नारायणगढ । नेकपा–माओवादीका केन्द्रीय तथा जिल्लास्तरका नेताहरु पुनः माउपार्टी एमाओवादीमा प्रवेश गरेका छन् ।
नेकपा–माओवादीको जनस्वयंसेवक व्युरोका केन्द्रीय सदस्य प्रकाश खनाल (शैलेस) को नेतृत्वमा जिल्लास्तरका नेता तचथा कार्यकर्ताहरु एमाओवादीमा प्रवेश गरेका हुन् । शुक्रबार आयोजित कार्यक्रममा माओवादी जिल्ला कमिटी सदस्य सुदर्शन अधिकारी, तुलसी अर्याल एमाओवादीमा प्रवेश गरेको बताएका छन् । यस्तै नेकपा माले सुनवल गाउँ कमिटीका सदस्य सीताराम सापकोटालगायतका नवप्रवेशीहरुलाई क्षेत्र नं. ३ का उम्मेदवार नारायण दाहालले सम्मानसहित पार्टीमा स्वागत गरेका थिए ।
नेपाल आमा पार्टीका केन्द्रीय सदस्य तथा युवा परिचालन तथा प्रशिक्षण प्रमुख वीरेन्द्र्र न्यौपाने एमाओबादीमा पवेश गरेका छन् । चितवनबाट समानुपातिक उम्मेदवारसमेत रहेका न्यौपानेलाई क्षेत्र ३ का उम्मेदवार नारायण दाहाल तथा क्षेत्र ४ का उम्मेदवार चित्रबहादुर श्रेष्ठले संयुक्त रुपमा पार्टी प्रवेश गराएका थिए ।
यसैबीच रत्ननगर–७ सुकुम्बासीबस्तीमा बसोबास गर्दै आएकी उर्मिला पासवानले विज्ञप्ति जारी गर्दै आफू एमाओवादीमै रहेको जनाएकी छिन् । कार्तिक २८ गते सौराहाचोकमा आयोजित काँग्रेसको कार्यक्रममा केही महिलाहरुले तपाईंसँग सल्लाह गर्नुछ भनी मञ्चमा लगेर टीका लगाइदिएको आरोप लगाउँदै उनले षडयन्त्रपूर्ण तरिकाबाट पार्टी प्रवेश गराएकोमा आफूलाई मान्य नभएको जनाउँदै आफू एमाओवादीमै रहेको प्रष्ट पारेकी छिन् ।
यस्तै, नेकपा–माओवादी र नेपाली काँग्रेसका १ सय ११ जना युवाहरु एकीकृत माओवादीमा प्रवेश गरेका छन् । चितवन क्षेत्र १ अन्तर्गत बछौलीमा नेकपा–माओवादीका जिल्ला सदस्य ध्रुव खनालको नेतृत्वमा घनबहादुर दराईसहित ७० जना र नेपाली कांग्रेसका जेके चौधरीसहित ४१ जना एमाओवादीमा प्रवेश गरेको बछौली गाउँ कमिटी इन्चार्ज बासुदेव चापागाईले बताए । पार्टी प्रवेश गरेका युवाहरुलाई बछौलीमा आयोजित कार्यक्रममा ताम्सालिङ राज्य समितिका इन्चार्ज तथा क्षेत्र २ का उम्मेदवार विश्वभक्त दुलाल ‘अहुती’ले टीका लगाएर स्वागत गरे । सो अवसरमा आहुतीले एमाओवादीप्रति बढ्दै गएको युवा आर्कषणले फेरि पनि एमाओवादीलाई मुलुकको ठूलो शक्ति बनाउने दावी गरे । कार्यक्रम गाउँ कमिटी इन्चार्ज बासुदेव चापागाईको अध्यक्षतामा भएको थियो ।
एमाओवादीको चुनावी प्रचारप्रसार अभियानअन्तर्गत क्षेत्र नं ५ को मेघौली क्षेत्रमा एमाओवादीका उम्मेदवार अमिक शेरचनसहितको टोली शारदापुर, पटिहानी, भगाहा, जितपुर, तेलौली, गोलाघाट र पर्साढापमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कांग्रेसबाट निरमाया चौधरी, कोलाकान्त रिजाल, शिव महतो, एमालेबाट ढुण्डीराज काफ्ले र अन्य पार्टीबाट मनोज महतो, राजकुमार पौडेल र शालिकराम पाण्डे प्रवेश गरेका छन् ।
Discussion about this post