सिङ्चाङ्गढीमा पुरानो ज्ञानको नयाँ पाठशाला

अन‌ि यो पनि

एकल सिलवाल
ekal silwal
तनहुँको देवघाट गाविस वडा नम्बर ९ मा एउटा बस्ती छ, सिङ्चाङ्गढी । नारायणगढ–मुग्लिन सडकको गाईघाट पारि पर्ने त्यो बस्तीमा सात वर्षअघि पुग्दा टिपिएका केही रमाइला टिपोटहरु मैले आफ्नो नोटबुकमा फेला पारेको छु । २०६३ कात्तिक १८ गतेको यात्रा अभिलेखमा मैले त्यहाँ स–साना स्कुले बालबालिकाहरु बीच चलेको एउटा हाजिरीजवाफ प्रतियोगिताका केही प्रश्नहरु टिपेको रहेछु । केही प्रश्नहरु यस्ता छन् ः
‘रोइनी’ कुन बालीको जात हो ? श्रीफल केलाई भनिन्छ ? असोजे मुड्के र कात्तिके लखरे भन्नाले कुन बालिका प्रजातिहरुलाई जनाउँछ ? कैंजलको बोक्रो कुन बिमारीको औषधि हो ? सिङ्चाङ्गढी पाखामा कति प्रजातिका जडीबुटीहरु पाइन्छन् ? इत्यादि । यी पाँच प्रश्नमध्ये कतिवटाका सही जवाफ तपाईंसँग छन् ? प्रत्येकको जवाफ म अलि तल उल्लेख गर्नेछु । त्यसअघि हाजिरीजवाफको नतिजाबारे बताइहाल्न मन लाग्यो ।
त्यसदिन देवघाट गाविसको ७ र ९ नम्बर वडाका तीनवटा प्राथमिक विद्यालयका बालबालिकाहरु हाजिरीजवाफमा सहभागी थिए । प्रत्येक टोलीलाई १०÷१० वटाका दरले जम्मा ३० वटा प्रश्न सोधिएको थियो । तीमध्ये एउटै प्रश्न पनि खेर गएन, अर्थात् सबका सब प्रश्नको जवाफ दिएर प्रतियोगीहरुले अंक बाँडे, जसअनुसार १५ अंकका साथ सिद्ध प्रावि (वडा नं. ७) पहिलो तथा जनज्योति प्रावि र जनता प्रावि (वडा नं. ९) क्रमशः ९ र ६ अंकका साथ दोस्रो र तेस्रो भएका रहेछन् ।
यो विवरण मैले यहाँ उल्लेख गर्नुको कारण छ । हाम्रा अधिकांश विद्यालय र तिनमा अध्ययन गर्न जाने विद्यार्थीहरु पाठ्यपुस्तकका ज्ञानमा मात्र सीमित छन् । उनीहरुलाई आफ्नो टोलछिमेक, वरपरको वातावरण, वनजङ्गल, खेतीपाती र उद्यमबारे जानकार बनाउन न अभिभावकले आवश्यक ठान्छन्, न त शिक्षकले नै सोचेका हुन्छन् । तर सिङ्चाङ्गढी र त्यसआसपासका अभिभावक तथा शिक्षकहरु सात वर्षअघि नै सोचाइको त्यसखाले संकुचनबाट मुक्त थिए ।
माथि उल्लिखित पाँच प्रश्नहरुको जवाफ क्रमशः कागुनो, बेल, कोदो, रूघाखोकी र तीन सय थियो । त्यहाँका विद्यालयहरुले आफ्नो वरपरको वनजङ्गल र जडीबुटीबारे बालबालिकालाई सिकाउने गरेका रहेछन् । स्थानीय अभिभावकहरु पनि नयाँ पुस्तालाई पुराना ज्ञानगुन हस्तान्तरण गर्न अग्रसर थिए । त्यहाँ त्यस खालको अभियान चलाउन रैथाने ज्ञान र वातावरण बचाउन क्रियाशील पर्यावरणीय सेवा केन्द्र चितवन र पर्माकल्चर समूह काठमाडौँले उत्पे्ररकको काम गरिरहेका थिए । त्यसको परिणाम जनजीवनमा राम्रैसँग परेको देखिन्थ्यो ।
त्यसदिन बालबालिकाहरुलाई हाजिरीजवाफमा मात्र होइन, तिनीहरुका अभिभावकहरुलाई स्थानीय जडीबुटी प्रदर्शनीमा पनि प्रतिस्पर्धा गराइएको थियो । आफ्नै पाखापखेरामा पाइने १४९ प्रजातिका मह¤वपूर्ण जडीबुटीहरु प्रदर्शनीमा आइपुगेका थिए । ६ देखि ९ सम्म चारवटा वडाका रैथाने बासिन्दा वनपाखाका जडीबुटी र तिनबाट जीवन चलाउने ज्ञान लिएर उपस्थित थिए । कुन जडीबुटी केमा काम लाग्छ, त्यसको प्रयोगसिद्ध ज्ञान उनीहरुमा थियो ।
प्रदर्शनीमा सिङ्चाङ्गढी क्षेत्र सम्मिलित वडा नं. ९ को समूह प्रथम भयो । सोही समूहका देवबहादुर गुरूङले त्यहीँको वनपाखामा खेल्दै ५५ वर्ष व्यतीत गरिसकेका थिए । त्यो उमेरसम्म उनलाई बिरामी हुँदा अस्पताल जानु परेको थिएन । तिनले खोरिया खनेर उब्जाएको अनाज र वनपाखामा प्रकृतिले दिएका जडीबुटीबाट व्यथाबिमारी पन्छाएरै सात सन्तान हुर्काएका थिए । उनले त्यसबेला भनेका थिए, ‘जस्तो व्यथा लागे पनि निको पार्ने ओखती आफ्नै वनपाखामा पाएपछि को जाओस् अस्पताल ?’
सिङ्चाङ्गढी र त्यसआसपासका बासिन्दालाई आफ्नै पुृर्खाले सिकाएका ज्ञान नै वरदान सावित भएको थियो । उनीहरुले प्रकृतिसँग प्रेम गरेर बाँच्न सिकेका थिए । परम्परागत जडीबुटी र त्यसको उपयोग गर्ने तरिका जानेपछिको फल सबैले पाएका थिए । जस्तो कि उनीहरुमा पेट दुख्दा बुट्टेझार, रूघा लाग्दा कैंजलको बोक्रो खोजेर खाने बानी परेको थियो । सुत्केरीको साल अड्कँदा सनाही झार घोटेर लगाई उपचार गर्न सिकेका थिए ।
सामान्य व्यथाबिमारमा उपचारका उपाय प्रायः सबैले जानेका थिए । अलि नौलै व्यथाले समात्यो भने चाहिँ बिरामी लिएर सिङ्चाङ्गढीका ठाकुरसिं थापाकहाँ जाने गर्दारहेछन् उनीहरु । हँसिलो र रसिलो मिजासका थापा गाउँका लोकप्रिय ‘डाक्टर’ नै बनेका रहेछन् । बिरामी हेरेर लक्षण पहिल्याएपछि पिठ्यूँमा डालो बोकेर झाडीतिर पस्ने उनको बानी रहेछ । ‘वन पसेपछि खोजेको ओखती नपाएर खाली हात फर्कनु परेको अनुभव पछिल्लो एक दशकयता उनीसँग थिएन ।
त्यसभन्दा पहिलेको अवस्था भने बेग्लै थियो रे ! थापालाई सानैदेखि बाउबाजेले जडीबुटी चिनाएछन्, उपचारको तरिका पनि सिकाएछन् । तर, वन मासिँदै गएपछि नामी जडीबुटी देखिनै छाडेछन् । दिनभर वन चाहारेर साँझ रित्तै फर्कनु पर्ने अवस्था आएछ । त्यसरी दुःख पाइरहेका बेला त्यो गाउँमा पुरानो पुस्तासँग भएको ज्ञान नयाँ पुस्तामा सार्ने र जङ्गली जडीबुटी जोगाउने अभियान सुरू भएको रहेछ ।
पहिले दुई दिन लगाएर खोज्दा काम लाग्ने वनस्पतिका पचास प्रजाति पनि पाउन मुस्किल पथ्र्यो रे ! एक दशकको मेहनतपछि वन पसेको एक घन्टामै सयौँ जडीबुटी फेला पर्न थालेका थिए । गाउँलेहरुले ‘सिङ्चाङ्गढी बहुउद्देश्यीय’ नामको सहकारी संस्था नै खोलेर परम्परागत ज्ञानको पुरानो खजाना फर्काएका थिए । त्यसको हस्तान्तरण आफूपछि आउने पुस्तालाई पनि गरिरहेका थिए । त्यसैको फलस्वरुप गाउँठाउँमा लगाइने बालीनाली र प्रकृतिमा पाइने वनस्पतिबारे पछिल्लो पुस्ताका कलिला बालबालिकाहरु समेत जानकार हुँदै गएका थिए ।
प्रकृति आफैँ कंगाल भयो भने ज्ञान मात्र दिएर पनि गर्नु के ? यस कुरालाई राम्रैसँग मनन् गरेको पाको पुस्ताले लोप हुँदै गएका जडीबुटी संरक्षणमा विशेष चासो देखाएका थिए । स्थानीय वनमा पाइने औलोझार, गोलाइँची, सिर्केझार, कैजल, फूलचिसो, बेतलौरी, बल्ढ्याङ्ग्रा, कुकुर तरूल, सिकारी लहरा, गुर्जो, थिर्जोलगायतका बहुउपयोगी जडीबुटीहरु त्यो समूहमा पर्दथे ।
लाभदायक वनस्पतिहरु जोगाउने काममा अग्रसरता लिएका ठाकुरसिं थापाको यो घतलाग्दो अभिव्यक्ति मलाई अहिल्यै सुनेझैँ लाग्छ, ‘वनमा पितापुर्खाले जोगाउँदै आएको जडीबुटी हामीले चाहिँ मासिदियौँ भने छोरानाति कसरी बाँच्लान् ?’ उनी गाउँका जो भेट्यो उसैलाई दोहो¥याई तेहे¥याई सम्झाउने गर्दा रहेछन्, ‘ज्वरो आउँदा बेतलौरीको जरा खानू । मर्केको घाउमा सिकारी लहरा लाउनू । कैजलको बोक्राले रूघा निको पार्छ । निमपत्ता र असुरोले खोकी मार्छ ।’
ठाकुरले आफ्नो बाल्यकालताकाको उही गाउँ सम्झिए । खोरियामा सामा, कागुनो, जुनेलो, मकै, गहत, मास र गुराँसको खेती गर्थे । उब्जनीले खान पुग्थ्यो । व्यथाबिमार लाग्दा पैसाको खाँचो पर्दैनथ्यो । पुरानो पुस्ता अस्तायो, नयाँ वंश उदायो । परिवार थपिए । वन मासेर खोरिया फाँड्ने चलन बढ्यो । जङ्गलका उपयोगी जडीबुटी बिस्तारै नासिँदै गए । तिनीहरुको सदुपयोग गर्ने तरिका पनि गाउँलेले बिर्संंदै गए ।
पेट दुखे पनि अस्पताल जानुपर्ने र ज्वरो आए पनि ट्याबलेट किनेर खानुपर्ने बाध्यतामा गाउँवासी बााँधिए । त्यस्ता चुनौतीको सामना गर्न कि त्यही ठाउँमा बसेर पैसा कमाउनुपथ्र्यो कि त पुरानै चालचलनमा फर्कनुपथ्र्यो । सुरूमा त्यहाँका आदिवासीले पहिलो बाटो अँगालेछन् । आवश्यकता र अभावको खाडल पुर्न खेतीबाट धेरै उब्जनी लिनुपर्ने भएछ । पुराना बाली हराउँदै गई नयाँ जातका कोदो, मकै, तरकारी र गेडागुडी गाउँमा भित्रिन थालेछ । बढी फलाउने आशामा किसानले रासायनिक मल हालेर माटो बिगार्न सुरू गरेछन् । त्यसबाट समस्या टर्नुको सट्टा झन् बल्झिएछ ।
परम्परागत सम्पत्ति र ज्ञान गुमाएर सास्ती काटिरहेका बेला गाउँमा पुगेका विकासे अभियन्ताहरुले बाटो देखाएपछि उनीहरु बालीनालीका स्थानीय जातहरुको खेती गर्ने र जङ्गली जडीबुटी जोगाउने पुरानै रीतिथितिमा फर्किएका रहेछन् । त्यो प्रयासले २०५४ सालमा जन्माएको रहेछ, सिङ्चाङ्गढी बहुउद्देश्यीय सहकारी संस्था ।
सहकारीका तत्कालीन अध्यक्ष शुकबहादुर गुरूङले परिवर्तनको कथा सविस्तार सुनाएका थिए, ‘संस्था खोलेपछि हामीले बाबुबाजेले जे गरेका थिए, त्यसरी नै जीविका चलाउने तालिम पायौँ । बारीमा विकासे मल छर्न छोडेर वस्तुको मल हाल्न थाल्यौँ । बालीनालीको विकासे बीउ हटाएर लोक्कल जात जगायौँ । वनमा मासिएका जडीबुटी टाढाटाढाबाट ल्याएर सा¥यौँ । अहिले हामीलाई चाहिने सबै चीज यही गाउँमा छ । खेतीमा उब्जनी बढेको छ । यस्तो त बाजेका पालामा पनि थिएन होला ।’
कतिपय मध्यपहाडी गाउँहरुमा लोपप्रायः भइसकेका कागुनो, सामा, जुनेलो, लट्टे, घैया, मुरली मकै, स्थानीय कोदोदेखि लिएर तरूल, पिँडालु, उखु, गहत, मास, गुराँस, मस्याङलगायतका थुप्रै रैथाने बालीहरु त्यो गाउँका करिब सय परिवारले बर्सेनि भित्र्याइरहेका थिए । दशक अघिसम्म बारीको खेतीले ६ महिना पनि खान नपुग्ने कतिपय किसानहरु आफूले वर्षभरि खाएर दुःख पाएका इष्टमित्रलाई बाँड्न पनि सक्षम भएका थिए । त्योचाहिँ प्राङ्गारिक कृषि प्रणालीको प्रतिफल थियो ।  गाउँका सबै बासिन्दाको घरमा वर्षका अधिकांश दिन सामा र कागुनोजस्ता स्थानीय अन्नको स्वादिलो भात पाकिरहेको थियो ।
गाउँलेहरु सहकारी संस्थामा महिनाको ५० रूपियाँ बचत जम्मा गरिरहेका थिए । आवश्यक परेका सदस्यलाई ऋण लगानी गर्दथे । त्यसबेला संस्थामा देवघाट गाविसको वडा नम्बर ६, ७, ८ र ९ का ३१ जना सदस्य थिए । खेतीपाती, पशुपालन र कृषि उपज व्यापारका लागि संस्थाले एक सदस्यलाई ३० हजार रूपियाँसम्म लगानी गरिरहेको थियो ।
संस्थाबाट सदस्यहरुले पछि तिनुपर्ने ऋण मात्र होइन, गाउँका सबैले सधैँ आफैँसँग रहने प्राङ्गारिक खेतीसम्बन्धी थुप्रै ज्ञान पनि पाएका थिए । उनीहरु बालीलाई चाहिने कम्पोष्ट मल खाल्डोमा स्याउला र गोबर कुहाएर आफैँ बनाउन सक्ने भइसकेका थिए । पातपतिङ्गर काटेर ड्रममा जमाई झोलमल बनाउन पनि उत्तिकै सिपालु थिए ।
आफूलाई खाँदा असर नपरोस् भनेर यहाँका कृषकहरुले खेतीपातीलाई रोगकीराबाट जोगाउने विषादी पनि झारपात र जडीबुटीलगायतका जैविक त¤वहरुबाटै बनाइरहेका थिए । विषादी बनाउन उनीहरु असुरो, धुर्सिल, पाती, सिस्नो, बकाइनो र आरुको पातसँग प्याज, खुर्सानी, लसुन, सुर्ती मिसाई गहुँत र गोबरमा घोलेर पाँच–सात दिन ड्रममा राख्दथे । तयार भएको दस दिनपछि त्यो जैविक विषादीको प्रयोग गर्थे । त्यस्तो विषादीले कीराहरुलाई भगाई बालीलाई मल दिँदोरहेछ । चाँडै खानुपर्ने सागपातमा पनि त्यस्तो विषादी हाल्दा स्वास्थ्यलाई हानि गर्दोरहेनछ ।
पुरानो ज्ञान नयाँ पुस्तामा सारेर सिङ्चाङ्गढीले दिएको सन्देश सार्थक बनाउने दायित्व अरु गाउँ र सुविधासम्पन्न सहरमा हुर्कंदै गरेको नयाँ पुस्ताको काँधमा पनि उत्तिकै छ । हाम्रा तमाम गाउँका आदिवासीहरुले पुस्तौँदेखि जोगाएको परम्परागत ज्ञानले भावीपुस्तालाई खुशी, सुखी, समृद्ध र दीर्घायु जीवन दान गर्न सकोस् । हिमालयको काखमा आसीन नेपाल देशका नागरिक भएर जन्मन पाएका हामीले योभन्दा ठूलो वरदान अरु के खोज्नुछ र !

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया