काठमाडौँ । संविधानसभाको निर्वाचनको पर्यवेक्षणका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका अधिकांश प्रमुख निर्वाचन आयुक्तसहित निर्वाचन आयुक्तहरू यहाँ आउने भएका छन् । साथै, जापान, अस्ट्रेलिया, बेलायतबाट संसदीय टोली र सरकारका प्रतिनिधिले पनि निर्वाचन पर्यवेक्षण गर्नुहुने निर्वाचन आयोगका सहसचिव सुरेश अधिकारीले जानकारी दिनुभयो ।
अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टर पनि निर्वाचन पर्यवेक्षणका लागि यही हप्ता नेपाल आउँदै हुनुहुने बताइएको छ । उहाँ नै संस्थापक रहनुभएको कार्टर सेन्टरले निर्वाचनको पर्यवेक्षण सुरु गरिसकेको छ ।
पूर्व राष्ट्रपति कार्टर अधिल्लो संविधानसभाको निर्वाचनको लागि पनि नेपाल आउनुभएको थियो । उहाँ मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र आयोगको निमन्त्रणमा नेपाल आउन लाग्नुभएको हो ।
सहसचिव अधिकारीले भारतका निर्वाचन आयुक्त, भुटानका प्रमुख निर्वाचन आयुक्तसहित आयुक्त, बङ्गलादेशका प्रमुख निर्वाचन आयुक्त र सहायक, मालदिभ्सका प्रमुख निर्वाचन आयुक्त र सहायक, श्रीलङ्काका प्रमुख निर्वाचन आयुक्त र सहायक पनि नेपाल आउँदै हुनुहुन्छ ।
यसैगरी थाइल्याण्डका प्रमुख आयुक्त, जापान सरकारको तर्फबाट दुईजना, बेलायतको चार र अष्ट्रेलियाका पाँचजना आउन लागेको उहाँले जानकारी दिनुभयो । विशिष्ट प्रतिनिधिलाई निर्वाचन आयोगले निर्वाचनको पर्यवेक्षणका लागि निमन्त्रणा पठाएको थियो । आयोगले २७ जनालाई निमन्त्रणा पठाएको थियो ।
यसैगरी आयोगले नेपालस्थित विदेशी राजदूतलाई मतदानको दिन निर्वाचन अवलोकन गर्न पनि आमन्त्रण गरेको छ । आयोगले नेपालस्थित राजदूतलाई निर्वाचनका तयारीका बारेमा जानकारी समेत गराइसकेको छ ।
आगामी निर्वाचनमा तीनवटा अन्तर्राष्ट्रिय संस्थाले निर्वाचन पर्यवेक्षण गर्न आयोगबाट अनुमति लिएका छन् । जसमा युरोपेली सङ्घले १००, कार्टर सेन्टरले ८५ र एसियन नेटवर्क फर फ्रि इलेक्सन (एन्फ्रेल)ले ५४ गरी २३९ जना अन्तर्राष्ट्रिय पर्यवेक्षकले निर्वाचनको पर्यवेक्षण गर्नेछन् ।
तीमध्ये युरोपेली सङ्घ, कार्टर सेन्टर र एन्फ्रेले पर्यवेक्षकको परिचयपत्र लिई पर्यवेक्षणको काम सुरु गरिसकेका छन् । आयोगले पहिलोपटक निर्वाचन पर्यवेक्षकका लागि आचारसंहिता तयार गरी लागूसमेत गरेको छ ।
निर्वाचन पर्यवेक्षणका लागि ५४ वटा राष्ट्रिय संस्थाले आयोगबाट अनुमति लिएका छन् । अनुमति लिएकामध्ये १३ हजार ७६० जनाले आयोगबाट परिचयपत्र समेत लिइसकेका छन् । अनुमति लिएका सबै आयोगमा परिचयपत्र लिन आएमा निर्वाचनको पर्यवेक्षण गर्नेको सङ्ख्या ७४ हजार पुग्नेछ ।
सो आचारसंहितामा राष्ट्रिय पर्यवेक्षकका लागि तराई, हिमाल, पहाड सबै क्षेत्रका निर्वाचन क्षेत्र जानुपर्ने व्यवस्था गरिएको छ । साथै अघिल्लो संविधानसभा निर्वाचनको पर्यवेक्षण गरेको प्रतिवेदन आयोगमा नबुझाएका संस्थालाई आयोगले यसपटकको निर्वाचनमा पर्यवेक्षण गर्न अनुमति दिएको छैन ।
निर्वाचनका लागि अवलोकन गर्ने, पर्यवेक्षण गर्ने र अनुगमन गर्ने व्यवस्था आयोगले मिलाएको छ । आयोगले आमन्त्रणा गरेका विदेशी विशिष्ट पाहुनाबाट, पर्यवेक्षण राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकबाट र अनुगमन आयोगसहित नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीबाट अवलोकन गरिनेछ । साथै सूक्ष्म अनुगमनका लागि नेपाल सरकारका उपसचिव र अधिकृत गरी ३५० जनालाई परिचालन गर्न लागेको छ । रासस
Discussion about this post