कुमारी लामा
फेरि अर्को दिन
नयाँ अनि उस्तै पनि…
आकाश उघे्रको छ । घमाइलो तर साह्रै बतास खेल्दैछ । खास चिसो छैन भनेर के गर्नु, हलुका ज्याकेट लगाउनै पर्छ । लन्डनको यो बेसुरा मौसमले बेलाबखत मनलाई सुर हराएको गीतजस्तो बनाइदिन्छ । मौसमले त ठगेकै देश हो यो । न प्रपर समर हुन्छ कहिले, न प्रपर मनसुन । मौसमसँग गुनासो गर्दागर्दै निकै घाम, झरी र हिउँहरु खेपिसकियो अब त । यही कहिले उज्यालिएको र कहिले धुम्मिएका मेरा आँखाहरुले ख्याल नगर्दा नगर्दै पनि केही कुराहरु ख्याल गरिरहेछ ।
निकै दिनदेखि उनी नजरमा छिन् ।
त्यो कफी–सप खुल्नुभन्दा अगाडि नै उनी पुगी सक्छिन् । कफी किन्छिन् ट्रिपलसट ब्ल्याक अमेरिकानो । त्यही कफी–सपको बाहिर राखिएको कुर्सीमा बस्छिन्, अनि कडा कफीसँगै चुरोटको लामो सर्को लिन्छिन् । चुरोट तान्दाको उनको मुहारमा फैलिएको सन्तोषका रेखाहरु देख्दा लाग्छ, योभन्दा अर्को सुख नै छैन संसारमा उनका लागि ।
कडा कफी अनि चुरोट…..
मेरो आङ जिरिङ्ग हुन्छ । कस्तो होला यो लत भन्ने चीज पनि । त्यही पनि दुवै कडा चीजसँगै खानुपर्ने । तीतो कफी र कडा धूवाँ….. के विघ्न मन परेको मान्छेलाई ।
देख्दैछु, उनको कफी र चुरोटको मात्रा दोब्बर हुँदैछ । खै उनले कफी र चुरोटलाई साथ दिएको हो या चुरोट र कफीले उनलाई । उनीहरुको मेल बहुत गाढा हुँदैछ ।
पहिला–पहिला उनी कफी मात्र पिउँथिन् । बिस्तारै चुरोट थपियो । अनि, कफीको मात्रा बढ्यो अनि चुरोट पनि थपिँदै–थपिँदै जाँदैछ । उनीहरु सबैको मित्रता झन्झन् फुल्दै, फक्रिँदै छ । उनी जसको म यति धेरै ख्याल राख्दैछु, एनेस्थेसिया । मध्य तीसतिर हिँड्दै गरेकी उनी साइप्रसकी, लन्डनसँगको मित्रता उनको केही महिनाको मात्र हो । कुनै देशसँग परिचित हुन त्यति सजिलो छैन । कहिलेकाहीँ हामी त्यो देशलाई बुझ्दैनौँ अनि त्यस्तै अन्योलग्रस्त हुन्छ सायद, त्यो देश पनि । उसको आफ्नै पीडा होला । कस–कसलाई मात्र चिन्नु, यो लाखौँ नयाँ अनुहारहरुमा कसको मात्रै ख्याल गर्नु उसले । हामी जस्तै अलमलमा पर्छ सायद, कुनै देश पनि ।
कुरा हुँदैछ, एनेस्थेसियाको । उनी छोरीको उपचारका लागि लन्डनको बिरानोपनासँग परिचय गाँस्न आएकी रहेछिन् । एक वर्षकी उनकी छोरी निकै ठूलो रोग ल्युकेमियाबाट थलिएकी छिन् । मन भुलाउने बाटो उनको बढ्दै गरेको चुरोट र कडा कफी…..।
मन भुल्छ कि झन्झन् पीडालाई ताजा बनाउँछ होला, कफी र चुरोटले ?
लन्डनको मध्य सहर हलबर्नको गे्रट अरमोन्ड चाइल्ड हस्पिटलवरपर यस्ता पीडाहरु यत्रतत्र छरिएका भेटिन्छन् । हावा पनि कति भारी यहाँ मानौँ धेरै आमाहरुको आँसुले गह्रौँ भएको छ । त्यसैले घिस्रिँदै मात्रै छ, बहनुको साटो । बिरामी छ यो हावा पनि । बिरामी कुरूवाहरु प्रायः सबैकै अनुहार उस्तै उदास–उदास । अनिँदा राता आँखा, मलिन अनुहार, भर्खरै झरेको तातो आँसुको वाफ, उड्दै गरेको दुःखी गाला । मनन् गर्दा भेट्छु, यी सब कुराहरु कति जटिल छन् । छातीभित्र केही बटारिन्छ, सलबलाउँछ, अनि गाँठो पर्छ । प्रत्येक बिहानीसँगै उब्जिने अन्योलतासँगै बाँचिरहेका जीवहरु…. धेरैका लागि प्रत्येक नयाँ दिन उत्साहपूर्ण हुन सक्छ ।
तर, एनेस्थेसियाजस्ता आमाहरुमा हरेक बिहानीसँगै भिन्न त्रास थपिन्छ । उनीहरुलाई त्यस बखत निकै धेरै चुरोट र एस्प्रेसोहरु चाहिन्छ । रातभरि ननिदाएको आँखालाई अलिकति बटारिनबाट रोक्नुछ, अर्को ट्रिपल एस्प्रेसोको हात समाउनु प¥यो फेरि । कुनै एक बिहानी नजिक छ, जुनबेला ती अनिँदा रातहरु र दुःखी दिनहरु सब टक्क अडिए झैँ हुनेछन्– बिलकुल शान्त, चिरनिद्रामा झैँ । उनीहरुका ती अनिँदा रातहरु अब छायाजस्तै आफैँसँग सधैँका लागि रहनेछन् । डाक्टरले दिएको डेट त्यति टाढा छैन अब…..।
ओहो !
यी कुराहरु कल्पँदा मात्र पनि मेरो मुटु गह्रौँ हुन्छ । दिन गनाइको पीडा मेरो मनभरि ताजै छ, आज पनि । २०६४ सालको त्यो एक बिहान मन्दिरतिर लम्किएको बाबाको पाइलाहरु कहिल्यै मन्दिरसम्म पुग्न पाएन ।
अब कहिल्यै पुग्नेछैन…..।
शरीर निकै बेरसम्म सडककिनारमै रमिता भएर लडिरहेछ । हेर्नेहरुको निकै ठूलो भीड तर कसैमा पनि साहस छैन, त्यो लडिरहेको शरीरलाई उठाउन । समयमा अस्पताल पुग्दो हो त त्यो चोइटिँदै गरेको सास जोडिन्थ्यो होला । एउटा सामान्य नागरिक यसरी नै रमिता हुनुपर्छ बारम्बार । जीवन बाँचिरहेकै बखत पनि हामी रमिता नै हौँ । बिचरी एनेस्थेसिया पनि रमिता नै हुन् । धेरैले उनको दह्रो चुरोट र कफी पियाइलाई उत्सुकतापूर्वक हेर्छन्, रमिताजस्तै । प्रत्येक चुरोटको जलाइसँगै रमिता हेर्नेहरुले नदेख्ने गरी उनीभित्र केही जल्दैछ ।
झिसमिसेमै काल भएर आएको त्यो गाडीले एक निर्दोष पथिकलाई सडकमा अलपत्र छाडेर अन्धकारमा कतै बिलायो । कतिले रक्सीले मातेर लडेछ छिः यो एकाबिहानै पनि भन्यो होला । कतिले कठै ! कस्तो बिजोग आजकल, मान्छे म¥यो कि कुकुर म¥यो केही पत्तो हुन्न पनि भने होलान् । च्व्… च्व्… च्व्… कठै ! धेरैले भने होलान्, तर कसैले उठाएनन् । सबैले रमिता नै हेरिरहे ।
हो, एउटा साधारण मान्छे यसरी नै विचार, कठै, च्व्… च्व्… भएर सडकमा लड्छ, रक्सी खाएर लडेछ भन्ने आरोप खेप्छ, कुकुरको दर्जामा पुग्छ । तर, आफू निर्दोष भएको बयान दिन नपाउँदै उसको दिमागको नसा चुँडिसक्छ । उसको बयान दिने बाक्यहरु रोकिन्छ ।
एउटा साधारण नेपाली नागरिकको जीवन–मृत्युको संघर्ष गरिरहनुभयो बाबाले अचेत भएर पनि । प्रत्येक बिहान मैले मात्र देखेँ, उहांको तालचिन्डे बेतम्मासले ठूलो भएको टाउको अनि अटोप्सी गरेर प्वाल पारेको छाती । त्यो दृश्य मेरो लागि वास्तविक हुँदै होइन । मेरो बाबाको अनुहार बाबाको जस्तो पटक्कै थिएन । लाग्दै थियो, म कुनै अन्जान व्यक्तिको अचेत अनुहार हेर्दैछु । जीवन र मृत्युको अदृश्य झिनो त्यान्द्रामा संघर्षरत त्यो बीभत्स छटपटाइ मेरा लागि कुनै सिनेमाको दृश्य झैँ देखा प¥यो, त्यस बखत । पीडा बिलकुलै भएन मलाई । आँसु पनि झरेन । न कुनै बौलठ्ठीपना नै…., सायद पीडाको चरम सीमा नाघेको समय यस्तै शान्त हुन्छ मन । दुखाइको महसुसै नहुने । त्यस्तै भयो त्यसबेला मलाई । कुनै चिन्ता, पीडाबिनाको हलुका शरीर…..।
मेरो त्यसबेलाको समय बाँच्दै गरेजस्तो लाग्छ, एनेस्थेसियाले पनि । उनको कफी र चुरोट बढे पनि दिनचर्या सामान्य खाले छ । मानौँ कि उनलाई केही असर नै छैन, छोरीको अन्तिम सास फेराइहरुको ।
एउटा कुरा भने निकै याद छ, त्यसबेलाको । ती सात दिनहरु बिछट्टै लामा लागेंका थिए । दिनहरु दोब्बरजस्ता कहिल्यै बितिनसक्ने । लामो, पट्यारिलो, अनि बिस्तारै–बिस्तारै मुटुमा केही चिसो चीज पसेजस्तो भइरह्यो । त्यो मनमा पस्दै गरेको चिसोबाट जोगिन केही बहानाहरु खोजियो । बहानामा मन भुल्दा सास फेर्न सहज हुन्छ । ती अँध्यारा चिसा दिन र रातहरुमा चिसिएको मनलाई मैले चुरोटका धूवाँहरुले न्यानो पार्ने कोसिस गरे । चुरोटको जलाइसँगै न्यानो भएको बहाना गरेँ मनलाई भुलाउन । कडा सर्कोले टाउको रन्न हुँदा दिमागको दुखिरहेका नसाहरु पनि धूवाँमै अलिकति अल्मलिएर लठ्ठिएजस्तो हुँदारहेछन् । अलिकति शान्तिजस्तो फटफटाइरहेको मनमा । बहाना हो । सिर्फ आफ्नै दुखेको मनलाई दिइने सान्त्वना । मात्र मन भुलाइ । भुलाउनु पर्ने नै मन त हो आखिर ।
हामी विपरीत दिशाको यात्रामा रह््रयौँ । कहिल्यै एकै बिन्दुमा मिल्न नसकिने । त्यस्तै भयो, आखिर । एक हप्ते अनिश्चितताको अन्त…..।
सायद, त्यो निश्चित थियो । भयो । पीडा कुराइको हो । आफ्नो प्यारो आफन्त नजिक आउँदै गरेको मृत्युलाई विवश भई हेरिरहनु जतिको गहिरो दुःख जीवनमा अरु हुँदैन, सायद ।
यी आमाको पीडा निकै भयङ्कर छ । उनीहरु जो दिन गन्दैछन्, त्यही पनि आफ्नो काखमा खेलाएको सन्तानको…., म अड्कल गर्न सक्दिनँ पीडाको यहाँ…..।
ती बिलकुलै सीमाभन्दा बाहिरका हुन् । प्रत्येक बिहान उनी भगवान्सँग छोरीको लागि अर्को दिनको प्रार्थना गर्दिहुन् । उनका आँखाहरु मातृ स्नेहले चम्केका थिए, जब उनी आफ्नी छोरीको बारेमा मसँग भन्दै थिइन्–
‘आई ह्याव अ लिटल ब्युटीफुल गर्ल ।’
एउटी आमाको स्नेही मन खोलिदिन्छन् उनी, म एक अन्जानलाई । दुखेको मन देखाउन ठूलो साहस चाहिन्छ । भलै कहिलेकाहीँ दुःख आँखाहरुमा बिनानिम्तो आइदिन्छन्, जोकोहीको अघिल्तिर पनि । यी आमाले साहस गरेर मलाई आफ्ना पीडा सुनाइन् । मैले धैर्यताका साथ सुनिदिएँ । आफ्नै पीडालाई पनि फर्केर हेरेँ । पाप्रा लागेको घाउको पाप्रा कोट्याएजस्तो भयो । अलिकति मेरो मनको कुरो उनलाई सुनाएँ । उनलाई अलिकति दुखाइ थपियो । उनले केही सान्त्वनाका शब्दहरु बोलिन्, मैले पनि उसै गरे ।
फुङ्ग उडेको एनेस्थेसियाको अनुहार झन्झन् सेतो हुँदैछ । चुरोटले उनका ओठहरु अब नीला–नीला हुँदैछन्, सकमबरीको जस्तै । चुरोट एकैछिन पनि टुट्दैनन्, उनका औँलाहरुमा आजकल । आँखाहरु झनै निरस हुँदैछ । उनकी छोरी साह्रै सिकिस्त हुँदै जाँदैछिन् । उनको चुरोट पियाइसँगै मलाई अड्कल हुन्छ, उनकी सानी छोरीको अवस्था । उनी बोल्दिनन् आजकल त्यत्ति । आँखा जुध्दा जबरजस्ती फिस्स असहज हाँसो हाँसिदिन्छिन्, त्यत्ति नै । म आफैँपनि अब केही सोध्न सक्दिनँ उनलाई । हेरिमात्र रहन्छु । घरीघरी उनले थाहा नपाउने गरी एकटक हेर्छु उनको आँखा । देख्छु, अब अघिको जस्तो उज्यालो छैन ।
केही दिनपछि ख्याल भयो, एनेस्थेसिया खै त आजकल ! उनको चुरोट पिउँदै यताउति गरिरहने खबटे आकृति त हरायो । निकै दिनसम्म उनको बाटो हेरेँ । त्यत्तिकै उनको बाटो कुरेँ, बिनाराम्रो चिनाजानी, बिनाकुनै मित्रता, सम्बन्ध । खै, मन लाग्यो उनको बाटो हेर्न । लागिरह्यो उनी आउँछिन् कि ! छोरी निको हुँदैछिन् भन्ने खबर दिन आउँछिन् कि या छोरीलाई निकै गाह्रो हुँदैछ भन्न आइपुग्छिन् कि जस्तो लागिरह्यो । उनी आइनन् । एक पटक दुखेको मनलाई मेरो अगाडि उघारेर उनी हराइन् ।
कसैबाट थाहा भयो, उनकी छोरी रहिनन् । उनी साइप्रस फिरिन् ।
Discussion about this post