केशव भट्टराई
अहिले चुनावको आगोले डडेलोको रुप धारण गरेर देशभर गर्मी बनाइरहेका बेला एउटा नयाँ उखान थपिएको छ– ‘एक डन्डी ः तीन झन्डी ।’ अहिले चुनावमा होमिएका अर्थात् खटिएका माझ यो उखान बहुचर्चित भएको छ । यसको खास अर्थ के रहेछ भनेर चुनावमा समर्पित एक होनाहार युवालाई सोधिहेरेको उनले खाऊँलाजस्तो गरेर जवाफ दिए– ‘अहिलेको जमानामा आएर त्यति पनि थाहा छैन तपाईंलाई ? थाहा नै नभएर सोधेको हो भाइ, सबैले बुझ्ने भाषामा बुझाइदेऊ न भनेर अनुरोध गरेपछि उनले यो नवउखानको भेद खोले । अहिले दलहरुले शक्ति प्रदर्शन गर्ने भनेकै मोटरसाइकल ¥याली हो । मोटरसाइकल भएका तर कुनै पार्टीमा पनि सक्रिय संलग्न नभएकाहरुले मोटरसाइकलमा एउटा डन्डी झुन्ड्याउने, झन्डाचाहिँ आवश्यकताअनुसार खल्तीबाट झिक्ने र डन्डीमा राख्ने अनि ¥यालीमा हाजिर हुने । यस्ता साझा कार्यकर्ताले चुनावको लागि राम्रो जुक्ति निकालेका रहेछन् । त्यही जुक्तिले अहिले उखानको रुप लियो । घरबाट चोकसम्म मोटरसाइकल लिएर आउने, माहोल बुझ्ने र कसको कार्यक्रम छ वा कुन दलको नेता झर्दैछ विचार गर्ने अनि झन्डा फेर्ने, पेट्रोल भर्ने, भुँडी भर्ने, ज्याला बुझ्ने र अर्को पार्टीमा गएर हाजिर गर्ने । यसरी यस्ता कार्यकर्ताले चुनावभरि काम पाएको देखेर मनभित्रै हाँसो उठ्यो, बाहिर आउनै मानेन ।
चुनाव एउटा महोत्सवजस्तै हुँदोरहेछ । अहिले गाउँघर, सहरबजार जताततै चुनावी रन्कोले छोएको छ । कसैलाई एक मिनेट फुर्सद छैन । मानौँ न ट्रेन छुट्लाजस्तो, परीक्षाको समयजस्तो । अहिले राजनीतिक विश्लेषक खोज्न पनि कहीँ जानुपर्दैन । टोलटोलका भद्रभलाद्मीले आ–आफ्ना विश्लेषण गरेर समयको सही सदुपयोग गरिरहेका छन् । कोही यसो भन्छन्– चुनाव भएछ भने त म कान काटिदिन्छु । अर्का यसो भन्छन्– चुनाव भएन भने म नेपालमै बस्दिनँ । अर्कोले थप्छ– यसपालि हाम्रो दललाई जनताले दुईतिहाई मत दिन्छन् । अर्को कुर्लिन्छ– परिवर्तन गर्ने शक्ति हाम्रो हो । जनताले हाम्रो दललाई बहुमत दिलाउँछन् । जनताले हाम्रा नेतालाई राष्ट्रपति चुनिसकेका छन् । एकोहोरो पत्रिकामा घोरिएको अधबैँसे कुर्लियो– चुप लाग्, तिमीहरुका मनगढन्ते कुरा सुनेर मलाई केही भन्न मन लाग्यो । तिमीहरुले यो जुनीमा बहुमत पाउँदैनौ र तिम्रा नेता भित्ते राष्ट्रपति मात्र हुन् । मनको लड्डु घिउसँग जति खाए पनि घाटा हुँदैन । अहिले स्वःस्र्फूत घोषणा गरेर भए पनि आत्मसन्तोष गर । तिम्रो दलले यसपालि ३० सिट पनि जित्दैन ।
यत्तिकैमा एउटा भलाद्मी चुनाव प्रचारशैलीमा आयो र प्याच्च बोल्यो– जसले जिते पनि हामी जहाँको तहीँ हो । एक भोट दाइलाई एक भोट गाईलाई है ब्रोहरु । अर्को रेडिमेड उखान पनि बन्न भ्याएछ । ‘म त यसपालि सानो दलका उम्मेदवारलाई भोट दिन्छु । ठूला भनिएका मूलाहरुले संविधान बनाउन सकेनन्’– भलाद्मीजस्तो लाग्ने व्यक्तिले भन्यो– ‘साना उम्मेदवारले पनि केही गर्न सक्छन् नि ।’
आफू त घाममा ठोकिन्छ, लिसोले भन्यो । लोकतन्त्रका लागि गाछीमै ठोक्नुपर्छ, दारीले भन्यो । हैन मित्र भोटचाहिँ गोलाकारभित्र…..अर्कोले अथ्र्यायो । यसपालि मादल बजाऊँ न त…, गाग्री उत्तम.., नेपाली वीर चुनावचिन्ह तीर…, जुँगामुठेले भन्यो । हलोले गर्छ सबैको भलो… संसार सारा हँसिया र तारा… साँचो….घर….गिलास…सलाई ….हैन, हैन…हातले समातेको मसाल । त्यसो न भन न यार, मसी र कलम….। सबैले आफ्नै दलको समर्थनमा ढोल बजाउन छाडेनन् । टोलमा कम्तीमा ३३ भन्दा बढी दल छन् । त्यसमा पनि सटरैपिच्छे प्रचारप्रसार कार्यालय छन्, आफ्नै साथी मतदाता, उम्मेदवार । भोट सबैले मागिसके, कसलाई दिने कसलाई छुटाउने ?
चुनावी माहोलसँगै घरघरबाट कार्यकर्ता जागेका छन् । एउटा घरमा आठ जना परिवारका सदस्य रहेछन् । बा राप्रपा नेपाल, आमा कांग्रेस, भाइ माले, भाइबुहारी एमाले, छोराहरु एमाओवादी, छोरी बहिष्कारवादी, बुहारीचाहिँ फोरम नेपालका कार्यकर्ता । उनीहरु सबै आ–आफ्ना पार्टीका कार्यक्रमहरुमा सहभागी हुनुपर्ने । छोरीचाहिँ आफूले खाना पकायो, खायो । अरु परिवारका सदस्यले आ–आफ्ना पार्टीका कार्यक्रमतिरै खाने, घर फर्किने अनि दुईतिहाई सपना देखेर घुर्ने ।
हिजैको कुरा हो । आमाचाहिँले धुरीमा झन्डा राखेछिन्, घरमा तनाव । अब राखिएको झन्डा अर्को दलले झिक्न नि नहुने । त्यसैमा छोरोचाहिँले ठूलो झन्डा राखिदिएछ । बा पनि के कम, घरका भित्ताभरि पोस्टर टाँसिदिएछन् । यो दृश्यले छोरीलाई कत्ति पनि चित्त नबुझेपछि घर नै बहिष्कार गरेछिन् । अन्य दलका कार्यकर्ताहरुमा हलचल मच्चिएछ, कतै राति सुतेका बेला ‘पेट्रोल बम’ त प्रहार हुने होइन ? आफ्नाबाटै आफ्नालाई जोखिम भनेको यही हो कि ?
जे होस्, कुनै घटना नहोस् । जो–जसले बहुमत ल्याए पनि ल्याऊन् । तीन बल्ड्याङ खाए पनि खाऊन् । सपनैमा भए पनि दुईतिहाई पु¥याऊन । भित्तैमा भए पनि सित्तैमा भावी राष्ट्रपतिको फ्लेक्स बोर्ड बनाएर टाँगून् । म सच्चा देशभक्त, म राष्ट्रवादी, म जनवादी, म लोकप्रिय, म जनप्रिय जे–जे घोषणा गरे पनि चुनावअघि नै घोषणा गरौँ । बैँकबाट ऋण लिएरै भए पनि सकेजति चुनावमै खर्च गरौँ । आखिर, खर्च गर्ने नै हो भने दस लाखले त माखो पनि मर्दैन । पुख्र्यौली सम्पत्ति साँच्नुपर्दैन । कति करोड खर्च गर्ने हो, गरौँ । सडकमा सकेजति मोटरसाइकल थुपारौँ, विजयको माला अहिल्यै लगाऔँ । मंसिर ४ सम्म माला लगाउने फूलसम्म नरहोस् । उद्योग, व्यापार, व्यवसाय हुनेहरुले रोजगारका आश्वासन दिऔँ । कतै पिकनिक जाऊँ, कतै खसी नै काटेर खाऊँ, कतै कुपन लिएर भोज खाऊँ यस्तो रमाइलो अब खोजेर पनि पाइँदैन । फेरिफेरि भोट हाल्न पाइन्छ, पाइँदैन । के थाहा ?
नोटले भोट आउँदैन भनेर कसैले पत्याउँछ ? प्रचारप्रसारले मान्छेको मन परिवर्तन हुँदैन भनेर कसैले भन्न सक्छ ? भोज खानेले भोट हाल्ने ग्यारेन्टी केही छ ? झन्डा राख्ने घरकाले झन्डावाला पार्टीलाई नै मत दिन्छ भन्ने छ र ? केहीमा पनि ग्यारेन्टी छैन । त्यसैले, यहाँ एकछापे मत आउँछ भने पनि, पाँचमा पाँच पक्का भने पनि, हाम्रा ठूला नेता भनेर हरदम माला लगाएर परिक्रमा गराए पनि त्यो फिल्मको सुटिङजस्तो मात्र नहोला भन्न सकिँदैन । अहिले राजनीतिक चेतना भनौँ कि विकृति के भनौँ, हरेक व्यक्तिलाई आफ्नो स्वतन्त्रता छ । मत व्यक्त गर्न र चाहेका दल तथा उम्मेदवारलाई मतदान गर्न छूट छ । श्रीमान्–श्रीमतीमा फूट छ । राजनीतिक कित्ताकाट छ । यो फलानो पार्टीको, उ फलानोको भनेर आस्थाका आधारमा हेर्ने चलन छ । यसपालि यसमा भोट दिइनस् भने गाउँ निकाला हुन्छस् भनेर भन्ने साहसचाहिँ कुनै दलमा देखिएको छैन ।
संविधानसभाको चुनाव शान्तिपूर्ण रुपमा सफल होस् । जसले जतिसुकै त्रास देखाए पनि प्रजातान्त्रिक पद्धतिअनुसार आफ्ना मन खाने उम्मेदवार तथा दललाई मतदान गरौँ । एक डन्डी तीन झन्डीलाई राम्रोसँग सदुपयोग गर्नेहरुले भोट दिने बेलाचाहिँ मतपत्रमा एक ठाउँमा मात्र छाप लगाऔँ । सबैको भोज खाइएको छ भनेर मतपत्रका सबै चिन्हमा छाप लगाउँदा मत बदर हुन सक्छ, त्यसतर्फ पनि ध्यान दिनुपर्छ कि कसो ?
चुनावी प्रचारमा झडप नहोस् । पार्टीका झन्डा राख्ने प्रतिस्पर्धामा झन्डाकै अपमानचाहिँ नहोस् । अस्ति भर्खरकै कुरा हो, पार्टीको झन्डा प्रदर्शनका क्रममा सडकमा यत्रतत्र फालिएका झन्डा कुकुरहरु मिलेर तानातान गरिरहेका थिए । एउटा कुकुरलाई त झन्डाको कपडा लगाइएको थियो । झन्डा त सबै पार्टीको गौरव र शानको चिन्ह हो । प्रतिस्पर्धा सन्तुलित गर्न सके यस्ता दृश्य देख्नुपर्ने थिएन । चुनावमा बिनाप्रतिस्पर्धा र तामझाम नभए कहिले हुने ? आचारसंहिता पालना गरे त दल दल नै रहँदैन, अनि को–कोसँग प्रतिस्पर्धा गर्ने ?
Discussion about this post