भरतपुर । संविधानसभा सदस्य निर्वाचनमा विजयी भएर जानेहरुको मुख्य काम संविधान निर्माण हो । व्यवस्थापिका संसद सदस्यको रुपमा पनि काम गर्ने हुनाले उम्मेदवारहरुले क्षेत्रगत विकास निर्माणका खाका पनि मतदाता सामु पेस गरेका छन् ।
यसरी क्षेतगत योजनाहरु लैजानेमा एकीकृत नेकपा माओवादीका उम्मेदवार नारायण दाहाल र एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल अगाडि छन् । नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर श्रेष्ठ पनि विकास निर्माणका योजनाहरु उल्लेख भएको अपिलका साथ मतदाता माझ पुग्ने गरेका छन् ।
आफू संविधानसभा सदस्यमा निर्वाचित भएमा गर्ने योजनाहरुको संख्या सबैभन्दा धेरै एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले तयार गरेका छन् । त्यसपछि माओवादीका दाहाल र कांग्रेसका श्रेष्ठ छन् । पोखरेल र दाहालका योजनाहरु भरतपुर नगरपालिका केन्द्रित छन् ।
चितवन क्षेत्र ३ मा काउले, दारेचोक, चण्डिभञ्जयाङ, दाहाखानी, कविलास जस्ता पहाडी गाविस छन् । त्यस्तै १४ वटा वडा रहेको भरतपुर नगरपालिकाको ७, ८, ९, १३ र १४ बाहेकका वडाहरु पनि क्षेत्र ३ मा पर्छन् ।
कुल ५४ हजार ५७५ मतदाता रहेको चितवन क्षेत्र ४ मा नगरपालिकाका मतदाताहरु ४१ हजार ८०७ जना रहेका छन् । जुन क्षेत्रको कुल मतदातामध्ये झण्डै ७७ प्रतिशत हो । भरतपुर नगरपालिकाको वडा ९ मा जिल्लाकै सवैभन्दा धेरै नौ हजार मतदाता छन् ।
मतदाता धेरै भएकाले योजना पनि नगरपालिका केन्द्रित गरेको देखिएको छ । एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले विकास निर्माणका ३७ योजना प्रस्ताव गरेका छन् । माओवादीका नारायण दाहालका २९ योजना छन् । कांग्रेसका उम्मेदवार भीमबहादुर श्रेष्ठले १३ बुँदे अपिल निकालेका छन् ।
कांग्रेस उम्मेदवार भीमबहादुर श्रेष्ठको अपिलमा उल्लेख बुँदामा विकास निर्माणसँग सम्बन्धित मात्रै नभएर नीतिगत विषय पनि परेका छन् । त्यस्तै नगरपालिकाको स्तरवृद्धि गरी सीमा जोडिएका गाउँलाई गाभ्ने बाहेक विशुद्ध नगरपालिका केन्द्रित योजनाहरु अरु छैनन् ।
श्रेष्ठले अरु योजनाहरु जिल्ला र क्षेत्रलाई नै जोडेर उल्लेख गरेका छन् । एमालेका उम्मेद्वार कृष्णभक्त पोखरेलका कुल प्रस्तावित ३७ बुँदे योजनामध्ये १७ योजना केवल नगरपालिकासँग मात्रै जोडिएका छन् । त्यस्तै दाहालका २९ मध्ये १५ योजना नगरपालिकाभित्र सम्पन्न हुने योजनाहरु छन् ।
माओवादी उम्मेदवार दाहाल अघिल्लो संविधानसभा सदस्य निर्वाचनमा यही क्षेत्र ३ बाट विजयी भएका थिए । संविधानसभा सदस्यमा निर्वाचित भएपछि विकासतर्फ ११ र शिक्षातर्फ तीन गरेर १४ योजना सम्पन्न गरेको उल्लेख गर्दै अपिल जारी गरेका छन् ।
जसमध्ये नौ योजनाहरु भरतपुर नगरपालिकाभित्रै सम्पन्न भएका योजनाहरु छन् । विद्यालय सहयोगमा उनले कुल चार विद्यालयको पूर्वाधार निर्माणमा सहयोग गरेको अपिलमा उल्लेख गरेका छन् । जसमध्ये तीन विद्यालय भरतपुर नगरपालिका भित्रका छन् ।
संविधानसभा सदस्य हैसियतमा गरेका कामहरु पनि नगर केन्द्रित रहेका थिए । गर्ने कामहरु पनि नगर केन्द्रित नै हुने दाहालले बाँडेको अपिलमा उल्लेख छ । दाहालकै सिको अन्य उम्मेद्वारले पनि गरेका छन् । दुर्गम पहाडी गाउँहरु पनि रहेको यो क्षेत्रमा सन्तुलित विकास नहोला भन्ने चिन्ता बढेर गएको छ ।
Discussion about this post