्लन थाले । उनमा स्याउको दानो झैँ अनुहार, मृगका झैँ नयन, स्निग्ध र मेहेनती पाखुरी, कोइली झैँ मधुर बोली, लजालुपन, इमानदार चरित्र । मैले चार दिनपछि उनका यस्ता धेरै गुण नियाल्न पुगेछु ।
पहिलो पटक मन उपे्रmपछि थाम्न नसकिँदो रहेछ । मैले उनमा अनौठो चुम्बकीय शक्ति देखेँ, जुन शक्तिले म तानिएँ । उनलाई दिलका स्वर्णिम भावहरु पोख्न खोज्थेँ तर उनी डराउँथिन् वा खुसीसाथ सुन्न चाहन्न थिइन् । दिनचर्या बित्दै जाँदा उनमा काँचुली फेरिएन । उनको दिलमा कुनै वेदना सल्किएको जस्तो मलाई भान भो । मैले उनको वेदना कल्पना गरेँ । अनि कल्पित भावना उनलाई सिलसिलापूर्वक जिम्मा लगाएँ ।
वास्तविकता के थियो, मलाई ज्ञान भएन । मेरो कल्पित भावनाले उनको मन छोएछ । मेरा सामु मूक–मिलनको शिर उठाएर मौनतामा हाँसिन्, अनि कड्के नजरले नियाल्न थालिन्, जसरी उनलाई म नियाल्थेँ । यसपछि उनको दिलको ढोका सुस्तरी–सुस्तरी खुल्न थाल्यो । हरेक विषय, सन्दर्भ, भोगाइ, इच्छा सहजै साटासाट हुन थाले ।
“अजिङ्गरको आहारा दैवले जुराउँछ” भने झैँ ओहो ! समय ४ महिना बितिसकेछ । म हरपल उनको स्मृतिले बगिरहेको छु, उनी मप्रति रहेको संकेत दिन्छिन् । मेरा हरेक सोचाइ, हरेक चाहना, हरेक दृढता, संकल्प उनलाई बताउँछु । उनी पनि मेरो जस्तै बताउँछिन् । म नजर जुधाएर उनको तारिफ गर्दा उनी मेरो गर्छिन् । म पढाइको कुरा गर्छु, उनी विभिन्न कुरा मबाट सिक्न खोज्छिन् । म झुपडीमा बस्न रूचाउँछु, उनी झुपडी सजाउन मन पराउँछिन् । म आफूलाई दुःखी ठान्छु, उनी दुःखले धेरै शिक्षा पाइन्छ भन्छिन् । म प्रेमको कुरा गर्छु, उनी वास्तविक प्र्रेमले फुल्ने संकल्प गर्छिन् । यसरी मेरो सुकोमल दिलमा असीम माया बनेर बसेकी छिन् मैना । म मैनाबाट सोचेजस्तो साथ पाउँछु वा पाउँदिनँ, आउने समय कसैको हातमा छैन…..।
Discussion about this post